सारा झ्याम्म झझम्म झम्म (कविता)

डा. नवराज लम्साल ।

खोजी गर्नु छ के छ छैन जगमा जे छन् सबै छन् यहाँ
भुङ्ग्रोबाट उठेर दन्दन हुने झिल्को छ सङ्घर्षमा
भोग्ने जीवन भोग्न मात्र कसरी ठानौँ कुरूक्षेत्र हो
आफ्नै जाँगरले बनेर जिउँदो बाँच्ने छ उत्साह यो ।

आफैँभित्र छ बुद्ध बुद्धि अथवा सम्बुद्ध सम्बोध वा
आफैँ हो जन जिन्दगी जगतको सर्वोच्च सर्वोच्चता
ज्योत्स्ना ज्योति जगाउँदै जग बनी जागा बनोस् जीवन
आफैँमा परिपूर्ण अन्तपुरको उत्साह होस् कञ्चन ।

धोई ज्यान सिनित्त बग्छ पसिना यो कर्म उत्साह हो
आफैँ धीर बनूँ बनूँ प्रिय धरा यो धर्म उत्साह हो
मेरो मुक्ति मबाट हुन्छ म भनूँ यो मर्म उत्साह हो
यी उत्साह समाल्छु बाँच्छु सुखले मेरो यही चाह हो ।

छातीभित्र उमङ्ग बस्छ कसरी छाती चिरूँ लाग्दछ
जाग्दो दीप जगाउँदै जगतकोे भित्रै छिरूँ लाग्दछ
च्यातूँ चर्चर चित्र चित्र जसरी आलस्य अल्छीपना
आफैँ बन्न सकूँ बनूँ सकलको उत्साहको आँगन ।

भत्केको भय हो विदीर्ण मनको भत्के नयाँ बन्दछ
छोडेको दिल हो विछोड पछिको अर्को नयाँ जुट्दछ
सारा पात झरेर वृक्ष जसरी फर्कन्छ वैशाखमा
सारा झ्याम्म झझम्म झम्म हरियो त्यै शक्ति आओस् ममा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button