ऊ नर्स थिई, जसलाई टोलबाट निकालियो

पश्चात्ताप/लघुकथा
हरिप्रसाद गौतम

‘पल्लो घरको भुइँतलामा बस्ने केटाकेटीसँग खेल्न नजानू ल !’, नीरा रातदिन यही कुरा आफ्ना केटाकेटीलाई सम्झाइरहन्थी ।

‘बुबाहजुर पनि गेटबाहिर ननिस्किबक्सेला है !’,ससुरालाई पनि सतर्क गराउँथी ।

‘हजुर पनि, के छ बहिनी हालखबर ? भन्दै नजिकिन जाने होइन नि !’ लोग्नेलाई पनि सम्झाएरै राखेकी थिई नीराले ।

घरकी मात्रै होइन, टोलकै सचेत महिला हुँ भन्ने भ्रम थियो उसमा ।

दिउँसो पल्लो घरको भुइँतलामा बस्ने युवती काममा गएपछि टोलमा चर्कै बहस चल्थ्यो । ‘हैन यो केटीलाई कसरी धपाउने यो टोलबाट ?’, सबैको चासो यसैमा थियो । तर, कसैले उपाय निकाल्न सकेका थिएनन् । केटा-मान्छे बिगार्ने भई भन्ने बहाना बनाएर निकाल्नु थियो त्यो युवतीलाई त्यहाँबाट ।

कारण यौटै थियो, ऊ सरकारी अस्पतालमा नर्स थिई । योबाहेक अरू कुनै कारण थिएन । ऊ अस्पताल जाने-आउने गर्दा सङ्क्रमण सर्ने डर थियो टोलवासीलाई । अझ नीराका छोराछोरी त युवतीका भाइबहिनीसँग खेल्न निस्कने गरेका थिए । टोल समाजमा सङ्क्रमण तीब्र गतिमा फैलिइरहेको थियो ।

रोग फैलिनुको मुख्य कारण यस्तै अस्पतालमा काम गर्ने सिस्टर र मिस्टरहरू नै हुन् भन्ने नीराको ठम्याइ थियो । नभन्दै उसको छोरो बिरामी पर्‍यो । आफ्नो छोरो बिरामी हुनासाथ ऊ टोल नै थर्किने गरी चिच्याउन थाली । हुँदाहुँदा पल्लो घरको मालिकलाई पनि सरापी । उसैले भाडामा त्यो युवती राख्नाले यस्तो भएको हो भनेर चर्काचर्की नै पर्‍यो ।

आखिरमा अस्पताल प्रशासनसँग कुराकानी गरेर युवतीले आफूलाई बस्ने व्यवस्था उतै मिलाई । उसलाई भेट्न उसको परिवार हप्तैपिच्छे अस्पतालमै जान्थे । यो देखेपछि नीराको मन अलि हलुङ्गो त भयो तर उसको छोरालाई चाहिँ अझै सञ्चो भएन ।

त्यसैले, लोग्नेसँग सल्लाह गरेर अस्पतालमा लगेर जँचाउने निधो भयो । निजी अस्पतालमा सबै कुराको व्यवस्था भए पनि कतिपय धेरै ठुला र महङ्गा उपकरणका लागि भने मान्छेहरू सरकारी अस्पताल जान्थे । मन नलागी नलागी उनीहरू सरकारी अस्पताल पुगे । अन्तबाट इमर्जेन्सी भनी पठाइएको हुनाले नीराहरू पालोमा बस्न चाहिँ परेन । निकै भिड थियो । छोरो इन्तु न चिन्तु भई मुढोझैँ लडेको थियो । सबै डाक्टर नर्स काममा व्यस्त थिए ।

डाक्टर बिरामीको बेडसम्म नआउँदै अर्को फोन आइहाल्थ्यो । अझ ठुलो केस आयो भन्दै कुदिहाल्थे । यता छोराको होश अझ आएको थिएन, नीरा साह्रै निराश भई । नर्स, सिस्टर, डाक्टर अनि कर्मचारी सबै मेसिनजस्तै काममा ब्यस्त थिए । यस्तैमा, ‘आन्टी! तपाईंको छोराको रिपोर्ट नर्मल छ, नआत्तिनू ल, ज्वरो घटाउने औंषधिले नै निको हुन्छ, कडा ज्वरोले यस्तो भएको हो’ भनेपछि बल्ल नीरा ढुक्क भई । नर्स गएपछि उसलाई कतै देखेजस्तो लाग्यो नीरालाई तर सेतो ड्रेसमा सजिएकी ती परी को हुन् भन्ने ठम्याउन भने सकिन नीराले ।

अर्को दिन बिहान आठ बजेतिर उसको छोराको होश खुल्यो । सबै खुसी भए । छोरालाई सञ्चो भएपछि नीराले पनि लामो सास फेरी । दिउँसोतिर युवती डिस्चार्जको फाइल बोकेर आई । यतिबेला उसले सामान्य लुगा लगाएकी थिई । अहिले भने नीरालाई त्यो नर्स को रहेछ भन्ने चिन्न गाह्रो भएन । नीराको शिर निहुरियो । छोराले ‘बाई दिज्जू’ भनेपछि नीरा झस्की ।

डाक्टर-नर्सले रोग फैलाउँदैनन् बरू फैलिएको रोगलाई नियन्त्रण गर्छन् भन्ने त बुझी तर पश्चात्ताप र ग्लानीका कारण नीरा नै लल्याकलुलुक भई ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button