
एक्लै पारी तिमी साँघु तरेपछि के भनौं ?
गजल
तीर्थ गुरागाईं
पुर्व सिक्किम, भारत ।
तिम्रो मनमा अरु केही, भरेपछि के भनौं ? म
सुनी सुनी नसुने झैं गरेपछि के भनौं ? म ।
पिरतीको शिखर चढ़ी, लुकामारी खेलिसकी
भन्ज्यागंको बाटो तिमी झरेपछि के भनौं ? म ।
समिपमा हुँदा हामी, लाग्छ सर्व सम्पन्न छौं
आँखाबाट तिमी ओझेल परेपछि के भनौं ? म।
मनका कुना कुनाबाट, माया बटुलबाटुल पारी
दिएको त्यो उपहारलाई छरेपछि के भनौं ? म ।
रहर आफ्नै सजाएर, सपना ठुलो देखे पनि
कुन्नी किन त्यसै मन मरेपछि, के भनौं ? म ।
जुन तारा आकाशमा, जुगौं सघैं चम्किराछन्
एक्लै पारी तिमी साँघु तरेपछि के भनौं ? म ।
तिता मिठा हाम्रा माया, पिरतीका कुरा हुँदा
रिसाएर ठाँउ तिमी सरेपछि के भनौं ? म ।
…
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा,मुक्तक, दैनिकी,संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)