आमा ! तिमी त न आदि हौ न त अन्त

आमा/कविता

एस आर दुवाडी

म कुन शब्द तिम्रा लागि लेखुँ
लेखेर कहिल्यै नलेखिने,
नलेख्दा पनि लेखिने
तिमी मात्रै त हौ ।

आजका आमाहरु
हिजोका आमाहरु
अनि भोलिका आमाहरु

वृद्धाश्रममा थलिएका आमाहरु,
आमाको तिलहरी बेचेर हिडेको छोरो
फर्किदा प्रेमिकालाई फरिया ल्याईदिने

छोराका आमाहरु,
आमा नै थाहा नभएका
आमाविहिन शिशुका आमाहरु,
सुपुत्र जन्माउने आमाहरु,
कुपुत्र जन्माउने आमाहरु,
आमा भैकन पनि आमा

नभनिएका आमाहरु,
आमा नभैकन पनि

आमा भएका आमाहरु,
सम्मानित आमाहरु,
तिरस्कृत आमाहरु,
तिमीहरुको लागि म के लेखुँ ?

तिम्रा बारेमा आजसम्म लेखिएकै छैनन्
जति लेखिए सबै अधुरा छन्
जति लेखिनेछन्,
तिनिहरु पनि पुग्ने छैनन् तिमीमा

तिमी त न आदि हौ न त अन्त
तिमी त त्यहि तत्व हौ
जुन म भनेर बोलिरहेछु
जुन तिमी भनेर बोलाईरहेको छु ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button