सम्झनाः रामेछाप साहित्यिक महोत्सव

हरिहर खनाल

भनाइ नै छ पुस फासफुस । पुसको पुछारतिर हुने कार्यक्रमका लागि जगदीशजीले १–२ गतेतिरै निम्तो दिनुभएको थियो, तेस्रो हप्ताको अन्तिमतिर हिड्नुपर्ने दिन आइपुगिहाल्यो । पुस २३ गते हतारहतार गर्दै साढे ८ बजेको समय छोप्न म न्यूरोडगेटअगाडि पुगेँ । अलिकति खोजतलास गरेपछि एजुकेसनल इन्टरप्राइजेजको दक्षिणपूर्वी खण्डमा ‘रामेछाप साहित्य महोत्सव २०६५’ लेखिएको ब्यानर अगाडिपट्टि झुुन्ड्याएर बसिरहेको एउटा मिनीबस देखियो । बल्ल मन ढुक्क भयो । हाम्रा पथप्रदर्शक निरजले मलाई आदरसाथ न्यानो स्वागत गरे । त्यसपछि म भित्र छिरेँ । देखेँ, धनराज गिरी र कपिल अज्ञात–लगायत केही अपरिचित मानिसहरू जाडोमा खुम्चिएर त्यहाँ बसिरहेका छन् । हामीले मुस्कान साट्तै सिट खोज्यौँ । त्यसको केही छिनमा बस त्यहाँबाट हिँडिहाल्यो ।

कोटेश्वरमा आवश्यकताभन्दा बढी समय बस रोकिएपछि के भएको रहेछ भन्ने कुरातिर ध्यान दिनै प-यो । थाहा लाग्यो, बनेपा बन्द रहेछ । अब के हुने हो भन्ने पिरले मन निकै दुबिधामा प-यो । बनेपा भन्नासाथ मोहन दुवाललाई सम्झन पुग्छु म । ‘के गरेका होलान् यी मोहन दुवालहरूले पनि दुनियाँलाई दुःख दिएर ?’ कतै मनको एक कुन्तरमा यस्तो भावना पनि नआएको होइन, तर पछि त्यो कामबाट आफैँ पनि प्रताडित बनेका दुवालजीसमेत घुमाउरो र विकट बाटो भएर मन्थली पुगेको कुरा थाहा पाएपछि भने मैले व्यर्थैमा विचरालाई मनमनै गाली गर्न खोजेछु जस्तो लाग्यो ।

कुहिराको पातलो पर्दा च्यातिँदै गएपछि घामका कलिला किरणहरू धरतीको धूलोसित मीत लगाउँदै भर्खरसम्म कठ्याङ्ग्रिएर बसेको चोक पनि बिस्तारै मुुस्कुराउन थाल्यो । मानिसहरू घामका पाइलालाई पछ्याउँदै जीउ सेकाउने सुरले खाली ठाउँको खोजीमा तलतिर झरे ।

अगाडिपट्टि फर्केर बसेका, झट्ट हेर्दा सैनिक सेवाका जागिरेजस्ता देखिने एक युवकका आँखामा मेरा आँखा परे । परिचयका क्रममा उनले मलाई विशाल पहाडी भनेर चिनाए । सन्ध्या पहाडीलाई म यसअघि नै चिन्दथेँ । साहित्य गोष्ठीहरूमा भेट हुँदा चिनाजान भएको । आज विशालजीसित पनि परिचय भयो । दुवै जना जोडीको मिल्दोजुल्दो अभिरुचि देखेर मलाई रमाइलो लाग्यो । त्यसमा थप, उनी मेरा साहित्यकार मित्र रामबहादुर पहाडीका सुपुत्र भन्ने थाहा पाएपछि त मन झनै रमायो । हाल अमेरिकामा बस्तै गरेका विशालजी जगदीश घिमिरेजीका विषयमा ससानु वृत्तचित्र बनाउने अभिलाषा राख्ता रहेछन् । त्यही अभिलाषाले उनलाई मन्थलीसम्मको यो साहसिक यात्रामा डो¥याएको रहेछ ।

बसको ढोकाबाट भित्र छिर्दै गरेका निर्मोही व्यासको सुपरिचित स्वर सुनेपछि मेरो मन त्यसै पनि प्रफुल्ल भैरहेको थियो, पछाडिपट्टि यसअघि कहिल्यै भेट नभएका तर मलाई चिन्ने अशोक सिलवालसित समेत गफ गर्ने मेसो मिल्यो ।

शीतले शीताङ्ग भएको शरीरभरि घामको न्यानो छरेर उभिइरहेको बेला एउटा सेतो कारबाट सेतै कपाल फुलेका हँसिला वृद्ध बाहिर निस्किए । हाम्रो यात्रा अवधिभर भीष्मपितामह नाम पाएका भर्खरभर्खर चौरासी नाघेर पचासीतिर पाइला चाल्दै गरेका ती शिखर पुरुष अमेरिकाको यात्रामा गएको खण्डमा कतै उतै घरजम गरेर बस्ने पो हुन् कि भन्ने डरले नान्सी जे पावेलहरूले पर्यटक भिसा दिन इन्कार गरेका कृष्णचन्द्रसिंह प्रधान हाम्रा लागि भने हाम्रा संरक्षकका रूपमा हाम्रो मनमस्तिकमा ठाउँ लिएर बसिसकेका थिए । नयाँ नेपालको चित्र कस्तो हुन्छ होला भन्ने कल्पना गर्दै सत्ताइस मिटर लामो कपडाको क्यानभासमा रङ्गहरूको संयोजन गरेर धरहराको टुप्पोनेरबाट तलतिर लतार्ने विश्व नागरिक किरण मानन्धर र चित्रकला क्षेत्रका सुपरिचित व्यक्तित्व विजय थापासमेत सँगै पाउँदा हाम्रो यात्राटोलीको छाती स्वतःस्फुर्त रूपमा चौडा हुँदै गयो ।

लेखक खनाल ।

इन्द्रायणीको ओरालोमा पुगेपछि लघुकर्मनिम्ति एकैछिनका लागि हाम्रो बाहन रोकियो । म घामतिर पिठ्युँ फर्काएर बस्तै थिएँ, धेरैजसो फुलिसकेका घोप्टे जुँघा र परिचितजस्ता लाग्ने, ठूलो निधार भएका एक जना प्रौढमाथि मेरा आँखा परे । संयोग नै भनूँ, कान्तिपुरको ‘मोही माग्ने ढुङग्रो लुकाउने’ स्तम्भका यी सुपरिचित पत्रकार कृष्णमुरारी भण्डारी बेलुकी त मेरो रुम पार्टनर पो हुन पुगे । त्यै मेसोमा रामजीप्रसाद उपाध्याय (राप्रउ) पोखरेल पनि हाम्रा कुरामा कुरा मिलाएर गफ गर्न थाले ।

कोटेश्वर कटेर अलिकति पर पुगेपछि जडीबुटीको देब्रे घाँच हुँदै पेप्सीकोलातिर हानिएको, बैँसका खुट्किला निकै पहिले पार गरेर पचासको भन्ज्याङबाट ओरालो झर्दै गरेको अधबैँसे मान्छेजस्तो हाम्रो मिनीबस मूलपानी र इन्द्रायणीका भूमिमाथि कोरिएका सडकरूपी गोरेटाहरूको धूलो उडाउँदै शालीनदीको किनारैकिनार उत्तरपूर्वतिर हुइँकिन थाल्यो । बनेपा बन्दको कारण बेसाउनुपरेको यो कुबाटोको यात्रा मेलम्ची हँुदै मूल सडकमा निस्कँदैछ भन्ने बुझेपछि नयाँ ठाउँ देख्न पाइने भयो भनेर अलिकति भए पनि मन रमाएकै थियो, शालीनदी तरेर जङ्गलको बाटो उकालो लागेपछि सातघुम्तीलाई बिर्साउने मोडहरू पार गर्दै हाम्रो मिनीबस सल्लाघारीको जङ्गल छिचोलेर निकै माथि पुग्यो र जहरसिं पौवालाई पछि धकेलेर खुरिखन्न डाँडाको भीरमा कोरिएको कच्ची सडकमा धूलो उडाउँदै, उचालिँदै र पछारिँदै ओरालो झर्न थाल्यो ।

अलिकति पर पुगेपछि अनन्त व्यथाहरूलाई मनभित्र लुकाएर अविरल बगिरहेको इन्द्रावती र त्यस वरपरको हराभरा फाँट हाम्रा आँखामा आएर टाँसियो । साँगुरा घुम्ती र मोडहरूमा ब्याक गर्दै र विपरीत दिशाबाट आएको अर्को आफन्तलाई साइड दिन पर्खदै अनि मौका मिल्नासाथ घ्यारघ्यार गरी घिच्चिँदै हाम्रो बाहन दिउँसो २ बजेतिर जिरो किलोमिटरको पिच टेक्न पुग्यो । त्यसपछिको त कुरै अर्कै । घर पुग्दा फुर्किएको बालकसरि त्यो फुर्तीसाथ पिचमा कुद्न थाल्यो ।

चरिकोट पुग्दा साँझ धरतीतिर बिस्तारै ओर्लन थालेको थियो । चरिकोटले मेरा पुराना सहपाठी साथीहरू परशुराम खड्का, चोकबहादुर दाहाल, ज्ञानेन्द्रबहादुर शाही आदिको सम्झना गरायो । तर त्यतिबेला समयले हामीलाई त्यहाँ भुल्ने अनुमति दिएको थिएन । हामी हतारहतार ओरालो झर्न थाल्यौँ ।

तामाकोशीका सुन्तला बिर्सिनसक्नु रहेछन् । त्यसमा पनि त्यहाँका सोझा व्यापारीका सरल व्यबहार झन् मन छुने किसिमका रहेछन् ।

“अब कति छ मन्थली पुग्न ?” मैले जान्न चाहेँ ।

“त्यस्तै चवालीस किलोमिटर होला । अब तीन घण्टामा पुगिन्छ ।” गुरुजीले अन्दाज लगाए । डेढ घण्टा कुदेपछि खिम्ती जलविद्युत् परियोजनाको झिलिमिली देखेर मन रमायो । एक मनले ठान्यो अब मन्थली आइपुग्यो, तर त्यो होइन रहेछ । वारिबाट पारि र पारिबाट फेरि वारि, तामाकोशी तर्दै दौडँदै, तर्दै दौडँदै, फेरि पनि तरेपछि बल्ल त्यो भेकतिर लागिँदोरहेछ । राति १० बजेतिर मन्थली पुगेपछि असाध्यै रमाइलो लाग्यो ।
थकाइले थिलोथिलो भएको जीउ लिएर सुतेको भोलिपल्ट उठ्ता शरीर धेरै चङ्गा भैसकेको थियो । सहयात्री साथीहरू कोठामा घुरिरहेका थिए, म भने धरतीमा उज्यालो खस्नुअघि नै उठेर नित्यकर्मपछि मिर्मिरेदेखि नै रणजोर खोलाको बगर र त्यसको वरपर फैलिएको फाँट अनि मन्थली बेँसी र वरपर देखिने घुर्मैला गाउँहरू हेर्दै थिएँ, अलिकति उत्तरपूर्वको आकाशमा अबिर पोतिएको आकाशमा आँखा पर्न पुगे । दाहिनेतिर तामाकोशी बिस्तारै बगिरहेको थियो । त्यसको अलिपर कतै ‘मकैको खेती’का लेखक कृष्णलाल अधिकारीको गाउँ मौन मुद्रामा सुतिरहेको थियो ।

बिहानी बिस्तारै छिप्पिँदै गयो र सहयात्री साथीहरू पनि आआप्mना ओछ्यान छाडेर उठ्न थाले ।

म चियाको चुस्की लिँदै थिएँ, आँगनको छेउमा क्यानभास अड्याएर त्यसमाथि थरीथरीका रङ्गहरू पोत्नमा तल्लीन थिए लामो कपाल र बाटुलो कृष्णमुहार भएका चित्रकार किरण मानन्धर ।

हामीले हेर्दाहेर्दै उनले आफ्ना क्यानभासमा मन्थलीका कैयौं चित्र उतार्दै गए । हामी दिउँसो रामेछापतिर लाग्यौँ, किरणजी भने उनको काममा लागिरहे । साँझसम्म उनले मन्थलीका विविध रूपलाई उनका आठवटा क्यानभासमा उतारेर मनमोहक र जीवन्त कला सिर्जना गरेछन् ।

अब अलिकति रामेछापका कुरा गरौँ । बिहान १० बजेतिर रणजोर खोलाको बगरलाई पछि धकेल्दै हाम्रो मिनीबस आफ्नो आधार शिविर छाडेर उकालो लागेको एउटा पर्वतारोहीझैं डाँडाका गल्छेडा र पाखाका डरलाग्दा घुम्तीहरू छिचोल्दै विकट धुलेसडकमा घिच्चिन थाल्यो । कतै आबादी खेतबारी र कतै वनजङ्गल अनि सालघारीको बाटो हुँदै त्यो रामेछापको उकालो चढ्न थालेको झन्डै अढाई घण्टापछि रामेछाप बजारको पूर्वी भेक भँगेरीमा पुगेर रोकियो । बाटामुनि एउटा लामो ठूलो इँटाको गारो र झिँगटीको छानु भएको दुईतले घर देखियो । त्यसको पल्लोपट्टि त्यै माफिकको खरको छानु भएको अर्को घर थियो । हामी बसबाट उत्रेपछि त्यतै लाग्यौँ । वरपर ससाना बोटमा लटरम्म फलेका जुनार पहेँलपुर थिए ।

“गङ्गालाल र पुष्पलाल जन्मेको, ठाकुरदासको घर भएको ठाउँ यही हो ।” हाम्रो जिज्ञासाको उत्तर दिँदै स्थानीय एक कृषकले एउटा घरको अवशेषतिर औँल्याउँदै भने । त्यो ठाउँमा पनि जुनारको एउटा ससानो बोट थियो र त्यसमा पहेँलपुर दाना लागेका थिए । यसरी रामेछाप बजारको प्रवेशद्वारमा नै शहीद गङ्गालाल र उनका भाइ, नेपालको वामपन्थी आन्दोलनका अग्रणी शिखर पुरुष पुष्पलालको जन्मथलो हेरेर हामीहरू रामेछाप बजारको बाटोतिर सोझियौँ । गङ्गालाल–पुष्पलालका पिता रामेछाप माल अड्डामा जागिरे भएर त्यस ठाउँमा बस्ता उनीहरू जन्मेको कुरा हामीले थाहा पायौँ ।

पूर्वोत्तर फर्केर सुतेको एउटा डाँडामा रामेछाप बजार दोहोरो लाइनमा पक्की घरहरू ठड्याएर बसेको रहेछ । पाँचतलेसम्मका पक्की घर भएको यो बजारमा शहरिया संस्कृति साइबर क्याफेका साइनबोर्ड पनि हामीले सजिलै देख्यौँ । बजारको पुछारमा नै बसबाट उत्रेर उकालो लाग्नेबित्तिकै सडकका दोहोरो किनारामा बिहीबारे हाटमा आआफ्ना घरेलु उत्पादन बेच्न बसेका नरनारीहरू र हाट भर्न आएका असङ्ख्य मानिसहरूको भीड देखेर एकछिन त म छक्कै परेँ । सडककिनारले नपुगेर पाखा पखेरातिर पनि पसलहरू फैलिएका । सानो छँदा करापुटारमा देखेको शिवरात्रीको मेलाको जस्तै झझल्को लाग्यो । फर्कने क्रममा बजारको पुछारमा दाहिनेतिर अवस्थित गौरीशङ्कर उच्च माध्यमिक विद्यालयको प्रङ्गण हुँदै त्यसको उत्तरपट्टि रहेको एउटा गराको डिलमा उभिइरहेको थिएँ, साथमा थिए निर्मोही व्यास र धनराज गिरी । हामी त्यहाँबाट देखिने उत्तरपूर्वको हिमाल र दूरदराजका गाउँहरू हेर्दै थियौँ, एक जना प्रौढ काँधमा एउटा कुर्ची बोकेर हामी भए ठाउँ आए र जङ्गी तरिकाले मुठी उचालेर लाल सलाम गरे । हामीले सस्वर त्यसको उत्तर फर्कायौँ । सोधखोजपछि उनको नाम थाहा पाइयो । उनी कामरेड करसाङ तामाङ रहेछन् । त्यति धेरै आवश्यकता नपरेको भए पनि उनी कुन कित्ताका कामरेड रहेछन् भन्ने उत्सुकता जाग्यो मनमा । हाम्रो जिज्ञासालाई शान्त पार्दै उनी बोले– “माओवादी ।”

हामी तीनै जनाले उनीसित जब्बर किसिकले हात मिलायौँ । उनले हामीलाई बस्नका लागि धेरै आग्रह गरे । हामी तीन जना थियौँ, बस्ने कुर्ची एउटा । फेरि उनी हामीलाई अलिकति केही खान पनि आग्रह गरिरहेका थिए । त्यो केही भनेको त्यहाँ पाइने घरेलु जाँड वा रक्सी यस्तै केही थियो । हामीले उनको स्वच्छ आतिथ्यका लागि धेरै धन्यवाद दियौँ र बाटो लाग्यौँ । तर ती सोझा किसानले हामीलाई कतैबाट त्यहाँ पुगेका देवदूतै ठाने होलान् कि कुन्नि ? उनी त हाम्रो पछिपछि डाँडाको पल्लो छेउसम्म पुगे । बारीको डिलमा उभिएर हामीले उनीसित एकएक स्न्याप फोटो खिच्यौँ । त्यहाँबाट फर्कँदा मैले नाइँ भन्दा पनि मैले हाटबजारमा किनेको अलिकति जुनारको सानु प्लास्टिक–ब्याग एकैछिनका लागि भने पनि उनले नबोकी मान्दै मानेनन् । उनले हामीप्रति कति धेरै आत्मीयता देखाए भने उनी हामीलाई बससम्म पु-याउनसमेत आए । हामी बसमा चढिसकेपछि पनि उनी मसित आएर ‘अलिकति जुनार ल्याऊँ है’ भनेर अनुमति माग्दै थिए । उनले हामीलाई अलिकति जुनार उपहार दिन चाहेको कुरा विनम्रतासाथ भनिरहेका थिए । उनले हामीप्रति देखाएको आत्मीयता र सद्भावप्रति उनलाई सादर धन्यवाद दिएँ र हामी उनीसित बिदा भएर त्यहाँबाट प्रस्थान ग-यौँ । एकैछिनका साथी कामरेड करसाङ तामाङको सरल र आत्मीय भाव देखेर म कृतकृत्य भएँ ।

साँझ मन्थली फर्केपछि पहिले धुनी तापियो र पछि भोजभतेर चल्योे । त्यसपछि म दुई प्रहर रात बिताउन कोठातिर लागेँ । म खासमा मैले मेरै ठानेका मान्छेहरू निर्मोही व्यास, धनराज र कपिलसितै रात बिताउन चाहन्थेँ, तर त्यहाँको व्यवस्थापनले मलाई तुलनात्मक रूपमा सुविधाजनक ठानिएको एटेच्ड बाथरुम भएको कोठामा राख्ने व्यवस्था मिलाएको रहेछ । रुम पार्टनर कृष्णमुरारी भण्डारी र अशोक सिलवाल दुवै पत्रकार परे । त्यो त ठीकै थियो, तर भोलिपल्ट बिहान म बाथरुमभित्रै हुँदा, बाथरुमको काम सकिएपछि कोही पनि मानिस भित्र बसिरहँदैन भन्ने सामान्य कुरासमेत नसोची, बाहिरबाट, त्यो पनि दुईदुई पटक, ढोका ढकढक्याउने पत्रकारको पद्धति भने मलाई निकै नौलो लाग्यो ।

२५ गते तामाकोशी सेवा समितिको प्राङ्गणबाट निस्केको पञ्चैबाजासहितको ¥याली देवकोटा चोकमा पुगेर महाकविको प्रतिमामा माल्यार्पण गरेपछि जिल्ला विकास समितिको सभाहलमा पुगेर बृहत् साहित्यगोष्ठीमा समाहित भयो । गोष्ठीमा कविताका नाममा वाचन गरिएका प्रायः रचनाहरू कविताजस्ता नहुँदानहुँदै पनि ती रचनाहरूले श्रोताजनबाट उल्लेखनीय ताली खाएका र पाएका देख्ता साहित्यप्रति देखिएको मानिसहरूको उत्सुकता र लगाव भने प्रशंसालायक लाग्यो मलाई ।

मन्थली भ्रमणका क्रममा केही कुराबाट मनमा एक प्रकारको गहिरो छाप प-यो । तामाकोशीको देब्रे किनारामा रहेको त्यसको बगरलाई थुनछेक गरेर त्यहाँका मानिसहरूले एयरपोर्ट निर्माण गरेका रहेछन् । मानिसले गरे नहुने भन्ने कुरा के छ भन्ने कुराको प्रमाण हो यो । दोस्रो, त्यहाँका मानिसहरूले ‘जगदीश घिमिरे प्रतिष्ठान’ खोलेर त्यसैका माध्यमले स्वास्थ्य, सहकारी, शिक्षा र खानेपानीका क्षेत्रमा उल्लेख्य र प्रशंसनीय कार्य गरेका रहेछन् । यतिबेला मन्थलीमा व्यक्तिगत रूपमा जगदीश घिमिरेको क्यै पनि छैन । त्यहाँका थुप्रै अरू मानिसहरूको जस्तै उनको घरखेत २०४५ सालमा सरकारले सदरमुकाम त्यहाँ सार्दा अधिग्रहण गरेको रहेछ । मैले त्यहाँ पुगेपछि यही सुनेँ । ती सबै कुराहरू अब सम्झनामा मात्र छन् । यति हुँदाहुँदै पनि मैले त्यहाँ जगदीशजीको सबै थोक पाएँ । सबैभन्दा ठूलो कुरा त त्यहाँका मानिसहरूले उनीप्रति प्रदर्शन गरेको आत्मीय भाव हो । जगदीशजी जागिरमा हुँदाका समयमा एन्. जी.ओ र आई.एन्.जी.ओ.मार्फत मन्थलीलाई तामाकोशी सेवा समितिका माध्यमले दीर्घकालीन महङ्खवका केही कुरा दिएका रहेछन् । त्यसैका लागि मानिसहरूले उनलाई मान्दा रहेछन् । उनले मन्थलीलाई अझै पनि केही दिने प्रयत्न गर्दै छन् । उनले उनका पुस्तक बिक्री र लेखकस्वबाट आएको सबै रकम त्यही समितिलाई दिने घोषणा गरिसकेका छन् । उनले आत्मालाप नाम दिएको एक प्रकारले भन्दा उनको पछिल्लो समयको आत्मवृत्तान्त भन्न सुहाउने किसिमको कृति ‘अन्तर्मनको यात्रा’का लागि उनले यस वर्ष मदन पुरस्कार पाए । त्यसबाट आएको दुई लाख रुपियाँ पनि उनले तासेसलाई हस्तान्तरण गरिसकेको कुरा हामीले सुन्यौँ ।

रामेछापको सदरमुकाम मन्थली भित्रिने समयमा तामाकोशीको पुल तरेर पूर्व लाग्नेबित्तिकैदेखि त्यताको विकट भूभागलाई अँध्याराको कालो पर्दाले छोपेको हुनाले त्यसको वास्तविक स्वरूप कस्तो हुँदो हो, त्यो मार्ग भएर पहिलोपटक यात्रा गर्ने हामी कसैलाई पनि कुनै प्रकारको ज्ञान थिएन । त्यसबाट हाम्रो मनमा पहाडको विकट यात्राको डर र त्रासका कुनै किसिमका धर्साहरू कोरिन पाएका थिएनन् । फर्कँदा त हाम्रो दृष्टिले भ्याएसम्मको सन्सारभरि घामको साम्राज्य कायम थियो । त्यसले हामीलाई हेर्दैमा आङ जिरिङ्ङ फुल्ने भीरको कच्ची बाटोका अनगिन्ती मोडहरू र तिनै भीरका फेदी, पहाडका खोँचबाट तल कता हो कता मैदानमा बगिरहेको नीलो तामाकोशी, अनि अल्लि वर आइपुगेपछि हाम्रो दाहिनेतिरबाट पहाडकी रानी जिरीलाई भेट्न निकै हतारिएझैँ उत्तरपूर्वतिर दौडेको कालो नागबेली स्वरूपको पक्की सडक सबै उघ्रेको पर्दाका नाटकझैँ हाम्रा अगाडि पर्दै अनि बिलाउँदै गए । हाम्रा मन्त्रीजीहरूले नै चढ्ने खालको पजेरोमा यात्रा गर्न पाएका हामी दिनभरि भोकै कुदे पनि त्यति अत्यास लागेको भने थिएन ।

बाटैभरि म अग्रज साहित्यकार कमल दीक्षितसित निकै गफिएँ । कहिल्यै नसुनेका साहित्यसम्बन्धि कुरा सुन्न पाइयो । हामीसँगै यात्रा गरेका कपिलजी र कमलजीका चालक भने प्रायः मौन थिए, हाम्रा असल श्र्रोता । कमलजी पनि लामो बाटोका गफाडी सहयात्री पाएकोमा खुशी नै भएको अनुभव गर्थेँ म । त्यसो नभए, म कोटेश्वरबाट अर्कै गाडीमा घर जान खोज्दा मलाई त्यसो गर्न नदिई घरैसम्म पु-याउन आउने कष्ट किन उठाउँथे होलान् र कमलजीले ?

अँ, अन्त्यमा मुढेमा आइपुगेपछि एकैछिनका लागि हामीले गाडी रोक्यौँ । खरी ढुङ्गाको खानी । खरीको पहाड । खरीका कचौरा, खरीका तावा, खरीका मूर्ति, खरिका देवता र मानव कल्पनाका चल्तीका सबै कुरा खरीका । एउटा मनचिन्ते झोलाजस्तै रहेछ त्यो ठाउँ । त्यहाँका श्रमिकहरूको सीपको जादुगरीमा मुस्कुराएको रहेछ त्यो ठाउँ । के लिने होला ? यो ठाउँको चिनो केही त लिनै प-यो । मैले खरीबाट निर्मित सामानहरूमा आँखा घुमाएँ । सबै चिज निकै आकर्षक थिए, सिद्धहस्त कारिगरले बनाएका । ‘तावा लानोस्, यसमा पकाएको रोटी डढ्दैन ।’ पसले मलाई सुझाइरहेको थियो । तर मेरा आँखा एउटा सुन्दर शिवलिङ्गमा गएर अडिए । म भौतिकवादी मान्छे । म कहिल्यै पूजाआजा गर्दिन । मलाई तथाकथित ईश्वरको अस्तित्वमाथि विश्वास छैन । तर जसले यो बनायो त्यो कारिगरको कलाले भने मलाई निकै आकर्षित गरिरहेको थियो । मैले त्यो किनेँ र झोलामा राखेँ ।

विदेशीहरू नेपाललाई भूस्वर्ग ठान्छन् र तिनीहरू बर्सेनी हजारौँ, अझ भनौँ, लाखौँको सङ्ख्यामा हाम्रो देश घुम्न आउँछन् । हामी पनि के कम ? त्यै रफ्तारमा घुमकाम गर्न नसके पनि कवितामा त भन्ने नै गरेका छौँः ‘जननी जन्मभूमिश्चः स्वर्गादपि गरियसी ।’

२०६५ पुस, धापासी
(ब्राइटनान सूर्यस्नान, २०६९ फागुनबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button