
मृत्युलाई म दूलहीजस्तै सजाउन चाहन्छु
मृत्यु कविता – ४
ठाकुर बेलवासे
म
मृत्युलाई दूलहीजस्तै सजाउन चाहन्छु !
मृत्युलाई म
आमालाई जस्तै सम्मान
बुबालाई जस्तै विश्वास
छोरीलाई जस्तै माया
दाजुभाइलाई जस्तै भरोसा
गर्न चाहन्छु !
मृत्युमा म
छोरामा जस्तै भविश्य
श्रीमतीको जस्तै साथ
साथसंगतीको जस्तै आँट
खोज्न चाहन्छु !
फक्रिएको फूलजस्तो
चम्किलो घामजसतो
शान्त जूनजस्तो
चञ्चल-चञ्चल ताराहरुजस्तो
अनन्त यात्री नदीजस्तो
म मृत्युलाई
अनेकन रुपले
आफुमा हेर्न चाहन्छु !
आँगनमा खेल्दै गरेका
स-साना नानीहरुको अबोध हाँसोजस्तो
संसारलाई खुम्च्याएर
आफ्ना दुई छातिका बीचमा च्याप्दै
ईन्द्रधनुषी बनेका प्रेमजोडीजस्तो
युद्ध जितेको उन्मत्त सिपाहीजस्तो
समर हारेर भाग्दै गरेको
योद्धाको अनुहारजस्तो
म मृत्युलाई
अनेकन शैलीमा
देख्न चाहन्छु !
संसारको महान कलाकार
मृत्युलाई
आफ्नो नितान्त आफ्नो बनाएर
दूलहीजस्तै सजाउन चाहन्छु !
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)