
ढुङ्गामा ईश देख्ने कि या देख्ने उहीँ पत्थर आफुमा भर पर्ने हो
दृष्टि (छन्द-अनुष्टुप)
एसआर दुवाडी
भीमसेनथापा-७, गोरखा ।
दृष्टिले श्रृष्टि गर्ने हो
दृष्टिले पाल पोषण
दृष्टिले गर्ने हो माया
दृष्टिले क्रुर शोषण ।
दृष्टिमा बल्दछन् ज्वाला
दृष्टिमा शीत शीतल
दृष्टिमा नै चलेका छन्
जीवका नव जीवन ।
आफुमा भर पर्ने हो
दृष्टिको ताल मेलन
विचार शोच बुद्धि हुन्
दृष्टिका मूल मेलन ।
ढुङ्गामा ईश देख्ने कि
या देख्ने उही पत्थर
आफुमा भर पर्ने हो
ईश होस् कि त पत्थर ।
दृष्टिभित्र लुकेका छन्
व्यक्तिका मन भावना
क्रूरका क्रूर दृष्टि छन्
शूरका शूर साधना ।
योद्धाले युद्ध देख्ने हो
श्रद्धाले भक्ति होइन
भक्तले भक्ति देख्ने हो
योद्धा झै युद्ध होइन ।
शत्रुमा मित्र देख्ने हो
मित्रमा शत्रु होइन
सारामा आफु देख्ने हो
कसैमा दम्भ होइन ।
जुठेल्नो कागले देख्छ
गिद्धले सीनु देख्दछ
परेवा बिस्कुनै देख्छ
देख्नेमा भर पर्दछ ।
व्यक्तिमा कविता देख्छ
त्यसैमा देख्छ भावना
व्यक्तिमा वीरता देख्छ
त्यसैमा देख्छ धारणा ।
कसैले क्रूरता देख्छ
कसैले शुद्धता त्यहि
अनेकौ रुप देखिन्छन्
व्यक्तिले व्यक्तिमा पसी ।
आँखाले मात्र देख्नेले
बाहिरी रुप देख्दछ
मनले दिलमा हेर्दा
संसारै सब देख्दछ ।
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)
वावो, पाठ्यपुस्तकमा राख्नेजस्तो !