कविता: तिमीलाई देखेपछि !

विमल नेपाल

टिम टिम टिम टिम
आकाशमा चम्कने ताराहरु
आजभोलि मनमा पनि चम्किन थाले
सूर्य र चन्द्रले मात्र होइन
धर्तीमा, ताराले पनि उज्यालो छर्न थाले !
तिमीलाई देखेपछि !

टिम टिम टिम टिम उत्तरमा चम्किने
ध्रुब तारा मलाई हजुरआमाले
चिनाउनु भएको थियो बालकैमा,
अक्षर चिनेपछि
आमाले सप्तर्षि नअस्ताउदै उठ्न सिकाउनु भयो
त्यसपछि नै हो मलाई पनि
आकाश मनमोहक लाग्न थालेको
तारा गन्दै अन्धकारमा
काल्पनिक चित्र बनाउदै
आफैलाई बिर्सन थालेको !
किशोर हॅुदा बाबाले

टिम टिम टिम टिम चम्किने
त्यही तारागणको बीचमा
राशि र समय चक्रको
क्यालेन्डर सुझाउनु भयो,
स्कूलमा गुरूले आकाशगंगा बुझाउनु भयो

आज अकस्मात मेरो स्वतन्त्र र बयस्क चक्षुले
कसैले नदेखेको, कसैले पत्ता नलगाएको
एउटा तारा देखें
अरबौं तारा मण्डलको एक कुनामा
सुन्दर, शान्त र दिव्य !

यो तारा मेरो लागि
ध्रुवतारा भन्दा पनि उज्यालो छ
सौर्य मंडलभन्दा पनि दिव्य छ
आकाशगंगा पनि फिक्का छ,
चमत्कारै भयो
जुन दिन मैले हृदयबाटै नयॅा तारा देखें
अरु ताराहरुले पनि
धर्तीमा उज्यालो छर्न थाले!
तिनै ताराहरूले अर्केष्ट्रा समेत गाउन थाले !

टिम टिम टिम टिम
आकाशमा चम्कने ताराहरु
आजभोलि मनमा पनि चम्किन थाले !
सूर्य र चन्द्रले मात्र होइन
धर्तीमा, ताराले पनि उज्यालो छर्न थाले !
तिमीलाई देखेपछि !

१४ जनवरी २०२१
क्याम्ब्रिज, म्यासाच्यूसेट्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button