पोलिटिकल पर्व

कविता

विशाल नाल्बो

बरु नउम्रिएको भए
यो भुइँ माथि विमल गुरुङको कुरूप विचार
नहुर्केको भए बिनय तामाङ्गको चेतनामा
गद्दारी बाल बच्चा
र नफेरेको भए निरज जिम्बाको आँखाले
गुण्डाधारी सपनाको काँचुली ।

मलाई लाग्छ
यो जो भुइँमाथि बाँचेका
सिमित मानिसहरु छन्
उनीहरुले फेर्ने थिए
एक ‘साप्पो’ भए पनि चैनको सास ।

गाउँमा स्कुल भवन छैन
छैन हस्पिटल
कुल्ची रहेछ बेरोजगारीको समस्याले
गाँउको तरुनी तन्नेरीहरुको काँध काँधमा टेकेर ।

निक्कै निक्कै निक्कै साल भैसक्यो
गाउँलाई अलकत्रे बाटो दिन्छु भनेर
सांसद भवन हिँडेको राजु बिष्ट अझै फर्केको छैन
भर्खरै मात्र ‘मार्क्स’को सिद्धान्तलाई
हत्या गरेर फर्किएको छ आर बि राई ।

धाधली गरेको छ
बृध्द भत्तामा गाउँको पञ्चायतले
बजेट सकिएको बाहना गरेर
आधाकल्चोमै छोडेको छ सयदिनेको बाटो ।

यति खेर उनी
कालो तिर्पल बाडेर
बन्द गर्न चाहन्छ गाउँको मुख ।

प्वाँल प्वाँल परेको छ गाउँको छाना
अलपत्रमा छ गाउँ ।

मनाइरहेछ
‘नरेन्द्र मोदी’ राजनीतिक पर्व
एककिसिमको खुनी मुस्कान बोकेर ।

मन घिसिङको बोली
यसकारण बन्द छ कि उनको ‘आप्पा’ले
आफ्नै सन्तानको सपना
बर्षौ अघि नै बेची राखेर फर्किएका हुन् दार्जिलिङ ।

बि पी बजगाईंको कलम
फोहोरी राजनीतिक हातहरुले समाइ सकेको छ
सुरज धड्कन
लेखक/लेखक रहेनन्
उनी अब राजनीतिग्य भैसके ।

ममता ब्यानर्जीको मुड्मा भर गर्छ
उनले कुनै पनि बेला भनीदिन सक्छ
कि यिनीहरु भनेको नेपालका हुन् ।

दार्जिलिङ, कालिम्पोङ, भारत ।



(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । लेख्नुस् कविता, कथा वा निबन्ध र पठाउनुस् नेपालनाम्चाको इमेल 
nepalnamcha@gmail.com मा ।)

One Comment

  1. यदि मैले यो भनेर कवितालाई मन्तव्यहरू गर्नु प्रयास गरेर यसो भन्ने भने कि “बर्तमानमा भारतीय संसदीय राजनीति र राजनीतिक पार्टीहरूका भोटबाज लिलाखेलनहरूबाट जनता कति उत्पीडित भई रहेका छन् भनेर थाहा पाउन चाहनुहुन्छ भने यो कविता पढ्नुहोस्।” शायद गलत हुनेछैन।
    – कविताका प्रतीकात्मक र बिम्बात्मक सांकेतिक शब्दहरूका चयन र प्रयोगमा सान्दर्भिकता नै यस कविताको यस र सौन्दर्यताको विराट कैनभास रहेको देखिन्छ तर पाठकवृनदमा कविको कल्पनाको संघर्षमय कविता संसारमा लिएका बिम्बात्मक सांकेतिक प्रतीकहरूका संयोगहरूलाई काल्पनिक यथार्थवादी दृष्टिकोणमा हेरिनु पर्दछ न कि नाम र घटनाहरूलाई संयोगको पक्षलाई।
    -:कविले आफ्ना काव्यिक अभिव्यक्तिहरुमा नारावादीको विल्ला लाग्नेछ कि भन्ने अनैतिक र कायर डरका सम्भवनाहरूलाई नै महांकाल बाबाको थानमा दुस्साहसिक चेतनाको काँटीले ठोकेर झुण्डाएर आएको जस्तो देखिन्छ।
    – देख्दा विकश गोतामेका राजनीतिक काव्यिक चेतनाका उत्तराधिकारी भाव र निर्भिकता देखिए तापनि जसरी गोतामेकालिन समाजमा हुने श्रमिकहरूका आन्दोलनहरूका जोडदार पृष्ठभूमि हुने गर्दथ्यो थियो भने वर्तमानमा श्रमिक र श्रम विरोधी संसदीय भोटबाजका कैदमा रहेको आर्थ सामाजिक वर्गीय समाजका चक्मारव्यूहहरूलाई दुस्साहसिक रूपमा तोड्नुको निम्ति यी काव्यिक अभिव्यक्तिहरु “अभिमन्यु” बन्ने महान् आत्मत्यागको भावनाका अभिव्यक्ति पनि हुने गर्दछ।
    – सपनाहरुका विरोधी समयका क्रूरतापूर्ण अमानुषिकताको यो कुरूप समयमा अलंकार र उपमाहरूलाई जोगाउँ, प्रतीक र संकेतहरूका रक्षा गरौं एवं बिम्ब र भावहरूलाई सुरक्षित र सम्बर्द्धन गरौं !
    – साम्राज्यवादी कोरपोरेटका नव औपनिवेशिक उदारवादी लोकतन्त्रमा नीजिकरण र इष्ट इण्डिया कम्पनीको पुनर्विकरण गर्ने षड्यन्त्रकारी योजनमा फासिष्टहरूका राजनीतिले मानिसहरूमा नैराश्यता छाएको बेला यही कविताले मात्रै जीवनप्रति सकारात्मक आश्वासन दिनु सकिरहेका छन् ! बाँच्नुको अर्थमा जीवन संघर्षहरुलाई आत्मसात् गर्नु कविताले नेतृत्व दिई रहेका छन्। मानिसका जन-जीवनसं नङ्ग र मासु सरह सरोकार राख्नेवाला कवि र कविताहरू बाँचे भने मात्र मानव समाज बाँच्छन्।
    अर्थात् कवि र तिनका कविताहरू नै अन्ततः मानव जीवनको मुक्तिदाता हुन् !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button