यस्तो होस् नयाँ बर्ष

नयाँ बर्ष, नयाँ कविता

सुशीला शर्मा

पाखामा गुराँस फुलेजस्तै
बेसीमा धान झुलेजस्तै
घामको नयाँ किरण लिएर
सबको आँगनमा छाओस् नयाँ बर्ष ।

मान्छे,मान्छेमा विभेद नहोस्
साथी साथी जुध्नु नपरोस्
मिलिजुली समाज बदल्ने
नयाँ जोश मन, मनमा आओस् नयाँ बर्ष ।

सङ्कल्प साट्ने बेला यो
मनलाई बाँध्ने मेला यो
कर्मशील भई बाँच्ने बचाउने
मानवताको गीत
गुनगुनाओस् नयाँ बर्ष ।

चेतना लिएर आएको यो
विशाल ब्रह्मान्डभित्र
आखिर एकदिन त संसार छोड्नु नै छ
दिन दुखी अनि निमुखाहरुको
घाउमा मल्हम लगाओस् नयाँ बर्ष ।

स्वस्थ्य रहेर बाँच्न सके
कर्म पनि स्वथ्य हुने थियो
मादक पदार्थ अनि धुम्रपान
सबै कुलतबाट
छुटकारा दिलाओस् नयाँ बर्ष ।

जता लाग्यो त्यतै जान्छ यो मन
आखिर किन रिस इष्र्या ?
सबै मिलिजुली नयाँ दिन बोलाओस् नयाँ बर्ष ।

सन्तानका खुशीका लागि
अहोरात्र दुख बेसाएका अभिभावकलाई
असल बनी मुहारमा हासो फर्काइदेओस् नयाँ बर्ष ।

कहिले खुशी भएका दिन
कहिले शोकमा डुबेका मन
संसारको रित नै यस्तै भन्दै
बाँचुन्जेल सकारात्मक
बनाओस् नयाँ बर्ष ।

कयौ बर्षदेखि देश अन्योलमा छ
लाखौं युवा विदेशिएका छन्
देशमै रोजगारी सृजना गर्ने
सबै नेपाली समेटिएका
विकाशका मुल फुटोस् नयाँ बर्ष ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button