मुस्ताङ मान्छे भएको भए कस्तो हुन्थ्यो होला ?

देशको समग्र चित्र कोर्ने ‘नेपालनाम्चा’को राष्ट्रिय अभियान ‘७७’ मा जोडिएर आफ्नो माटोप्रति अगाध प्रेम प्रकट गर्नुभएकोमा मुस्ताङका रोशन शेरचनलाई धन्यवाद ।

१. तपाईंको जिल्लाको कुरा गर्दा, सबैभन्दा पहिला तपाईंको मनमा के आउँछ ?
सबैभन्दा पहिला धौलागिरी आइसफल, आइसफल मुन्तिरको गुरुसाङ्वो गुफा, कालीगण्डकी बगर, नरसाङ गुम्वा र परिश्रमी मुस्ताङवासीहरुको तस्बिर मनमा आउँछ । गुरुसाङ्वो गुफामा आठौं शताब्दिमा पद्मसंभव वा गुरु रिम्पोचेले ध्यान गरेको विश्वास गरिन्छ ।

२. यहाँ जन्मिएकोमा तपाईं कस्तो अनुभुति गर्नु हुन्छ ?
यस्तो सुन्दर ल्याण्डस्केपमा जन्मेकोमा भाग्यमानी सम्झन्छु । धूपी र सल्लालाई छोएर वहने सुगन्धित वतास र धौलागिरीवाट बग्ने चिसो पानी सम्झनामा जिवित छ । मुस्ताङमा जन्मे पनि अधिकांश बर्षहरु मुस्ताङबाहिर बिताउनु परेको सम्झदा संवेदित हुन्छु । रिक्तता अनुभव हुन्छ ।

३. बाहिरबाट आउने मान्छेलाई यो चाहिँ हाम्रो ठाउँ हो भनेर देखाउन मन लाग्ने ठाउँ कुन हो ?
त्यस्ता ठाउंहरु धेरै छन् । नाउरीकोटबाट एक घण्टामै पुगिने गुरुसाङ्वो गुफा, थासाङ पालिकामा अवस्थित सुन्दर भूुतुरछो ताल, मार्चे र नुप्साङजस्ता लेकाली खर्क, मुक्तिनाथ मन्दिर, लुप्रको बोन गुम्बा, छोसेरको झोङ गुफा आदि ।

४. तपाईंलाई आफ्नो जिल्लाको कुन कुरामा सबैभन्दा गर्व लाग्छ ?
तुलनात्मक रुपमा मुस्ताङवासीले आफ्ना गाउंठाउं, बाटाघाटा, घरआँगन, गुम्बा, मन्दिर र सार्वजनिक स्थल सफासुग्घर राखेकोमा गर्व लाग्छ । धेरै आन्तरिक पर्यटकहरुवाट मैले सुनेको छु– यस्तो दुर्गम ठाउँ पनि कति सफा ! कडा परिश्रम गर्ने बानी र अतिथी सत्कार अर्को गर्व गर्ने पक्ष हो । अत्यन्त चिसो र कडा हावावतास माझ कृषि, पशुपालन, व्यापार र पर्यटनमा लागि पर्ने मुस्ताङवासी सम्झदा आनन्द लाग्छ । त्यसैले मुस्ताङ वा अन्नपूर्ण संरक्षण क्षेत्रको परिचय विश्वव्यापी छ । अथितीलाई सत्कार गर्नेदेखि लिएर, विश्वासिलो सुचना दिने, मिठो ख्वाउने, सुरक्षाको सवालमा संवेदनशील हुने र आपतमा सहयोग गर्न अगि छन्, मुस्ताङवासीहरु ।

५. धेरैले थाहा नपाएको तर तपाईंले महसुस गरेको यो जिल्लाको खास विशेषता के हो ?
मुस्ताङ जिल्लाको अधिकांश गाउँवस्ती कालीगण्डकीको किनारमा अवस्थित छ । यो ऐतिहासिक नुन व्यापार मार्ग (सल्ट ट्रेड रुट) हो । अथिती सत्कारको जग प्राचीन कालदेखि बसेको हो । हाल त्यसखाले व्यापार रोकिएको छ तर पनि भारत र चीन विचको व्यापारको एउटा महत्वपूर्ण ट्रान्जिट मुस्ताङ नै हो । मुस्ताङको अर्को विशेषता हो, पुरातात्विक र सांस्कृतिक सम्पदा । बोन र तिब्बतन लामावाद्को उर्बर भूमि । सानो बोन बस्ती लुप्र । सडकवाट केहि भित्र पर्ने भएकोले लुप्र धेरैले छुटाउँछन् । साथै हजारौ बर्ष पुरानो चुंग्सी गुफा, झोङ र लुरी गुम्वा ।

६. यदि तपाईंको जिल्लालाई एउटा मानिसजस्तै सोच्नुपर्यो भने, कस्तो स्वभावको हुन्छ ?
मान्छे भएको भए शायद परिश्रमी र नयाँ ठाउं घुम्ने, पुग्ने, अवसरको खोजी गर्ने एक्स्प्लोरर स्वभावको हुनेछ, मुस्ताङ । अलि अलि झोकी टाइपको पनि हुन्थ्यो होला, हिमालको चिसो पानी पिएकोले ।

७. भविष्यमा तपाईंको जिल्ला कस्तो भएको देख्दा तपाईं खुशी हुनुहुन्छ ?
अग्रणी पर्यटकिय जिल्ला भएकाले मुस्ताङले वातावरणीय मैत्री पर्यटन अपनाए म खुशी हुनेछु । त्यो भनेका कम्तिमा पनिः
–मुस्ताङलाई विषादीरहित बनाउने । अन्नबाली, फलफुल खेती र सागसब्जीमा विषादीको प्रयोग नगर्ने ।
–मुस्ताङवासी यति सचेत बनोस् कि घर, होटल, रेष्टुरेन्ट र सरकारी भवनहरु आरसीसी नबनाऊन । बरु ¥याम्प अर्थ वा स्थानीय निर्माण सामग्रीवाट ल्याण्डस्केपलाई सुहाउँदो भौतिक संरचनाहरु बनाऊन ।
–मुस्ताङ्मा डिजेल गाडीहरु नचलाउने वा चलाउन रोक लगाउने । प्रदूषणमुक्त मुस्ताङ ।
–कालीगण्डकी र सहायक खोलाहरुमा शौचालयको ढल नमिसाउने । काली गण्डकीलगायत अन्य खोलालाई पूर्णत स्वच्छ बग्न दिने ।
–मुस्ताङवासीले आन्तरिक वा अन्तराष्ट्रिय पर्यटक, अतिथी वा आगन्तुकलाई सफा ह्दयले स्वागत सत्कार र सहयोग गरोस् । अतिथी, पर्यटक वा आगन्तुकले अरुलाई भनून्– मुस्ताङ घुम्न जानुस् । ठाउं जति सुन्दर छ, मुस्ताङवासी त्यतिकै सह्रदयी छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button