
जसले उजुरी गर्थे, उसैलाई फसाइदिन्थ्यो ऊ
लघुकथाः अपराधबोध
हरिप्रसाद गौतम
नरेशले गर्ने अपराधले सीमा नाघिसकेका थिए । अपराध जतिसुकै जघन्य किन नहोस्, प्रमाण लुकाउन सिपालु थियो ऊ । पुलिसभन्दा एक कदम अगाडि चोर हुन्छ भन्थे तर त्योभन्दा पनि अगाडि थियो नरेश । कानुनको विद्यार्थी थियो कुनै बेलाको । उसका तार्किक बहसले प्रतिवादी वकिलका ओठतालु सुक्थे । तर्कले नै तर्कन सक्ने नरेशमा आफू जस्तोसुकै अप्ठेरोबाट पनि सजिलै उम्कन सक्छु भन्ने घमण्डले जरा गाडिसकेको थियो । त्यसैले त हुँदाहुँदाको राम्रै जागिर छाडेर जे काममा पनि दलाली गर्न थालेको थियो उसले ।
उसले गर्ने फट्याइँ कसलाई पो थाहा थिएन र ! तर, जसले उजुरी गर्थे उसैलाई फसाइदिन्थ्यो ऊ । मिलेमतोबाट मात्रै होइन, जसरी पनि, जस्तो उपाय रचेर पनि आफ्नो दुनो सोझ्याउँथ्यो उसले । सीसी फुटेजलाई छलेर होस् कि, पहरेदारदेखि हाकिमसम्मलाई फकाएर होस्, ऊ जुनसुकै अपराधमा पनि बचेरै हाँसेको थियो । उसले न कहिल्यै चौकीमा एक रात बितायो न झ्यालखानको ढोकासम्म पुग्यो । बरू कतिपटक त उसलाई फसाउन खोज्नेलाई नै कहिल्यै ननिस्कने गरी सडाएको थियो जेलको चिसोमा ।
संसारको आफ्नै नियम छ । प्रकृति यसको चालक हो । हामी उसबाट सञ्चालित छौँ भन्ने ज्ञान त परै जाओस् सामान्य पापधर्मको ख्यालसमेत नगरेको नरेशको घरलाई पनि प्रकृतिले एकपटक चिहायो । उसको परिवारमा एकाएक कालो बादल मडारियो । वरपरका घरमा बिचल्ली हुँदा सामान्य सहानुभूतिसमेत प्रकट नगर्ने नरेशलाई आज उनै छिमेकी र इष्टमित्रको सहयोग चाहिएको थियो । तर, बलेको आगो मात्र ताप्ने बानी परेका उसका सम्पन्न अनि सम्भ्रान्त साथीहरू कसैले पनि नाकमुख देखाएनन् ।
सरूवा रोगले घरै सोतर हुन थालेपछि उसले अस्पताल प्रमुखलगायत देशका उच्च तहका सबै निकायसँग सम्पर्क ग-यो तर कतैबाट पनि सहयोग पाएन । ऊसँगै उसको सम्पत्ति, ब्याङ्क-ब्यालेन्स, गाडी, कम्पनीका सेयर आदि सबैले एकैचोटि घुँडा टेके । ठुलो आँगनमा एक्लै छाती पिटीपिटी रून थाल्यो । साथ दिन भनी भेला भएका जो जति थिए, ती सबै नरेश आफैले रुवाएका गरिब तथा इमान्दार छिमेकी मात्रै थिए । विपत्तिमा साथ दिन आएका ती इमानदार छिमेकी देखेपछि आफूले गरेको अपराधबोधले उसलाई झन् शिथिल बनायो । भुइँमा लड्यो । सम्पत्ति मात्रै केही होइन भन्ने बुझ्न निकै ढिला भइसकेको थियो । सबैका सामु आत्मग्लानिस्वरूप आफूले गरे जतिका सबै अपराध नकहँदासम्म न उसको प्राण गयो न उसलाई शान्ति मिल्यो ।
त्यसैले सबका सामु उसका अन्तिम सत्य वाक्य नआउँदासम्म भने यमराजले पर्खिरहे ।
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)