पढ्न बसेपछि छोड्नै मन नलागेको कुरा आएको छ
नेपालनाम्चाको नियमित स्तम्भ किताबमा काँचो कागजमाथि गोपी सापकोटालाई दश प्रश्न ।
नयाँ किताब ‘काँचो कागज’का लागि तपाईलाई बधाई । तर, के साँच्चै तपाईंको पुस्तक बधाई दिन लायक छ ?
धन्यवाद अशोकजी । पुस्तक बधाई दिन लायक छ कि छैन भन्ने त थाहा भएन तर बधाईको त ओइरो नै लागेको छ ।
यो किताबमा के छ र यो विशेष छ ? अर्थात किन पढ्ने यो किताब ?
किताब ज्ञानका लागि मात्रै होइन, मनोरञ्जनका लागि पनि पढिने चिज हो । जसरी मनोरञ्जन लिंदा लिंदै सिनेमाबाट ज्ञान पनि पाइन्छ, त्यसरी नै पुस्तक पढेर ज्ञान लिंदा लिंदै मनोरञ्जन पनि पाइन्छ । हामी कहाँ सामान्यतया पढ्नुलाई बोझको रुपमा हेरिन्छ, तर पढ्नु भनेको आनन्द लिनु हो । यो उपन्यास, पढेर आनन्द लिनका लागि हो ।
यो किताब जन्मनुको कुनै परिवेश, कारण र अर्थ के हो ?
मैले कतै पहिले पनि भनेको छु । मेरो मनमा खेलिरहने एउटा कुरा के हो भने ‘के हामीले यो संसारमा जे भोग्दैछौं, त्यो पहिले नै कतै लेखिइसकेको थियो त?’ अर्को कुरा मलाई प्रेम र आध्यात्मको छेऊमा बसेर केही लेख्न मन थियो, त्यसैले यो उपन्यास लेखें ।
प्रारम्भिक प्रतिकृयाहरु के कस्ता आइरहेका छन् ?
प्रतिक्रियाहरु राम्रा आइरहेका छन् । खुशी लागेको छ । पुस्तक पढ्न बसेपछि छोड्नै मन नलागेको कुरा आएको छ । सामान्य प्रस्तुतिमा गम्भीर विषय प्रस्तुत गरिएको भन्ने कुरा आएको छ । कसै कसैले भाषा र क्राफ्टको प्रशंसा गर्नु भएको छ । कसै कसैले उपन्यासमा आफूलाई नै भेटेको कुरा गर्नु भएको छ ।
यो किताबको नाम कसरी रहन गयो ? नाममा के छ ?
काँचो कागज नाम उपन्यासको मुख्य प्लटसँग जोडिएको छ । त्यसको बारेमा धेरै कुरा मैले यहाँ भनें भने पुस्तक पढ्दाको आनन्द घट्ने हुन्छ । त्यसैले अहिलेलाई यत्ति नै भने । नाममा धेरै थोक हुन्छ । अशोकजी, तपाईंको यो प्रश्नले मलाई धेरै पहिले पढेको एउटा नाटकको याद गरायो । ओस्कर वाइल्डको ‘द इम्पोर्टेन्स अफ बिइङ्ग अर्नेष्ट’मा एउटी केटी छे, जसलाई अर्नेष्ट नाम अति मन पर्छ । उसले एउटा केटालाई अर्नेष्ट नाम भएकाले मन पराउँछे, तर उसको वास्तविक नाम अर्नेष्ट हुँदैन । त्यो कुरा थाहा पाएपछि केटी निरास हुन्छे तर केटोले उसलाई खुशी बनाउन आफ्नो नाम बदलेर अर्नेष्ट नै बनाउँछ ।
यो किताबमार्फत तपाईं खासमा के भन्दै हुनुहुन्छ ?
प्रत्येक मानिसमा आफूले नभोगेको जीवनको बारेमा कौतुहलता र एउटा नदेखिने प्यास हुन्छ । संसारिक कुराहरु छोडेर आध्यात्ममा डुबेको पात्र चिरायु र भौतिकतामा सम्पूर्णतः रमाएकी कादम्बीनीको अवचेतन मनमा रहेका चाहनाका कुरालाई प्रतिकात्मक रुपमा प्रस्तुत गरेको छु । त्यसरी नै अर्को पात्र सारिकाको प्रेम र आध्यात्मप्रतिको समर्पणको कुरा छ । एक अध्ययनशील र बौद्धिक युवतीले आध्यात्मको यात्रामा रहेको युवकलाई गर्ने प्रेम र युवक गुरु बनिसकेपछि उप्रति गरिएको आस्थाको कुरा छ ।
प्रकाशित भइसकेपछि यो किताबमा के के छुटेछन् जस्तो लाग्यो ?
अहिलेसम्म खासै त्यस्तो लागेको छैन ।
अर्को के कस्तो किताब लेख्दै हुनुहुन्छ ?
अर्को किताबको बारेमा सोच्नै पाएको छैन । ‘काँचो कागज’सँग सम्बन्धीत जनसम्पर्कले नै व्यस्त बनाएको छ ।
पछिल्लो समय प्रकाशित तपाईंलाई मन परेका पाँच किताब सम्झनुस्न् ।
पछिल्लो समय केही समकालीन अंग्रेजी उपन्यासहरु पढें । बाहिर भएकाले हालै प्रकाशित नेपाली पुस्तकहरु पढ्न पाएको छैन । पदम गौतमको ‘विश्रामपुर’, प्रभा बरालको ‘फिलिङ्गो’, जीवा लामिछानेको ‘देश देशावर’, नेत्र एटमको ‘प्रिय मौनता’, कृष्ण अविरलको ‘करिया’ पढ्न मन लागेका केही पुस्तकहरु हुन् ।
ती पाँचमध्ये आफ्नो किताबलाई कहाँनेर पाउनु हुन्छ ? नढाँटी भन्नुस्न् ।
मैले कसैसँग प्रतिस्पर्धा गर्न लेखेको होइन । फेरि मैले नाम लिएका पुस्तकहरु पढेको पनि छैन । त्यसैले यो प्रश्नको उत्तर दिन सकिन ल, अशोकजी ।