पख ! हतार नगर

कविता

ऋषभदेव घिमिरे
गोदावरी, ललितपुर ।

फरक हुन्छन्
जीवनका अध्यायहरू
कतै आनन्द विभोर
कतै निराशापूर्ण वियोगको चित्कार
इतिहासको साक्षी बकाउन
हतारिएर आउछन्
सखारै सन्देशवाहकहरू
हातमा बोकेर
आँसुले भिजेको तस्विर ।

मेरो मानवहृदय पग्लन्छ
सर्वोच्च निर्वाणको बाटो
हिडेका अविजात आत्मालाई
फर्काएर भित्तामा टाँग्न खोज्ने
लुला हातहरूप्रति धृणा पलाउँछ
संवेदना जाहेर गर्ने भावहरूमा
शिथिलता छाउँछ
श्रद्धाञ्जलीको खबर बोक्ने
हुलाकीसँग आक्रोश आउँछ
निस्कन्छ एकाएक मुखबाट
पख बेला भएको छैन ।

च्यातिदेउ तिमीले बोकेको पत्र
म इश्वरसँग चौपट्टै रिसाएको छु
यतिबेला लेख्न सक्दिन
प्रत्युत्तरमा श्रद्धाञ्जली ।

बिज्ञानको सूत्रात्मक छनक
दिनु छ भने अझै पख केही क्षण
बाँकी छ पार्थिव शरीरको अन्त्यष्टि
निष्पाप र निष्कलङ्क क्रिया कर्म
बाँकी छ ब्रह्मलिन हुने
विधि र प्रकृया
बाँकी छ यमदूतसँगको झगडा
बगाउन बाँकी छ अनाहकमा
हामीबाट छिनेको मान्छेको नाममा
शोकका अश्रुहरू
हतार नगरिकन
मौनव्रती झै गरिरहौं हामी
सबैमा आरोग्यताको कामना ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा,मुक्तकदैनिकी,संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button