सुशीला तामाङको ‘चुरा’
कविता
आज, चुरा बज्न थालेका छन्
सुरमा सुर मिलाएर
गाउँ अनि सहरका
पेटी र सडक–सडकमा
चुराले चुलो र चौको मात्र हेर्दैन ।
अचेल,
यसले तोड्दै छ चुलोको सिमाना
बुझ्दै छ आफ्नै सुर र ताल
कोर्दै छ आफ्नै लयको गीत ।
गुन्जिन एकै धुनले,
एकै भाकाले,
अनि एकै माधुर्यले ।
जब गुन्जिन थालेका छन्
रंगीचंगी चुराका ध्वनिहरु
तब बेसुरा आतंक बढ्दै छ,
चुरा बहिष्कृत आदिम सत्तामा ।
हे महोदयहरु
जब टुट्नेछन् चुराहरु
बन्द हुनेछन् तिम्रो संसारको सृष्टि
गुमाउनेछौ तिमीले
पितृत्वको हक ।
आफ्नै सृष्टिकर्ताको त बोध हुनुपर्ने होइन र?
चुराकै ध्वनि सुन्दै
कोखाइ–कोखाइको लयमा
पहिलो गाँस टिपेको कसरी भुल्न सक्यौ ?
अहँ,
बुझेनौ तिमीले चुराको ममता
सुनेनौ तिमीले चुराको विरह
बज्न दिएनौ आफ्नै मझेरीमा
हो, त्यसैले त चुराले
समातेको छ, आफ्नै लयको भाका ।
अनि,
बज्न थालेका छन्, अनन्त समानताको
रेखा कोरेर ।
…
(प्रिय साथी ! तपाईं पनि प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)