सपनाको व्यापार

कविता

आशिष लिम्बु
कालेबुङ्ग, भारत ।

मलाई लाग्थ्यो
हामी स्वतन्त्र देशका स्वतन्त्र नागरिक हौं
तर हामी त स्वतन्त्र देशको एउटा सानो बन्द कोठाभित्र
कैद थिएछौं पहिलैदेखि
झुन्डाएको छ कोठाको दैलोमा हुकुमको ताल्चा
र, खरिद बिक्रीको नाम दिइएको छ हाम्रो जिन्दगीलाई।

ठुले तुम्बा तिमीले त
अदुवाको भारी बोकेर बजारमा लगेर बेचिएको निहुँमा नै
कति खेर पत्तै नपाई बेची पठाए छौ अदुवासँगै आफ्नो रहरहरू

साइँला फपाङ्ग तिमीले त
अलैंचीको धोक्रोमा खादेर दोकानेको कोदाममा पुराएर
उतै छोडी राखेर आएछौ चाहनाको झोला ।

अचेल खरिद बिक्रीमा चल्दैछ सपनाहरू ।

आँगनको बीचमा बसेर पेरुङ्गो बुन्दै गरेको
ठल्ले कुङ्बा
एक तप्का आसु खसालेर
सपनाको थुन्से बोकेर
खाडी गएको छोरा प्लेन चड्यो कि चडेन
रमिता हेरिरहेछ आकाशतिर ।

बिहान मात्रै ट्रेनको टिकट बोकेर
परदेश हिँडेकी छोरीलाई किन कल लागेको छैन अहिलेसम्म ?
बारीको डिलमा घाँसको भारी बिसाएर
मनमा केके हो केके कुरा खोलाएर
साइँली तुम्मा सम्झिरहेछ छोरीको अनुहार ।

सपना बोकेर खाडी पसेको छोराहरु
सपना बेचेर आउँछ कि
कि त किनेर आउँछ

भबिष्य देखेर परदेश हिँडेकी छोरीहरु
भविष्य भत्काएर आउँछ कि
कि त सपारेर आउँछ

हरेक रात यस्तै यस्तै प्रश्नहरुको पलङमा
निदाउछ गाउँ ।

अब अहिले मेरो बुढी औंलालाई निसाना बनाएर
राखिदिएको छ मलाई पनि खरिद बिक्रीको बजारमा ।

बुढी औंलाको ल्याप्चे सँगै
कसरी बिक्री गर्नु सक्छु र म आफ्नै सपनाहरू ?


(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । लेख्नुस् कविता, कथा वा निबन्ध र पठाउनुस् नेपालनाम्चाको इमेल 
nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button