
जिन्दावाद र मुर्दावाद भनौं, प्रत्यक्ष ‘घोक्रेथेरापी’ हुन्छ
कविता
दुर्गा चापागाईं पाण्डे
प्रिय जनता
के तपाई फुर्सदमा हुनुहुन्छ ?
यदि फुर्सदमा हुनुहुन्छ भने
आउनुहोस्
यो सरकारको विरोध या समर्थनमा
जताबाट भए पनि
जिन्दावाद र मुर्दावाद भनौं
चुप लागेर नबसौं ।
यसो गर्दा हाम्रो घाँटीको प्रत्यक्ष घोक्रेथेरापी हुन्छ
जसले गर्दा कोरोनाका बिउहरु
फोक्सोतिरको बाटोबाट नगएर
सिधै अन्न नलीको बाटो आमासयतिर जान्छ ।
र,
हामीलाई भोक लाग्न छोड्छ
हरेक पेटको समस्याको
चुट्कीका भरमा समस्या समाधान हुन्छ ।
आफ्नो जीवनको उर्जा रितिदै गएर
रातो बत्ती बलेको किन नहोस्
तर आफ्नो मोबाइलको ब्याट्री फुल हरियो बल्ने गरी
चार्जमा राखौं
र, जहाँ जहाँ पुगिन्छ
जिन्दावाद र मुर्दावादको लाइभ भिडियो खिचौं ।
प्रिय जनताहरु
के तपाई फुर्सदमा हुनुहुन्छ ?
यदि फुर्सदमा हुनुहुन्छ भने
आउनुहोस् यो सरकारको समर्थन या विरोधमा
जताबाट भए पनि जिन्दावाद मुर्दावाद भनौं
चुप लागेर नबसौं ।
भेडा हुनुको गौरवमय परिचय जीवनभर जोगाइराखौँ ।