तेरो नाम

कविता

शिल्पा लोचन

भिड होस् या एकान्त
हल्ला होस् या शान्त ठाउँ
तेरो यादहरुको
आन्दोलनले कान फुट्ने गरी
चित्कार छोड्छ ।

म कसैसँग रिसाउँ या खुसाउँ
बोलुँ या नबोलुँ
केही मिठो खाउँ या नखाउँ
केही राम्रो लाउँ या नलाउँ
पहिला तेरो नाम आउँछ
किन यति साह्रै तँछाडमछाड गर्छस्
मभित्र तैले ?

हो, तँलाई मैले
हिजै जलाएर आएको हो आर्यघाटमा
हिजै दागबत्ती दिएको हो तेरो मुखमा
हिजै जलाएको हो तेरो शरीर
तेरो म सँगसँगै हुने नक्कली सपनाको
सक्कली षड्यन्त्र हिजै चाल पाएको हो
अनि तलाई खरानी नहुँदासम्म आगोमा
नियालेर नथाक्ने म
आज तेरो यादहरुको
शोलामा जल्दै छु
एक्लै एक्लै
जसरी हिजो जलाएको थिएँ
तेरो नामको पुत्ला
हो, आज
जल्दै छु तेरो नाममा ।

हो, तेरो नाम जलाएर
बगाउन चाहन्छु
कहिल्यै नसुन्ने गरी
मेट्न चाहन्छु तेरो नाम ।

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button