हामी बेखबर छौँ

कविता

रञ्जना निरौला

म सपनाको सहरभन्दा ठीक वर छु
तिमी सपनाको सहरभन्दा ठीक पर छौ
सपनाहरूलाई मध्यमा राखेर
तिमी मबाट बेखबर छौ
म तिमीबाट बेखबर छु !

प्रत्येक दिन
जीवन उपक्रमका घात दिएर हाँस्छ
घामको यौवनसँगै व्यस्तताले गाँज्छ
उज्यालो पाएको भानमा
जिएको आभाष गर्दै बाँचेको जीवन
घोटिन्छ, थाक्छ र बौरिन्छ
म त्यही आभाष बोकेर बाँच्ने जीवनको ठीक बीचमा छु
तिमी त्यस्तै आभाष बोकेर हाँस्ने मनको ठीक बीचमा छौ
सायद ! जीवनयापनको व्यस्तताले भुलेर
तिमी मसँग बेखबर छौ
म तिमीसँग बेखबर छु !

प्रत्येक साँझ
सपना नाँच्ने रात बोक्दै आउँछ
टिमटिमाएका ताराहरूसँग मन गीत गाउँछ
प्रेम नै बोकेर बग्ने रातको प्रवाहमा
बन्दै शीतहरूको नदी
जीवन बग्छ, डुब्छ र दौडन्छ
त्यही प्रेम बोकेर बग्ने नदीको ठीक वारी म छु
प्रेम बोकेर बग्ने नदीकै ठीक पारी तिमी छौ
सीमामा बसेर बाँडिन नसकेको प्रेमको वारीपारी
तिमी मसँग बेखबर छौ
म तिमीसँग बेखबर छु !

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तक दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button