
म एउटा सोच हुँ, एक पृथक खोज हुँ
कविता / मभित्रको म
ओजश्वी किरण दवाडी
विचौर, लमजुङ ।
म
आफूमा आफैलाई पूर्ण गराउँछु
सङ्गाल्छु मैले गरेका र मभित्रका त्रुटिहरु
अनि पाउँछु मभित्रको म ।
एक्लो रात, एक्लो जून
अनि नीलो आकाशको छानोमुनि
म र मेरा कल्पित सपना
जिस्काउँदै कुद्ने गर्छन्
मेरा वयस्क मानसपटलमा
र, तरङ्गित गराउँछन् मभित्रको ‘म’लाई ।
जीवनका कयौँ गोरेटोहरु पार गरेर
आज यो परिस्थितिलाई चु्म्दै गर्दा
समयले सिकाएका पाठ
अनि आफैले बटुलेका
तितामीठा अनुभवले
घच्घचाएर ब्युत्याउँछन्
मभित्रको मलाई ।
कहानी र एकाङ्कीका
हरेक पात्रमा आफैलाई कल्पना
गरेर उभ्याउने म
भविष्यमा मातापिताको
सामु आफूलाई दृढ निश्चयी
र, सक्षम बनाउने सपना बुन्न
र, त्यसलाई पूरा गर्न तत्पर रहन्छ
मभित्रको म ।
प्रकृतिको सौन्दर्य मात्र नभै
कुरुपतासम्मको यात्रा पूरा गरेको
म
हावाको वेगसङ्गै बहने
पानीको छालसङ्गै तैरिने
आगोको ज्वालासङ्गै दन्किने
र, जमिनको कम्पन सङ्गै काप्ने
वसन्तको हरियालसँग रमाउने
बर्खा यामको भेलसँग भुल्ने
अनि मौसमको उच्चतम् तापसँग जुध्ने
आहा ! कति कुराको अनुभव गरेको छ
मभित्रको ‘म’ले ।
समाजको नैतिकता
र, आदर्शवादी सोचलाई
समाएको पनि छु
र, समाजको कुरीति अनि
कुविचारमा भक्कानिदै
रोएको पनि छु म ।
श्रीमद् भगवतगीताको उपदेश पढ्छु
बाइबलबारे धार्मिक सोच राख्छु
कुरानको पौराणिकता खोज गर्छु ।
म सबैमा मजस्तो अबोध
मनुष्य देख्छु ।
सबैमा मानवता खोज्छु
अनि भेट्छु
तर, म आफैमा जङ्गबहादुर राणाको
प्रतिबिम्ब पाउँछु
आफैमा लक्ष्मीप्रसादको बौध्दिकता
अनि सोचाई पनि ।
म आफैमा श्रीकृष्णको
मार्गदर्शन दर्शाउँछु
र, आफूभित्र नै कंशको
अमिलो र पापात्मा पनि ।
आखिर
मभित्रको म को हो त ?
म एउटा सोच हुँ
एक पृथक खोज हुँ
ज्ञानको खोजीमा
निक्लेको जोगी हुँ ।
आफूभित्र नै आफैलाई
खोज्ने वैज्ञानिक हुँ
म हुँ असफलतामा पनि
सफलता खोज्ने यात्री
नराम्रोमा पनि राम्रो
बटुल्ने साधारण मानव ।
जसको सोच छ अजर-अमर
र, जुन स्वतन्त्र रहने छ जीवनभर
सायद ! यही नै हो
मभित्रको म ।
…
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा,मुक्तक, दैनिकी,संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)