‘आमा’का अमर ‘गोर्की’

जीवनी/माक्सिम गोर्की
योगेन्द्र तिमिल्सिना

अलेक्सेइ माक्सिमोभिच पेश्कोभको लेखकीय नाम माक्सिम गोर्की हो । समाजवादी यथार्थवादी साहित्यका जन्मदाता विश्वप्रसिद्ध रसियाली साहित्यकार गोर्की २८ मार्च १८६८ का दिन भोल्गा नदीको किनारामा पर्ने निझ्नी नोभ्गोरोद भन्ने ठाउँमा जन्मेका थिए । उनका पिता माक्सिम पेश्कोभ सिकर्मी थिए । गोर्की चारै वर्षको हुँदा उनका पिताको मृत्यु भयो र उनी सात वर्षको पुग्दा नपुग्दै आमा चाहिँले पनि उनलाई छाडेर गइन् । टुहुरा गोर्की आफ्ना निर्दयी हजुरबाका संरक्षणमा हुर्के । उनकी हजुरआमा भने उनलाई ज्यादै माया गर्थिन् । सन् १८८० मा उनी घरबाट भागे र कामको खोजीमा रसियाली साम्राज्यका विभिन्न ठाउँहरुको पैदल यात्रा गरे । गोर्कीले बालखैदेखि भाँडा माझ्ने, जुत्ता सिउने, खाना बनाउने जस्ता कामहरु गरेर आफ्नो खर्च आफैँ जुटाउनु पथ्र्यो ।

गोर्कीले भोल्गा नदीमा चल्ने जहाजको भुइँ सफा गर्ने र भाँडा माझ्ने काम गरेको बेला उनको जीवनमा एउटा सुखद अवसर प्राप्त भयो । यो उनको जीवनको अति महत्वपूर्ण क्षण थियो । जहाजमा खाना बनाउने भान्सेले गोर्कीलाई पढ्न सिकाई दियो र उ आफैँ राम्रा–राम्रा पुस्तकहरु पढेर गोर्कीलाई सुनाउने गथ्र्यो । भान्सेसँग रसियाली साहित्यका उत्कृष्ट पुस्तकहरु थिए । ती पुस्तकहरु गोर्कीले अध्ययन गर्ने सुअवसर पाए । उनका बाल्यकालका यी अनुभवहरु नै भविष्यमा उनका लेखनका विषयवस्तु बने ।

सानै उमेरमा काम खोज्दै, अनेक किसिमका हण्डर खाँदै गोर्कीले रसियाका विभिन्न ठाउँहरु चहारे । जीवन धान्न बाल्यकालदेखि अनेकौँ कामहरु गर्नसक्ने परिश्रमी गोर्कीलाई शारीरिक परिश्रमको महत्व राम्रोसँग थाहा थियो । १८८४ मा घुम्दै उनी कजान पुगे । कजानमा उनको प्रगतिशील बुद्धिजीवीहरु र क्राक्तिकारी युवकहरुसँग भेट भयो । त्यसैवेला उनले कार्ल माक्र्सको प्रसिद्ध कृति पुँजी (क्यापिटल) पढेँ । १८८९ सम्ममा उनले विभिन्न उत्कृष्ट विदेशी कृतिहरु पढिसकेका थिए । १८९१ मा गोर्कीले सर्वप्रथम रुसको लामो पैदल यात्रा पूरा गरे । यसै यात्राको अनुभवबाट उनले मकार चुद्रा (१८९२), बुढी इत्सेर्गिल (१८९४), चेल्काश (१८९४) जस्ता कथाहरु लेखे । सन् १९०१ मा जीवन भन्ने पत्रिकामा गोर्कीको आँधिमय पेत्रेल चरो (द स्टोमी पेटल) छापियो । यस कथाले रसियामा क्रान्तिको सङ्केत गरेको भन्ने आरोपमा उनी थुनामा परे र पत्रिका पनि प्रतिबन्धित गरियो ।

सन् १९०२ मा गोर्की रसियाली विज्ञान प्रज्ञा प्रतिष्ठानका सदस्य निर्वाचित भए । जार सरकारले गोर्कीको निर्वाचनलाई अस्वीकार गरेको हुँदा प्रतिष्ठानका विशिष्ट सदस्यहरु चेखोभ र कोरोलेङ्कोले पनि प्रतिष्ठानबाट राजीनामा दिए । १९०५ को रसियाली क्रान्तिमा पूर्णरुपले भाग लिएको र सरकार विरोधी रचनाहरु छपाएको हुँदा गोर्कीलाई गिरफ्तार गरियो । उनी थुनामा परेपछि देश र विदेशमा समेत गोर्कीलाई मुक्ति दिने चर्को आवाज फैलिन थाल्यो । प्रसिद्ध फ्रान्सेली साहित्यकार अनातोले फ्रान्सले लेखे, गोर्कीको समस्या हामी सबैको समस्या हो । गोर्की जस्ता प्रतिभा कुनै एउटा देशका मात्र नभएर सम्पूर्ण विश्वकै हुन् । सारा संसार उनको मुक्ति चाहन्छ । आखिर रसियाली जार सरकारले गोर्कीलाई कारागारबाट मुक्ति दिनुप-यो ।

सन् १९०५ को क्रान्ति असफल भएपछि पार्टीको आदेश लिएर गोर्की विदेश भ्रमण गर्न भनी रुसबाट निस्के । क्रान्तिको निम्ति चन्दा उठाउन उनी फिनल्याण्ड, स्विडेन, जर्मनी र फ्रान्स घुम्दै संयुक्त राज्य अमेरिकातिर लागे । त्यसैताक उनको विश्वविख्यात उपन्यास आमा पनि लेख्न थालेका थिए । संयुक्त राज्य अमेरिकाको भ्रमणको अवसरमा १९०७ को गृष्ममा उनले आमा लेखेर सिध्याए । यो उपन्यास सर्वप्रथम एपल्टन म्यागजिनमा अङ्ग्रेजी भाषामा क्रमशः प्रकाशित भयो । १९०७ मा गोर्की रसियाली सामाजिक प्रजातन्त्र दलको अधिवेशनमा लण्डन गए, त्यहाँ लेनिनसँग उनको भेट भयो । लेनिनले आमा को प्रशंसा गरे र यसलाई अत्यन्त आवश्यक र सामयिक पुस्तक भने । लेभ तल्सतोइ र अन्तोन चेखोवसँग पनि उनी निकटतम सम्पर्कमा रहन्थे ।

आमाले बिसौँ शताब्दीको प्रारम्भमा रसियाली मजदुर र कारखानाका मालिकहरुका बिचको वास्तविक वर्ग संघर्षको चित्र प्रस्तुत गरेको छ । यसको मुख्य पात्र पाभेल भ्लासोभको जीवन सोर्मोभोको कारखानामा काम गर्ने मजदुर प्योत्र जालोमोभको जीवनमा आधारित छ । पाभेलकी आमा निलोभ्ना आफ्नो छोरा र उसका अरु मजदुर साथीहरुले गरेको क्रान्तिलाई सघाउ पु-याउँछे र सारा सोभियत जनतालाई आफ्नै सन्तान ठान्दछे । वास्तवमा पाभेल र उसकी आमा निलोभ्नानै निम्नवर्गीय रसियाली जनताका साँचा प्रतिनिधि र समाजवादी क्रान्तिका प्रेरणाका स्रोत हुन् । पाभेलका क्रान्तिकारी भाषण छापेका पर्चाहरु बाँड्न भनी उसकी आमा रेलमा चढ्छे । उसलाई चारैतिरबाट गुप्तचर प्रहरीहरुले घेरिसकेका हुन्छन् । उसका टाउकामा प्रहरीका फलामे डण्डीहरु जतिसुकै बर्से पनि उ सचेत र निर्भिक भएर धैर्यपूर्वक पर्चाहरु बाँडिरहन्छे । यसरी उपन्यासको अन्त्य हुन्छ ।

गोर्की विश्वका निम्नवर्गीय जनताका अत्यधिक प्रिय व्यक्ति, रसियाली सर्वहारा क्रान्तिका अगुवा र विश्वकै महान साहित्यकार हुन् । उनको युग रसियाली समाजवादी क्रान्तिको युग र जनताको पुनर्जागरणको युग थियो । जीवनभर व्यथै व्यथा बोकेका गोर्कीले आर्थिक र राजनीतिक रुपले पिल्सिएका बहुसंख्यक रसियाली जनताहरुको उत्पीडनलाई आफ्ना रचनाहरुमा औधी मार्मिक ढङ्गले चित्रण गरेका छन् । लण्डनको अधिवेशन पछि उनले स्वीकारोक्ति, बाल्यकाल, मात्भेइ कोझेम्याकिनको जीवन र इटालीका कथाहरु लेखे । त्यसपछि उनी स्वदेश फिरे । उनले बोल्सेभिक दलका क्रान्तिकारी कार्यहरुमा पूर्णरुपले भाग लिए । १९१७ को अक्टोबर क्रान्ति सफल भएपछि तुरुन्तै सम्पूर्ण कार्यहरुको व्यवस्था मिल्न नसकी हुन गएका बेथितिहरुप्रति गोर्की विक्षुब्द भए र उनीबाट रसियाली निर्दयता (रसियन क्र्ुयल्टी) जस्ता रचनाहरु लेखिए । त्यसपछि उनी फेरि विदेश हिँडे । साम्यवादी रुसको प्रथम पाँच बर्षे योजना सफल भएपछि १९२८ मा उनी रुस फिरे र फेरि साम्यवादी दलमा सम्मिलित भए ।

सन् १९३४ मा उनी सोभियत लेखक संघका सभापति चुनिए । लेनिनको मृत्युपछि स्टालिनको नीतिलाई पूर्ण समर्थन गर्दै गोर्कीले रचनाहरु लेखिरहे । पाँच पटकसम्म विश्वप्रसिद्ध नोबेल पुरस्कारको मनोनयनमा परेका गोर्कीको मस्को अस्पतालमा उपचार हुँदा हुँदै १८ जुन १९३६ का दिन अकस्मात रहस्यात्मक निधन भयो । उनलाई स्टालिनका मुखपात्र ठानी ट्राट्स्की पक्षीय षडयन्त्र अन्तर्गत मारिएको भन्ने शंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button