उनी उता क्यानडामा, यता नेपालमा उनको ‘प्रेमको महासागर’
… तर, उनी एकदम खुश !
‘अधुरो थियो, पुरा भयो । एक बर्षदेखि गर्न चाहेर पनि सकिरहेकी थिइनँ’, नेपालनाम्चा सम्वाददातालाई क्यानडाबाट उनले भनिन्, ‘यहाँ त टोटल्ली लकडाउन छ । तीनजनाभन्दा बढी मान्छे भेला हुन पाइन्नँ । कोरोनाको कहर ।’
त्यसो त उनले एनआरएनसँग मिलेर उपन्यास सार्वजनिक गर्न नखोजेकी पनि होइनन् । त्यसका लागि योजना पनि बनेको थियो रे । ‘तर, परिस्थितिले साथ दिएन । अर्को कुरा, यहाँ मेरो खुशीमा खुशी हुनेहरु पनि त को थिए र ? त्यसैले नेपालमै गएरै उपन्यास लोकार्पण गर्ने सोचें’, भनिन्, ‘बीचमा कोरोना आइदियो । त्यसैले ढिलो भयो र नेपाल आउन पनि सहज भएन । त्यसैले मैले विदेशमा भए पनि स्वदेशमा उपन्यास लोकार्पण गराएकी हुँ ।’
‘मेरो पहिलो कृतिको लोकार्पण भएको छ, थोरै नराम्रो पनि लाग्यो, म उपस्थित हुन सकिनँ । तर, आफ्नै जन्मभूमिमा मेरो कृतिको लोकार्पण भयो । मेरा आदरणीय मातापिता र आफन्तजन र साहित्य क्षेत्रका प्रखर व्यक्तित्वहरूको सहभागितामा कृतिको लोकार्पण कार्यक्रम सम्पन्न भएको भयो’ उनले थपिन्, ‘एक वर्षअगाडि नै गर्नुपर्ने पुस्तक विमोचन थोरै ढिला अवश्य भयो तर यो महामारीमा बाँचेर कार्यक्रम गर्न सकेकोमा भगवानको आशीर्वाद नै भन्नुपर्छ ।’
‘लेखनको एक दशकपछि यो पहिलो कृति प्रेमको महासागर उपन्यास मेरो पहिलो पुस्तकको रुपमा सार्वजनिक गर्न पाउँदा मनमा थोरै कौतुहलता, धेरै उत्साह थोरै डर नभएको भने होइन’, उनले भनिन् ।
पछिल्लो ३० महिनादेखि उता छिन् उनी । एमेजनमा क्वालिटी एस्युरेन्सको काम गर्छिन् ।
‘एउटा कुरा साधौं’, अन्तिममा एक्कासी नेपालनाम्चालाई उनले सोधिन् ।
‘सोध्नोस्’, नेपालनाम्चा सम्वादाताले भन्यो ।
‘के साहित्य मेरो कप अफ टी हो ? तपाईलाईं के लाग्छ ?’
‘तपाईंको उत्तर दिने तरिकाले भन्छ, तपाईंभित्र कवित्व छ । र, उपन्यास लेखिसक्नुभयो । त्यसैले साहित्य तपाईंको कप अफ टी नै हो’, नेपालनाम्चाले भन्यो, ‘बेस्ट अफ लक !’
रन्जना कार्की ! सरी ! उपन्यासकार रन्जना कार्कीलाई ‘प्रेमको महासागर’का लागि हार्दिक बधाई ।