कथाः डायनकी छोरी

कश्यपप्रसाद पौडेल

पहेँलपुर धानका बालाहरु बजाउँदै सुस्तरी बयली खेल्ने बतासको लहरसँगै म जन्मेको हुँ देहातमा । देहात, जहाँको धुलौटे बाटाहरुमा टेक्दै, उभिँदै र हिँड्दै मेरा पाउहरु बलिया भए । जहाँको माटोको गन्ध र पसिनाको रङसँग मैले जीवनको सुगन्ध भेटेँ । तर, तिनै जीवनका रङहरुमा कुची चोबेर देहातका टहराहरु रङ्गाउन समयले धेरै पटक काँचुली फेर्नुप-यो ।

पहाडका बस्तीहरुलाई गाउँ भने झैं मधेसका बस्तीहरुलाई देहात भन्ने चलन पुरानै हो । अन्नको भण्डार समथर तराईका धेरै देहाती बस्तीहरुमध्ये म जन्मेहुर्केको देहातलाई अर्मौली भनिन्छ । पुर्खाले किन अर्मौली भने, म अनभिज्ञ छु । फगत एउटा नाम— अर्मौली । जसको छत्रछायामा मेरो र मजस्ताहरुको सपना मुस्किलले अङ्कुराउँदै आए ।

अर्मौलीबाट नेपाल र भारतको सिमाना नजिकै पर्छ । नजिक सिमाना हुनुका फाइदा र बेफाइदा दुवैको साक्षी छौँ हामी । समुदाय र संस्कृतिको सम्मोहन पनि उस्तै । संस्कृतिका बाछिटाहरुले नै जीवनको लय पक्रने रहेछन् ।

हाम्रो देहाती बस्तीमा तराई मूलका विभिन्न जातजातिका मानिसहरुको बसोबास भए पनि हामी चौधरी जातिको बाहुल्य पहिलेदेखि नै थियो । करिब तीन सय घरधुरी भएको हाम्रो देहातमा झण्डै दुईसय साट्ठी घर हामी चौधरीहरुकै छन् । त्यसैले, यहाँको चालचलन, रीतिरिवाज, धर्मसंस्कृति, मूल्यमान्यता र वर्षभरि मनाइने चाडपर्वहरुले ऋतुपिच्छे उमङ्गको दीप बोकेर आउने गर्दछन् । र, हामी त्यही दीपमा हार्दिकताको तेल थपेर बस्ती उज्यालो बनाउने गर्दछौँ ।

म सानो छँदैदेखि मेरो बाबा यसै देहातका पुख्र्यौली जिमिनदार हिरेन्द्र नारायण चौधरीको घरमा मुन्सी काम गर्नुहुन्थ्यो । गाउँका ठूलाबडा कहलिएका उनै जिमिनदारको संगतले गर्दा बाबाले मलाई सानैमा घरमै बसीबसी सामान्य लेखपढ गर्न सक्ने बनाउनुभयो । समयक्रममा म हुर्कन थालेँ । अलि ठूलो भएपछि साउँअक्षर चिन्ने भएँ । अक्षरसँगै अलिकति ममता, अलिकति सत्कार र अलिकति जीवनका यात्राहरु पनि चिन्न सक्ने भएँ । जिमिनदार हिरेन्द्र नारायण र मेरो बाबाबीचको सन्निकटताको प्रतिफल हुनुपर्छ, मैले सीमापारि भारतको बिहारमा गई माध्यमिक तहसम्मको शिक्षा हासिल गर्ने अवसर पाएँ ।

नयाँ ठाउँ, नयाँ बस्ती वा भनौँ नयाँ परिवेशमा रहेर पढ्नु सहज त थिएन । तर, आफूमा शिक्षाको आलोक थपिँदै गएपछि आफ्नै देहातमा फर्केर बस्तीलाई आलोकित तुल्याउने सपनाले हरक्षण सताइरहेकोले गर्दा म पढाइमा निमग्न भएँ । राम्रो सोचेपछि हरेक कुरा राम्रो हुँदै जाने रहेछ । मेरो पढाइ पनि राम्रो भयो । मैले हाइस्कुलसम्मको शिक्षा पूरा गरेँ । हृदयमा आफूले सिकेका अक्षरहरुको माला लगाएर म आफ्नै देहात फर्किएँ ।

समयको सिर्के सिरेटोले परिवेशमा क्रमशः परिवर्तनका रेखाहरु कोरिरहेका थिए । म गाउँ आएपछि जिमिनदार बाले नै मलाई गाउँको स्कुलमा मास्टर बनाइदिए । उनको बोलीको प्रभाव बस्तीभरि पहिलेदेखि नै थियो । मास्टर भएको पल सम्झँदा मनमा आज पनि कताकता हर्षको आँसु बगेको महसुस हुन्छ । अक्षरको खेती गरेर जिन्दगीका सपनाहरु फुलाउन चाहनेहरुका लागि म एउटा माली बनेर आइपुगेको थिएँ । यसरी अनायास मिलेको गाउँको त्यही मास्टरी पेशाले मलाई आफ्नो जिन्दगीको रिक्सा चलाउने ठूलो भरोसा दियो ।

अनेक आरोह अवरोहहरुको मिश्रण नै जीवन हो रहेछ । विगतका अनुच्छेदहरु पल्टाएर हेर्दा म पटक पटक खण्डित पनि हुने गरेको छु । मलाई अहिले पनि राम्ररी सम्झना छ, त्यतिबेला नै जिमिनदारको त्यो पुरानो घर सेतो चुनको जोडाइमा पाको इँटाले बनेको थियो । हेर्दै आकर्र्षक, कलात्मक र मनमोहक थियो । त्यो पुरानो घर त अहिले छैन, भत्किसक्यो । त्यससँग जोडिएका सम्झनाका रुन्कारुन्की भने अझै जीवितै छन् ।

म सानो हुँदा उहाँहरुको चिनी मिल पनि थियो । उहाँकै मिलमा गाउँका धेरै मान्छेहरुले काम गरेर आफ्नो जीविकोपार्जन गर्ने गरेका थिए । ती जिमिनदार बा उतिबेलै रसियन जिप चढेर हिँड्ने गर्दथे । उनको ढाँचाकाँचा र रवाफ देख्दा मानौँ, उडिरहेको बतास पनि एक छिन टक्क रोकिएर अपलक उनलाई नियालिरहन्थ्यो ।

उनका भाइहरुसँग राजदुत मोटरसाइकल थियो । उखु र अन्य सरसामान बोक्नका लागि र खेत जोत्नका लागि २ वटा ट्याक्टरहरु पनि थिए । जिमिनदार बाका तीन भाइ छोरामध्ये कान्छो चाहिँ उमेरले मसँगैका हुन् । उनी अहिले सरकारी बैङ्कमा मेनेजर छन् । हिरेन्द्र नारायण जिमिनदारका छोराहरु सबैले सिक्किम बसेर पढेका थिए । पढाइ सकेर घर फर्किएपछि तीनै भाइ यो देहातमा बसेनन् । बचेरा हुर्किएपछि गुँडबाट उडी टाढा गएजस्तो । जागिरको सिलसिलामा गाउँबाहिर गएका उनीहरु उतै रमाउन थाले ।

पहिलादेखि नै हाम्रो गाउँमा जिमिनदार बाको एकलौटी हैकम चल्थ्यो । सामुन्नेमा बोल्ने औकात र आँट कसैसँग थिएन । उनको जयजयगान टोलभरि थियो । हाम्रो गाउँको छेउमै एउटा ठूलो जङ्गल थियो । जङ्गल सकिनेबित्तिकै नौगजा सुरु हुन्छ । अनि, हाम्रो र भारतको सिमाना आउँछ । त्यति बेलादेखि नै सीमा सुरक्षाका लागि नेपाली सेनाको क्याम्प त्यही जङ्गलको छेउमा राखिएको थियो । ब्यारेकमा आउने हाकिमहरु हुन् वा जुनसुकै पदका ठूला मान्छेहरु हुन, हाम्रो गाउँमा आएपछि सबैले जिमिनदार बाको आशीर्वाद र आपसी सद्भाव पाएकै हुन्थे । नयाँ आउने हाकिमहरुले आएको दुईुचार दिनमा जानपहिचान गरिहाल्थे । एकपटक शाही थर भएका एकजना हाकिम ब्यारेक प्रमुख भएर आएका थिए । म गाउँको स्कुलमा मास्टरी गरिरहेको थिएँ । उनीसँग हाम्रा जिमिनदार बाको खुब राम्रो दोस्ती जमेको थियो । उनले छुट्टीमा घर जाँदा जिमिनदार बालाई काठमाडाँैबाट एउटा एल.सि.सि.एन कुकुरको बच्चा उपहार ल्याइदिएका थिए । खुबै राम्रोसँग लालनपालनका साथ राखिएको त्यो राजासाबको कोसेली नयाँ जातको अजङ्गको कुकुर जिमिनदार बाको घरमा पालिएको हल्ला जिल्लाभरि चलेको थियो । पूरै मधेशभरिमा एउटा मात्र भएको त्यो जातको कुकुर उनका लागि ठूलो शान र गौरवको विषय बन्न पुगेको थियो ।

कुकुर पालेको करिब ३ वर्षजति भएपछि त्यो कुकुर एकाएक बिरामी प¥यो । बिरामी भएको एक महिनाजतिमा राम्रो उपचार नपाएर झोक्राउँदा झोक्राउँदै म-यो । तर, कुकुर मरेको दोष भने गाउँको छेउमा भएको पैनीको डिलमा परालको झुपडी बानाएर बसेको सुकुम्बासी कलुवा सतारकी स्वास्नी भुमालाई लगाइयो ।

बिचरी भुमा पन्ध्र वर्षको उमेरमा भारतको सुड शहर छेउको गाउँबाट बिवाह गरेर कलुवा सतारसँग आएकी हुन् । गरिबी र अशिक्षाले ग्रस्त तिनको परिवारमा जोतेर खाने आफ्नो निजी जमिन थिएन । सधैँभरि अरुको काममा गएर कमाइल्याएको अन्नले तिनीहरुको जीविका चल्ने गर्दथ्यो । घर बनाउने आफ्नो जमिन नभएकाले खोलाको छेउमा भएको पैनीको डिलमा सानो छाप्रो हालेर बसेका थिए ।

एक दिन भुमा घरको आँगन बढार्दै थिइन् । त्यति बेला जिमिनदार हिरेन्द्र नारायण चौधरीको कान्छो छोरो शहरबाट छुट्टी मनाउन गाउँ आएका थिए । परिवारकै शान भएको एल.सि.सि.एन. लाई साँझपख तिनै कलुवाको घरको आँगनबाट दिसापिसाब गराउन भनेर खोलाको किनारतिर लैजाँदै थिए ।

आफ्नो घरको आँगनमा भएकी भुमाले त्यो नौलो कुकुर देखिन् । जिमिनदार बाको घरमा त्यस अनौठो कुकुर पहिलेदेखि नै पालेको भए पनि भुमालाई यसबारे खासै हेक्का थिएन । कलुवा र भुमाको सपना जपना भनेकै अरुकोमा गई काम गर्ने र त्यसबाट प्राप्त सामग्रीले आफ्नो दैनिकी चलाउने मात्रै थियो ।

यसरी अचानक अनौठो कुकुर देखेपछि भुमाले अचम्म मान्दै नियालेर हेर्न थालिन् । हेर्दाहेर्दै जिमिनदारका छोरा उनकै अाँगनअगाडि आइपुगे । एउटा हातमा कुकुरको साङ्लो र अर्को हातमा कुकुरलाई खुवाउन खसीको सिङ्गै खुट्टा हल्लाउँदै हिँडेको देखेर भुमा झन् छक्क पर्दै हेरेको हे-यै भइन् । भुमाको घरनजिकै ती साना जिमिनदार दिपेन्द्र नारायणले आफ्नो प्यारो एलसिसिएन कुकुरलाई दिसापिसाब गराए । अनि, चउरको छेउमा राखेर खसीको काँचो खुट्टो कुकुरलाई खान दिए । जिमिनदार र कुकुरको चालामाला अनौठो लागेर आँगनको डिलमा टुक्रुक्क बसी अचम्म मान्दै भुमाले एकोहोरो हेरिरहिन् ।

उनले पहिलो पटक देखेको हेर्दा अनौठो लाग्ने कुकुर, त्यसमाथि खसीको सिङ्गै खुट्टो कुकुरलाई खान दिएको देख्दा अचम्म नमान्ने कुरै थिएन । त्यसरी अघि नै देखि एकोहोरो हेरेको हे-यै गरेको देखेर दिपेन्द्र नारायणले भुमालाई नराम्रोसँग हकारे ।

‘ए, के हेरेकी ? चोखे लाग्ला नि फेरि मेरो कुकुरलाई !’ दिपेन्द्र नारायणले भने ।

भुमा केही बोलिनन् ।

दिपेन्द्र नारायणले फेरि भने, ‘गाउँलेहरु तँलाई राम्रो भन्दैनन्, तन्त्रमन्त्र जानेकी छेस् रे । मेरो कुकुरलाई केही भयो भने तेरा जगल्टा बाँकी रहँदैनन् ।’

जिमिनदार कान्छाको धम्की र डायनको आरोप लागेको सुनेर पनि भुमा केही बोलिनन् । मानौँ, यतिखेर उनको हृदयको शब्दकोशमा कुनै शब्द छैन । वा, उनको गलामा अक्षरहरुको साङ्ली परेको छ । र, साङ्लीबाट फुस्किएर वचन बाहिर आउन सकेको छैन । भुमा नबोलीकन रुँदैरुँदै आफ्नो छाप्रोभित्र पसिन् ।

मालिकको निगाहाबाट प्राप्त भएको काँचो मासु चउरमा बसेर भुइँको झारमा बेस्सरी दल्दै त्यो कुकुरले एकै छिनमा मासुमासु सबै खाएर हड्डी मात्र चउरमा छाडिदियो । यसरी चउरमा बसेर मासु खाएको भोलिपल्टबाट कुकुरले अन्न खान छोड्यो । कान्छा जिमिनदार दिपेन्द्र बाबु कामका लागि त्यही दिन बिहान शहर हिँडे । उनी गएपछि घरमा कुकुरको पेट फुलिएर डमडम्ती हुन थाल्यो । त्यसपछि वाकवाक गर्ने, दिसा गर्न खोज्ने नसक्ने र एकोहोरो खोक्ने गर्न थाल्यो । कुकुरको पेटमा कैफियत प-यो ।

ती दिपेन्द्र बाबुले कुकुरलाई दिएको त्यो खसीको खुट्टा गाउँमा बिरामी परेर हतारहतार काटिएको खसीको थियो । त्यही मासु ल्याएर सुकाउनका लागि हरुवाले बाहिर पालीमा झुण्ड्याइएर राखेको १० दिनजति भएको थियो । रोगले मरेको खसीको खुट्टाको मासु सुक्नुको सट्टा कुहिएको थियो होला । बिचरा धेरै दिनपछि घर आएको कान्छो मालिकलाई के थाहा कि बिरामी खसीको त्यो मासु हरुवा चरुवाहरुले खानको लागि राखेको हो भनेर । अनजानमा आफ्नो प्यारो कुकुरलाई उनले सुकुटी सम्झेर खान दिए । घरमा भएका अरु मालिकहरुलाई पनि कुकुर बिरामी परेको दोष आफूलाई आउला भन्ने डरले हरुवाहरुले रोगी खसीको मासु ल्याएर राखेको बारेमा कुनै जानकारी दिएनन् । कुहिएको मासु खाएर बिरामी भएको बिचरा त्यो एल.सि.सि.एन. लाई औषधि दिनका लागि गाउँमा त के जिल्लामै भेटेनरी पसल थिएन । तर, जिमिनदारले घरेलु उपचार र झारफुक भने प्रशस्तै गराएका थिए । खास औषधी उपचार नपाएर लामो समय थलिएपछि त्यो कुकुरले मृत्युवरण गरेको थियो । तर, दिपेन्द्र बाबुले दिएको मासु कुकुरले खाँदै गर्दा भुमाले धेरै बेरसम्म हेरिरहेकीले उसैले भेद हालेर मारी भन्ने आरोप बिचरी ती गरिब सुकुम्बासी भुमालाई लगाइयो ।

कुकुर मरेकै दिन गाउँका प्रायः सबैलाई जिमिनदारको आँगनमा भेला गराए । म पनि स्कुल बिदा गरेर दिउँसो एक बजे नै जिमिनदार बाको आँगनमा हाजिर हुन पुगेको थिएँ । जिमिनदार बाले आफ्नो कुकुर मर्नाको कारण त्यही भुमाले मासु खाएको देखेर नै हो भनेर डाइन किटानी गरे । अनि, गाउँलेहरु सबैले यो डाइन छे, बोक्सी हो, अब यसलाई समाएर, पाता फर्काएर ल्याउनुपर्छ भनेर उचाले । जिमिनदार बूढाले आदेश दिए, ‘ल, गएर त्यसलाई समातेर ल्याऊ ।’

आदेशको पालना गर्दै गाउँलेहरु गएर भुमालाई पाता फर्काएर ल्याए । हात खुट्टा बाँधेर ल्याइएकी बिचरी भुमालाई जिमिनदारको आँगनमा धेरैले कुटे । एकोहोरो रुँदै भुमाले भनिन्, ‘म डायन होइन, म डायन होइन ।’

तर, भुमाको क्रन्दनको आवाज सुन्ने त्यहाँ कोही थिएन । सुनेकै भए पनि सायद समथर फाँटहरुले सुने होलान्, मसिना टहराहरुले सुने होलान्, सुस्तरी चलेको बतासले सुन्यो होला, माथिबाट निरन्तर चर्तिकला हेरिरहेको नीलो आकाशले सुन्यो होला । तर, सान्त्वनाको स्वरमा प्रतिउत्तर कतैबाट पनि आएन । सँगै भएको उनको श्रीमान्ले पनि छेउमा बसेर धुरुधुरु रुनेबाहेक एक शब्द पनि बोल्न सकेनन् । मालिकको निर्णयका विरुद्धमा को बोल्ने र !

त्यसै दिन उपस्थित सबै मानिसहरुको निर्णयले भुमालाई डायन ठहरायो । अनि, केही महिलाहरुले शौच ल्याएर मुखमा हालिदिए । गाउँलेहरुको समेत मन्जुरीमा भुमालाई गाउँनिकाला गर्ने निर्णय भयो । मलाई त्यो निर्णय ठीक लागेको थिएन । तर, सम्मुख उभिएरै पनि म चुपचाप बसेँ । कहिलेकाहीँ परिस्थितिले मानिसलाई हृदयको आवाज बोल्न नदिने रहेछ । गाउँमा आफ्नो जमिन र घर नभएका सुकुम्बासी भुमाका दुईजना दुई वर्षकी अबोध छोरी स्मृतिलाई काँधमा राखेर तत्क्षणमै खाली हात भारत पसे । उनीहरुका लागि अरु विकल्प केही रहेन ।

भुमा र कलुवा आफ्नी छोरीसहित भारत गएपछि घुम्दै फिर्दै, माग्दै खाँदै गर्न थाले । कयौँ दिन भोकै पनि बसे । पाटी, चौबाटो, रेलवे स्टेसन जहाँ खाली ठाउँ भेटिन्छ, त्यही उनीहरुको आश्रयस्थल हुन थाल्यो । कयौँ रात आकाशको छानोमा झिलमिलाएका ताराहरुको उज्यालो गन्दै उनीहरु निदाए ।

जाँदाजाँदा एक वर्षपछि दक्षिण भारत पुगे । अनि, त्यहीँ बसेर बनीबुतो गर्दै आफ्नो जीवन बिताउने विचारले काम गर्न थाले । भाग्यवशः त्यस गाउँका स्कुलहरुमा बालबालिकाहरुलाई अनिवार्य र निशुल्क शिक्षाको व्यवस्था रहेछ । त्यसैले, तीन वर्षको उमेरमा नै त्यही गाउँको स्कुलबाट कलुवा र भुमाकी छोरी स्मृतिको पढाइ सुरु भयो । एक कक्षादेखि नै कक्षामा प्रथम हुँदै गएकी स्मृतिलाई कक्षा १२ सम्म नै सरकारबाट थप नगद छात्रवृत्ति प्राप्त भयो । मासिक रुपमा स्कुलले दिएको पैसाले खर्च गर्न पुग्ने भएकाले कलुवा र भुमालाई कुनै आर्थिक भार परेन । बरु स्मृति थप अध्ययन गर्न प्रेरित भइन् । उनी आफैँमा मिहिनेती र क्षमतावान् पनि थिइन् । अरु कक्षामा जस्तै कक्षा १२ को परीक्षामा पनि त्यो प्रदेशमै सबैभन्दा धेरै अङ्क ल्याउन सफल भइन् । जसका कारण त्यहाँको ठूलो मेडिकल कलेजमा थप पढाइ भत्ता पाउने गरी एम.बि.बि.एस. पढ्ने अवसर स्मृतिलाई मिल्यो । त्यही शहरको बीचमा भएको मन्दिरअगाडि पेटीमा कलुवा र भुमाले सानो फूलमालाको पसल चलाएका थिए । मन्दिरमा चढाउने फूल र चमेलीको फूलबाट बन्ने गजरा बिक्री गरेर आफ्नो घर व्यवहार चलाउन थालेका थिए ।

समय सधैँ एकनासको हुँदो रहेनछ । अनेक लाञ्छनासहित गाउँबाट निकालिएका भुमाको परिवारले भारत पसेपछि सन्तोषको स्वास मात्र फेरेका थिएनन, उनीहरुको जीवनमा एकपछि अर्को खुसीका झिल्काहरु पनि देखिन थालेका थिए । छोरी स्मृति एम.बि.बि.एस पढ्दै थिइन् । सो पढाइ सकेपछि त्यही शहरमा आफँैले पढेको मेडिकल कलेजमा नै स्मृतिले काम पाइन् । भुमाको परिवारमा खुसीको फूल मगमगाउन थाल्यो ।

स्मृतिले केही वर्ष त्यही मेडिकल कलेजमा काम गरेपछि पुनः उनलाई पूर्ण छात्रवृत्तिमा एम.डी. गर्ने अवसर मिल्यो । एम.डी. सकेपछि काम गर्दै जाँदा डा. स्मृति शहरभरिकै नाम चलेकी फिजिसियन भइन् । रात बिरात नभनी बिरामी जाँच्ने कार्यमा उनी निरन्तर खटिइन् । उनको मृदुल मुस्कान र बिरामीप्रतिको अटुट अनुराग देख्दा जो कसैले सहजै अनुमान गर्न सक्थे कि, स्मृति दयाकी प्रतिमूर्ति हुन्, स्मृति घाउहरुका लागि मह्लम हुन्, स्मृति दुखेका मन र उदास अनुहारहरुको लागि उज्यालो छाया हुन् ।

केही समयपछि स्मृतिको विवाह पनि त्यही अस्पतालमा काम गर्ने अर्को नशा रोग विशेषज्ञ डाक्टर रामेशसँग भयो । डा. रामेश पनि अत्यन्त तीक्ष्ण प्रकृतिका थिए । सानैमा बाआमा गुमाएका उनी जीवनलाई जीवनजस्तै सुन्दर बनाउने उत्कट अभिप्रायले प्रेरित थिए । वर्षौँदेखि एक्लो जीवन बाँच्दै आएका उनले स्मृतिको सहारा पाए । डा. रामेश स्मृतिसँगै रहन थाले । छोरीले नाम र दाम कमाएपछि त्यो अभागिनी मधेसकी डायन भुमा पनि भाग्यमानी र असल आमा भएर सुखी अनि खुसी भइन् । उनले आफ्नो जीवनको किताबबाट विगतका नरमाइला अनुच्छेदहरु च्यात्न थालिन् ।

कहिल्यै विश्राम नलिने र निरन्तर चलिरहने समयको गतिलाई कसले पो रोक्न, छेक्न सक्छ र ! स्मृतिले पढाइ सकेर घरजम गरेको केही वर्षपछि पालैपालो भुमा र कलुवा परलोक भए । स्मृतिका आँखाहरुमा बेचैनीको बादल मडारियो । उनले आफ्नो शितल छहारी गुमाइन् । आमाको काख र बाबुको स्नेह गुमाइन् । हुन त उनी आफैँ स्वावलम्बी बनिसकेकी थिइन् तर अभिभावकत्वको प्रेमिल स्पन्दनबाट उनी छुट्न पुगिन् ।

सहनुको अर्को नाम पनि हो जिन्दगी । स्मृतिले ती पीडादायी पलहरुको सहन गरिन् । आफ्नो पुरातन संस्कारअनुसार सबै दशकर्म सकेर सन्तानले निर्वाह गर्नुपर्ने आफ्नो दायित्व पूरा गरिन् । रहँदै बस्दै जाँदा स्मृतिको मनमा आफू जन्मिएको देश नेपाल र आफ्नो बाबुआमाको गाउँ एकपटक जाने र हेर्ने इच्छा जागृत भयो । काम गर्ने अस्पतालबाट एक महिनाको बिदा मिलाएर श्रीमान् श्रीमती नै नेपाल घुम्नका लागि आए । नेपालका प्रमुख रमणीय स्थानहरुको भ्रमण सकेपछि स्मृतिले आफ्नो जन्मथलो यही हाम्रो देहातमा आउने निधो गरिन् ।

स्मृति आफ्नो पुरानो गाउँ आइपुगिन् । गाउँमा आएपछि गाउँका छिमेकीहरुसँग उनको भेट भयो । उनको बाबुको घर भएको घडेरी जमिन गाउँलेहरुले देखाइदिए । तर, आमालाई डायनको आरोपमा शौच खुवाएर गाउँ निकालेको र कुटेको कुरा चाहिँ कसैले पनि बताएनन् । भुमाले पनि छोरीलाई आफ्नो घटना भनेकी रहिनछन् ।

स्मृतिसँग भेटिएका गाउँलेहरुले आफ्नो घरमा डा. स्मृतिका दुई जनालाई राख्ने र खान, सुत्न दिने आँट कसैले गरेनन् । त्यसैले, उनीहरुबीच सल्लाह भएर हिरेन्द्र नारायण जिमिनदारबाको जेठा छोराको घरमा बास बस्न भनी लगिदिए । तर, भुमाकी छोरी हो यो भन्ने आँट कसैले नगरेकाले उनीहरुका लागि पनि स्मृति भारतीय पाहुना मात्र हुन पुगिन् ।

घरमा जिमिनदार्नी आमै बिरामी भएको धेरै महिना भएको थियो । बास बस्न गएकी डा. स्मृति र उनका श्रीमान्लाई घरधनी आमै धेरै बिरामी भएको कुरा थाहा भयो । डा. रामेशले मलीन अनुहारकी बूढी जिमिनदार्नीको निधार छुँदै सोधे, ‘हजुरलाई के भएको छ ? कहिलेदेखि यस्तो भयो ?’

आमै बोल्न सकिनन् । उसैगरी ओछ्यानमा पल्टिरहिन् । उनको छोराले डा. स्मृतितर्फ सङ्केत गर्दै भने, ‘हेर्नुस् नानी, आमालाई गाउँकै डायन लागेर यो अवस्था आयो । धामीले जानेजति झारफुक पनि गरे । डायन पनि पन्छाए । तर, केही सीप लागेन । अनि दुई महिनाअगाडि यही गाउँकै सोमिया डुमलाई धामीले डायन बकाएर शौच खुवाए । हामी सब मिलेर कुट्दैकुट्दै गाउँ निकाला गरिदियौँ तर पनि ठीक भएन ।’

छोरा चाहिँको कुरा सुनेपछि दुवै डाक्टरले मिलेर बिरामीको जाँच गरे । जिमिनदार्नी आमालाई ओल्टाइपल्टाइ गरे । हातखुट्टा पालैपालो तन्काए । उनीहरुले नसाको रोग भन्ने अड्कल काटे । अनि, डा. रामेशले भने, ‘हेर्नोस्, आमालाई कुनै डायन सायन लागेको होइन । उहाँलाई त नशासम्बन्धी रोग छ ।’

डाक्टरको कुरा सुनेपछि परिवारका सदस्यहरु अवाक् भए । केही बोल्नै सकेनन् ।

‘अझै आँत्तिहाल्नुपर्ने केही छैन, उपचार ग-यो भने यो रोग राम्ररी ठीक हुन्छ’, डा. रामेशले भने ।

छोरो चाहिँले भन्यो, ‘ठीक होला त डाक्टर साहब !’

‘अवश्य ठीक हुन्छ । बरु भोलि हामीसँगै हिँड्नुहोस् ।’ डा. स्मृतिले भनिन् ।

उनीहरु भोलिपल्टै उपचारका लागि डाक्टरहरुसँगै भारत जाने भए ।

यसरी नेपालबाट सम्झाइबुझाइ भारतमा लगेर डा. स्मृतिले अस्पताल भर्ना गरी जिमिनदार्नी आमाको उपचार गर्न थालिन् । अस्पताल भर्ना भएको एक महिनामा जिमिनदार्नी आमा करिब करिब ठीक भइन् । बिरामीले थलिएर ओछ्यानमा परेकीे मान्छे मजाले हिँड्न सक्ने भएपछि घरैमा बसेर औषधी खानु भनी अस्पतालका डाक्टरले भनेकाले बिरामी डिस्चार्ज गरे ।
अस्पतालबाट डिस्चार्ज भएपछि डा. स्मृतिले जिमिनदार्नी बजैलाई भनिन्, ‘अहिले कस्तो छ त आमा हजुरलाई ?’

जिमिनदार्नी आमा आफ्ना मुजा परेका गाला थोरै खुम्चिने गरी मुस्कुराइन् । र, भनिन्, ‘अब त यी यसरी हिँड्न सक्ने भइहालेँ नि । नानी त मेरो लागि भगवान् नै भएर आउनुभयो ।’

डा. स्मृतिको मुहारमा पनि मुस्कानका धर्साहरु पोतिए । उनले एक पटक जिमिनदार्नी आमाको हँसिलो अनुहारमा आफ्नी आमा भुमाको अनुहार पनि देखिन् । उनले भनिन्, ‘हिँड्न सक्ने भएँ भनेर सिधै गाउँ जाने होइन, केही दिन हाम्रै घरमा बस्नुपर्छ ।’

जिमिनदार्नी आमालाई कहिले देहात पुगौँ भइरहेको थियो । त्यस्तरी थला परेर ओछ्यानमा लडिरहेको आफू उपचारपछि हिँड्न सक्ने भएको खुसी उनी छिटोभन्दा छिटो आफ्नो गाउँमा देखाउन चाहन्थिन् । तसर्थ, डा. स्मृतिको घरमा बस्नुभन्दा आजै अहिले नै गाउँ पुगौँ भन्ने लालसाले आमैलाई सताइरहेको थियो । आमै आफ्नोमा बस्न नमानेपछि स्मृतिले एक रात मात्रै भए पनि आफ्नो घरमा बस्न आग्रह गरिन् । दुबै जना डाक्टरको अनुरोधलाई नकार्न नसकेर आमैले पनि एक रात बस्ने सहमति जनाइन् । त्यस दिन साँझ सबै जना स्मृतिको घरमा गए ।

बैठक कोठामा डा. स्मृतिले आफ्ना आमा र बाबुको फोटाहरु सजाएर राखेकी थिइन् । त्यस शहरमा गएर बसेको बेलादेखि मर्नेबेलासम्मका धेरैजसो फोटाहरु कोठाको भित्ताहरुमा सजाएर टाँगिएको रहेछ । भित्तामा सजाइएका तस्वीरहरु देखेर ‘कसको होला’ भन्दै जिमिनदार्नीका आमाछोराले घुमीघुमी नियाल्न थाले । आफ्नो गाउँमा हुँदाका भुमाका दुई जना त्यहाँ पुगेपछिको लवाइखुवाइले फरक देखिएका हुनाले उनीहरुले चिन्न सकेनन् । वालमा राखिएका तस्वीर हेरिसकेर जिमिनदार्नीका आमाछोरा सोफामा गएर बसे ।

त्यसपछि उनीहरुलाई डा. स्मृतिले एकएक गरेर देखाउँदै टाँगिएका सबै तस्वीरहरु चिनाइन् । जब स्मृतिले बाबुआमाको नाम बताइन् तब उनीहरुलाई मनमा शङ्का उत्पन्न भयो । कोठाका सबै तस्वीरहरुको बारेमा भनी सकेपछि जिमिनदारका छोराले अझै स्पष्ट हुन पुरानो एल्बम मगाएर हेरे । अनि, भुमालाई राम्ररी चिनेपछि उनीहरुको सातो गयो । त्यसपछि अनुहार बिगार्दै आमाछोराका बीचमा खासखुस सबै कुरा भयो । अब पुरानो क्रा…. नभनी आजको रात बिताएर बिहान सबेरै उठेर जाने सल्लाह आमाछोरामा भयो । तर, पश्चाताप र आत्मग्लानिले दुबै जनालाई निरन्तर पोलिरह्यो ।

डाक्टर रामेश र स्मृतिले अति नै श्रद्धापूर्वक बेलुकाको खानपिनको व्यवस्था गराए । माइतीका बाबुआमाजस्तै ठानेर दुवै आमाछोरालाई आफ्नै आमाबाको सुत्ने कोठामा सुताए । सुत्ने कोठामा गएपछि जिमिनदार्नी र उनको छोरालाई झन् ठूलो पश्चात्ताप भयो । एउटा बेडको कुनातिर आमा छटपटिने, अर्को बेडको कुनातिर छोरा छटपटिने । भन्नेहरुले पृथ्वी गोलो छ भन्थे, हो रहेछ । मनमा विभिन्नथरी कुरा खेलेकाले आमाछोरा रातभरि राम्रोसँग निदाउन सकेनन् । मध्यरातमा उठेर अब पुरानो आफ्नो सबै गल्ती भएको कुरा बिहान स्मृतिलाई भन्ने र माफी मागेर घर जाने निधो गरेपछि मात्र उनीहरुका आँखा लोलाए ।

बिहान उठेर चिया खाँदै गर्दा उनीहरुले विगतको सबै कुरा डा. स्मृतिलाई बताइदिए । अनि, हात जोडेर बारम्बार माफी मागे । दुवै जनासँग ‘माफी दिनोस्’ भनेर अनुरोध गरे । ती आमाछोराका सबै कुरा सुनेर डा. स्मृतिले धेरै चित्त दुखाइन् । उनका आँखाबाट बलिन्द्र धारा आँसुका भलहरु बगे । तापनि पढेलेखेकी, संसार जानेकी बुझेकी डा. स्मृतिले आफूलाई तुरुन्तै सम्हालिन् । अनि, रुन छोडेर उनीहरुलाई सम्झाउने उद्देश्यले भनिन्, ‘अशिक्षा र अन्धविश्वासमा परेर तपाईँहरु र त्यहाँका गाउँलेहरुबाट यस्तो गम्भीर गल्ती हुन गएछ । जसका कारण मेरा बाआमा त्यस गाउँबाट बेइज्जती सहेर निस्कनुप-यो । धेरै वर्ष दुःख खेप्नुप-यो । तपाईहरुको गल्ती माफी दिन लायकको त हैन । तर, त्यसरी बाबाआमाले गाउँ छोड्नुपरेकोले नै म डाक्टर बन्न सफल भएँ । त्यसैले उमेर पुगेर वृद्ध भएका तपाईँहरुले गल्तीको महसुस गर्दै प्रायश्चित्स्वरुप माफी माग्नुभयो, मैले माइती सम्झिएर माफी दिएँ ।’

डा. स्मृतिको दयाभाव र उदार हृदय देखेपछि जिमिनदार्नीका आमाछोराले सान्त्वनाको सास फेरे । अनि, हात जोडेर उभिइरहे । अशिक्षाका कारण अन्धविश्वासमा परेर डायनको आरोप लगाई दुई परिवारको चिल्लीबिल्ली बनाएकोमा जिमिनदारका आमाछोरा पनि पश्चात्तापले लज्जित भए । उपचार पाएर जसरी नशाको रोगीले थला परेकी आमा निको भइन् त्यसैगरी समयमा नै उपचार गरेको भए हाम्रो बाले पालेको एलसिसिएन कुकुर पनि बाँच्नेरहेछ भन्ने छोरो चाहिँलाई लाग्यो । आफैँबाट ठूलो भुल भएको कुरा उनले स्वीकार गरे ।

डा. स्मृतिले भनिन्, ‘तपाईँहरुले जो नगर्नु पाप त गरिहाल्नुभयो, त्यो पापको प्रायश्चित् गर्नका लागि नेपाल फर्किएपछि समाजमा जरा गाडेर बसेको कुरीति हटाउन डायन भन्ने नै हुँदैन भन्ने सन्देश गाउँगाउँमा फैलाउनका लागि एउटा संस्था खोली जनचेतना अभियान चलाइदिनुहोला । त्यति गर्नुभयो भने मेरी आमा र अरु थुप्रै गरिबीको भुमरीमा परेका आमाहरुको आत्माले शान्ति पाउने छ ।’

डा. स्मृतिको प्रस्ताव सुनेपछि जिमिनदार्नीका आमाछोरा ‘हवस् त्यसै गर्छाँै’ भन्दै बिदा मागेर हिँडे ।

यसरी पश्चात्तापको भकारी मनभरि बोकेर देहात फर्र्किएका ती जिमिनदार्नीका आमाछोराले आफू भारतमा उपचार गर्न बस्दा भएका सबै घटना र सहमतिका कुरा गाउँलेहरुलाई सुनाए । त्यसपछि डा. स्मृतिले भनेर पठाएझैँ आफ्नो बाबु जिमिनदार हरेन्द्र नारायण चौधरीको नाममा स्मृति प्रतिष्ठान् खोलेर जिल्लाभरिका सबै गाउँहरुमा डायनप्रथा गलत हो । यो केवल रुढीवाद मात्र हो । कुनै पनि मान्छे डायन हुन सक्दैन । केवल अशिक्षाका कारणले सबैको मनमा उत्पन्न हुने अन्धविश्वास मात्र हो । यो कुरीतिबाहेक केही हैन । त्यसैले, अब कोही पनि भ्रममा नपरौँ भन्दै देहातबाट डायनप्रथा उल्मुलन गर्ने अभियानमा जिमिनदार बाका छोराहरु लागिपरे ।

एउटाले सकारात्मक पाइला अगाडि सारेपछि त्यही पाइला पछ्याउँदै हिँड्नेहरु थुप्रै भेटिन्छन् । कुप्रथाको अन्त्यका लागि जनचेतना जगाउने कार्यमा हामी मन, वचन र कर्मले प्रतिवद्ध हुन थाल्यौँ । परिवर्तनका पाइला पाइला जोडेर गोरेटो बनायौँ । र, चेतनाको स्वर सुसेल्दै हिँडिरह्यौँ । गाउँबस्ती सबैतिर कुप्रथाको अन्त्यका निम्ति आवाज बोकेर हिँडिरहँदा सिमसिम पानी प-यो । सायद, माथिबाट भुमा र सयौँ भुमाहरुले हर्षको आँसु चुहाए ।

(सिमल बुकबाट प्रकाशित पौडेलको कथासंग्रह ‘डायनकी छोरी’बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button