सुटुक्कै छिरिछ्यौ मेरै मुटुभित्र
गीति कविता
हरिप्रसाद गौतम
नसोधी पो आयौ मेरो मुटुभित्र
कसोरी जमायौ डेरा मुटुभित्र ?
बिनाअनुमति मेरै मुटुभित्र
छिरिछ्यौ तिमी लौ मेरै मुटुभित्र
के बोकी ध्येय खै पस्यौ मुटुभित्र
सुटुक्कै छिरिछ्यौ मेरै मुटुभित्र ।
नछुट्ने गरेरै मेरै मुटुभित्र
बस्यौ यो मेरै हो भनी मुटुभित्र
नसोधी जमायौ डेरा मुटुभित्र
के सम्झी रमायौ मेरै मुटुभित्र !
थिएन कुनै मार्ग यो मुटुभित्र
न ढोका थियो खुल्ला यो मुटुभित्र
तथापि कसोरी छिर्यौ मुटुभित्र
जे होस् घर सजायौ यसै मुटुभित्र ।
म पनि के कम र हेरेँ मुटुभित्र
मेरो घर सजिँदै देखेँ मुटुभित्र
खुसीको सीमाना अटेन मभित्र
स्वागतद्वार बन्दैथ्यो मेरै मुटुभित्र
प्रतीक्षा मेरै थ्यो मेरै मुटुभित्र !
(तपाईं पनि आफ्ना कविता नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)