बुद्धलाई बोलाएर सिंहदरबारको गेटमा गाउनु छ

कविता

लीला अनमोल

मलाई पुग्न मन लागेको छ त्यहाँ
जहाँ मैले मलाई बिर्सिन सहुँ
र, हुन सकुँ मुक्त यो कोलाहलबाट ।

आफ्नै मनलाई उडाएर एकछिन
त्यो मन्दिर परिसरका परेवाहरुसँगै
उन्मुक्त श्वास फेर्नुछ
र, भन्नु छ मधुर आवाजले माथि कतैबाट
ॐ शान्तिः
पुग्नुछ त्यहीँनेर
जहाँ हरेक पल अहिँसाको मीठो गीत गुन्जिरहेको होस्
उडिरहेका हुन् चराहरु आकाशमा स्वतन्त्र
मलाइ भेट्नुछ त्यो उज्यालो
जहाँ धर्तीमा मान्छेहरु समानताको दियो सल्काइरहेका हुन् ।

कलिला फूलजस्ता छोरीहरु
निसङ्कोच खेल्न पाउन आँगनीमा
मधुरो टुकीको उज्यालो हाँसेर
सुदुर गाउँको एउटा कुनामा
आमाहरु ओठमा मुस्कानको रङ्ग भरेर गाइरहेका हुन सङ्गिनी
सद्भावको हात समाएर लुङ्गाहरु नाचुन रात विरात धाननाच
न राखेर डर मान्छेले मान्छेसँग
पाखोबारीमा मैच्याङलाई अङ्गेरी टिप्न हिम्मत जुटोस् ।

मलाई एकपटक
निर्मला पन्तहरुको जीवन मुसार्नुछ
र, भन्नुछ
परास्त हुनेछन् एकदिन ती अपराधीहरु
र, अन्याय पराजित भएर
न्याय मुस्कुराउनेछ छिट्टै
हो, मेरो देशले जन्माएको छोरो
बुद्धलाई बोलाएर
आज मलाई सिंहदरबारको गेटमा गाउनु छ
बुद्दम शरणम गच्छामी
धम्मम शरणम गच्छामी
संघम् शरणम गच्छामी
ॐ शान्त्तिः ॐ शान्त्तिः ॐ शान्तिः ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तक दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button