
कोरोना कहरमा जिन्दगीका होमवर्कहरु असरल्ल छन्
कविता
बाबुराम श्रेष्ठ ‘यात्री’
सिन्धुली
आउ कोहि बचाइदेऊ
सङ्कटमोचन गरिदेऊ
यो कोरोनाको बिगबिगीमा
लालाबाला कोपिला चुँडिएका छन्
युवकयुवा देश बोक्ने कर्णधार ठगिएका छन्
बुढापाका संस्कार संस्कृति बिसाउने लुटिएका छन्
मृत्युसँगै मान्छेका सपनाहरु पोलिएका छन्
गाउँ सहर खण्डहर भएका छन्
कोरोना कहरमा ।
रापतापमा छट्पटीमा
ब्रम्हाण्डको श्वासहरुहरु छन्
निर्दोष निमुखामाथि
कारुणिक कस्तो सजाय ?
घरघरमै थुनिएर
जिन्दगीका होमवर्कहरु असरल्ल छन् ।
त्रासमा बाँचिरहेको मानव चोला
यस्तो के भएको होला
ए जून, तिमी किन हेर्छौ टुलुटुलु
यसरी नहेर्नु पर्ने तिमीले
यो असह्य सन्तापमा
सोरेर एक पसेरी शितलता भए पनि
यतातिर पठाइ देऊ
कोराना कहरमा ।
हाम्रा वैज्ञानिकहरु चुप छन्
हाम्रा धनाढ्यहरु अर्कै ग्रहमा
दाउ कुरिरहेका छन्
भाग्ने कतिन्जेल जाने कहाँ ?
बन्द गर यी बकवास्हरु
हातहरु फैलाऊ
मृत्युका अन्तिम शैयामा
सुन, लडिरहेका मान्छेका चित्कारहरु
ए भगवान भनाउँदा
डरायौ कि कसो कोरोनादेखि
मन्दिरै मन्दिरको देशबाट
निक्ल घण्टहरु बजाउँदै तिमीहरु
नहेर स्वयम्भूको जस्तो अजिब गुच्चा आँखाहरु
नपत्याए बुइ चढ
नियाल मान्छेहरुकै इमारत धरहरा या आइफिल टावर
सुन्नेछौ, देख्नेछौ सन्तानहरुको पिडा
जस्तै तिम्रो प्रसव पिडाहरु
कोरोना कहरमा ।
फनफनी नाचेको छ, अभावहरु
किंकर्तव्यविमुढ छ, निम्छरा अनुहारहरु
चरा झैं स्वतन्त्रताको देशमा
अल्झिएको छ, लामो आख्यानमा
मानवीय संकटले उघारेको छ, पर्दा
सबैको भएको छ, विचल्ली
कसले बोलायो कोरोना
सायद हामीले नै बोलायौं
ऊ लुरुलुरु आयो
छैन गाली गर्नुको विकल्प अब
सामना गर्नु नै छ अब
आउ प्राणी सब
ठुलो सानो भेदभावको खाडल नखनौं
गल्ती हामी महसुस गरौं
बाँच्न पाउने हाम्रो अधिकार
फिर्ता लिऔं
सबै हामी एक ठाउँमा उभिऔं
कोरोना कहरमा ।
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)