
किन लम्बिन्छ हिजोआज मेरो मुटुको आयतन ?
प्रेम कविता-१
लीला अनमोल
म समयको हिसाबकिताब लगाइरहेछु
किन लम्बिन्छ हिजोआज
मेरो मुटुको आयतन ?
र, धडकनको तिब्रताले
किन उफ्रिन्छ मेरो देब्रे पाटो ?
हिँडिरहेकै थिए हिजो पनि
जीवन बोकेर एउटा बाटो
तर, किन प्रिय लागिरहेछ अचानक
गन्तव्य नबोकेको यो यात्रा पनि मलाई ?
खुशी उचालेर ओठ
किन मुस्कुराउनु भन्छ यो समय ?
मुक्त भएका छन् मेरा पदचापहरु
ब्यवहारको घेराबन्दीबाट ।
किन ठड्याउ भन्छ एउटा निलो पहाड
र, उत्कर्षको रातोले छोपेर
नाप्नु भन्छ त्यसको अग्लाइ किन ?
सलबलाउँछ छातीभित्र
आवेग र उत्साहको रगत किन ?
र, तोडेर हिनताहरु
विजयको ध्वनि गुन्जन्छ त्यहीँनेर ।
स्थापित भएर मनभित्र स्वतन्त्रताको एउटा आकाश
खुशीको एउटा जून झुल्किएको छ
र, त्यही उज्यालो बोकेर मन
दगुरिरहेछ हिजोआज तिम्रो समीप
निमिट्यान्न भएका छन् पिडाका हप्हपीहरु
र, परिवर्तन भएर जीवनको धुन
मभित्र एउटा आभाष गुन्जिरहेछ ।
असाध्य सजिलो भएको छ निदाउन
देखेर एउटा सपना
र, व्युँझिन लालायित अर्को बिहान ।
एउटा याद बोकेर छातीभरी
कस्सिएको छ सम्झनाको डोरी
र, एउटा सुदुर आगत
मुस्कुराइरहेछ आफ्नै सामुन्ने ।
किन उज्यालो लाग्छ धर्ती फाटेर बादलहरु
र, मनको कुइरो पराजित हुन्छ घामसँग
थपिएर एउटा उमङ्ग जिन्दगीमा
मन चुलबुले भएको छ ।
हिजोआज
पराधीन भएर विरोध र नाइनास्तीहरु
हस्ताक्षर गरिदिन मन लाग्छ तिम्रो हृदयमा आफुलाई ।
समय बेहिसाब बगेको छ
समर्पणको सुस्केरा बोकेर
तिमीले मेरो मनको मैदानमा
खेलेपछि प्रेमको खेल
परिवर्तन भएको छ
मेरो जीवनको दर्शन पनि
साक्षात्कार भएर एउटा आनन्दी
मेरो साँझ बिहान फुलेको छ
रातो गुलाबको रङ घोलेर ।
र, उम्लियो एउटा तरङ्ग मभित्र
तिम्रै प्रेमको सम्पन्नता चुलिएको छ ।