कोही ‘बुर्का’ लाउन कविता लेख्छन्, कोही खोलिदिन

‘आम मानिस वास्तवमा कविभन्दा खास कवि हुन्छन् । कवि हुन खोज्नेहरुले आम मानिसका हाउभाउ र अभिव्यक्तिलाई अलिअलि समातेर अक्षरमा उतार्न खोज्ने मात्र हुन् ।’

‘म सडकको उन्मुक्त मायालाई कुकुरको माया ठान्छु, जुन कार्तिकपछि पुससम्ममा सकिन्छ । तर, उनीहरुलाई संसार कार्तिक नै कार्तिक मात्र होजस्तो लाग्छ । कार्तिकपछि मर्ने कवि र कविता कवि र कविता होइनन् ।’

‘थानकोट कट्ने बित्तिकै आहा ! कस्तो राम्रो नदीनाला भनेर चिच्याउँदै बर्बराहट गर्ने, तराईमा पहेँलपुर धान फलेको देखेर वाह ! क्या सुनखेत भनेर लेख्नेहरुका लागि कविता वाहियात विलाश नै हो । तर, त्यो तराइको सुनजस्तो फाँट देखाउन कति किसानका कति खुन पसिना र आँसु बग्यो होला, त्यो देखेर लेख्ने कविका लागि कविता बर्बराहट मात्र होइन, सचेत मस्तिष्कको हार्दिक अभिव्यक्ति हो ।’

‘के कविले यमराजलाई घुस खुवाएको छ र ? कवि मरणशील छ, अझ छिटो ।’

अन्तर्वाताका प्रत्येक पंक्ति हेडलाइनजस्ता । एक एक वाक्य महानवाणी टाइपका । कवि हुन् नि त । तर, कवि मात्र पनि होइनन् । पत्रकारिता, साहित्य, कानुन, शिक्षण, राजनीति अनि अरु पनि के के हो के के ! इन्द्रेनी जीवन जगमग ! जगमग ! फुलजस्तो कोमल र आगोजस्तो आक्रामक पनि उत्तिकै

कविका कुरामा नेपालनाम्चा प्रस्तुत गर्छ, स्वागत नेपाल

किन र केका लागि कविता लेख्नुहन्छ ?
कविता सत्ता भयो भने शासक नै महाकवि बन्छ । त्यसैले कथित कविताविरुद्ध कविता लेख्छु र शासकलाई महाकवि बन्नबाट रोक्नलाई कविता लेख्छु । श्रम र श्रमजीवीको सम्मानका लागि, जनताका लागि कविता लेख्छु ।

कविता लेखेर के हुन्छ ?
कविता नामको कविता होइन, साँच्चैको कविता लेखेर शोषकसत्ता ढल्छ । तर, जनताका लागि नलेखिएका कविता मात्र लेखेर कागजको दुरुपयोग हुन्छ । त्यो दुरुपयोग हुने कागज उत्पादन गर्न वन विनास हुन्छ ।

कवि भएर चिनिनुमा कति मजा छ ?
कवि भएर चिनिनुमा मलाई मजाभन्दा दुःख बढी भएको छ । प्लेन नदेखेका मान्छेलाई पाइलटसँग परिचय गराइदिएजस्तो लाग्छ कहिलेकाहीँ आफूलाई परिचित गराउँदा ।

कविहरु आममानिसभन्दा फरक हुन्छन् वा उनीहरु पनि आम मानिसजस्तै हुन् ?
आम मानिसहरु वास्तवमा कविभन्दा खास कवि हुन्छन् । कवि हुन खोज्नेहरुले त खास कवि अर्थात् आम मानिसका हाउभाउ र अभिव्यक्तिलाई अलिअलि समातेर अक्षरमा उतार्न खोज्ने मात्र हुन् ।

कविता यदि सत्ता हो भने यो कस्तो सत्ता हो ? र, कवि कस्तो शासक ?
ओहो ! अघि शुरुमा मैले भनेको कुराजस्तै तर केही फरक पर्यो । कविताको सत्ता र सत्ताको कविता । मैले कुरा गर्दै थिएँ । कविताका लागि कविता नै सत्ता भयो शासक नै महाकवि बन्छ । त्यसैले तिनीहरु दुवैको मलामी मात्रै हुन्छन् । कविताको सत्ता शासन सत्ता होइन, चेतनसत्ता हुनुपर्छ । त्यो मेरो आग्रह र मान्यता हो । तर, तपाईँले भन्न खोज्नु भएको विद्यमान कविताको सत्तामा शासक बनेर कविले जनताको मथिङ्गलमा यस्तरी शासन गर्छ कि त्यो करोडौं संगिनहरु भन्दा पनि बढी त्रासदरुपमा निरंकुशतापूर्वक टाँसिएर बस्छ समाजमा ।

प्रेम हुन्थेन भने पनि कविता हुन्थ्यो ? हुन्थ्यो भने त्यो कस्तो कविता हुन्थ्यो ?
म सडकको उन्मुक्त मायालाई कुकुरको माया ठान्छु जुन कार्तिकपछि पुससम्ममा सकिन्छ । तर, उनीहरुलाई संसार कार्तिक नै कार्तिक मात्र होजस्तो लाग्छ । कार्तिकपछि मर्ने कवि र कविता कवि र कविता होइनन् । तर, साँच्चैको प्रेम मायाभन्दा फरक हो । हामी देशप्रेम भन्छौं, देशमाया भन्दैनौं । त्यसैले साँच्चै प्रेम चाहिँ जरुरी छ कवितामा । प्रश्नले माया र प्रेम फरक वोध गरेको छ ।

कविताको संसार कस्तो हुन्छ ? के त्यहाँ खुशी मात्र हुन्छ र ?
कविताको संसार एउटा बुर्का लगाएको छ र अर्को बुर्का खोलिदिने योद्धाहरुको छ । कोही बुर्का लाउन कविता लेख्छन् कोही बुर्कावालाहरुको बुर्का खोलिदिन कविता लेख्छन् ।

‘कविता एक वाहियात विलाश हो’, यदि कसैले भन्छ भने, त्यसमा तपाईं के भन्नु हुन्छ ?
कविता सचेत मस्तिष्कको हार्दिक अभिव्यक्ति हो । कसैका लागि चेलीहरुको अर्धनग्न शरीर र्याम्पमा टिकट काटेर हेर्न जाने कला हुन्छ । तराईमा पेटानी मात्र बाँधेर धान गोड्ने थरुनी, धिमाल्नी, राजवशिनी दिदीबहिनी र हाम्रा आमा-फुपुहरुका लागि त्यो बाध्यता हो । थानकोट कट्ने बित्तिकै आहा ! कस्तो राम्रो नदीनाला भनेर चिच्याउँदै बर्बराहट गर्ने, तराईमा पहेँलपुर धान फलेको देखेर वाह ! क्या सुनखेत भनेर लेख्नेहरुका लागि कविता वाहियात विलाश नै हो तर त्यो तराइको सुनजस्तो फाँट देखाउन कति किसानका कति खुन पसिना र आँसु बग्यो होला, त्यो देखेर लेख्ने कविका लागि, नागबेली नदीको वर्णन गर्ने कविले नदेखेका त्यहीको मास्तिर पानी खान नपाएर काकाकुल बनेका गाउँका दुःख लेख्ने कविका लागि कविता बर्बराहट मात्र होइन, सचेत मस्तिष्कको हार्दिक अभिव्यक्ति हो । म वौद्धिक विलासको विरुद्ध छु ।

कविहरु जन्मन्छन् । तर, कहिल्यै मर्दैनन् । के यो सही हो ?
के कविले यमराजलाई घुस खुवाएको छ र ? यो भ्रममा नपरे हुन्छ । कवि मरणशील छ अझ छिटो । ऊ सबैभन्दा अल्पायु लिएर जन्मेको प्राणी हो । त्यसो त म चाहिँ हरेक कवितामा एक एक पटक मरेको हुन्छु ।

तपाईंका कविता पाठक र समाजका लागि कविता मात्र हुन् कि त्यसभन्दा बढी ?
मैले जसका लागि जतिसुकै गरे पनि अन्तिममा उसको चित्त नबुझेका दिन मलाई सोध्नेछन् कि आखिर तैले मेरो लागि के नै गरेको थिइस् र ? त्यसैले म मेरा कविताको हिसाब पाठकसँग पनि समाजसँग पनि खोज्दिनँ । हुनसक्छ केही दिन केही क्षण पढुञ्जेल र सुनुन्जेल मान्छेहरुको दिमागका कमोडिटिज हुन् कविता ।

अन्त्यमा थप केही ?
अन्त्यमा भन्नुपर्ने कुरा सुन्दा अचम्म मान्न सक्छन् मान्छेहरु । यति भन्छु कि सानो सानो काम गर्न धेरै हिम्मत चाहिन्छ । त्यसैले सानो काम हामी सबैले गरौं । त्यो सानो काम भनेको साँझ सुत्ने बेलामा आमाबाबाको गोडामा सधैं मालिस गरिदिएर सुतौं, हामी जतिसुकै ठूलो मान्छे भएको भए पनि । विहान उठ्ने बित्तिकै पितृलाई सम्झेर ढोग गरौं, बुबाआमालाई पनि । आफू सुतेको ओच्छ्यान आफैँ मिलाऔं । कम्तिमा आफूले खाना खाएको भाँडा आफैँ सफा गरौं । र, आफूले लगाएको कपडा आफैँ धुने गरौं । के सक्छौं हामी सबै परिवारका यसो गर्न ? त्यो नै महान कविता हो । हामीले त्यसो गर्न थाल्यौं भने हाम्रा परिवारका सबै सदस्यको मनमा एक पटक एउटा कविता उम्रिने छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button