आमाको होटल र बाबुको लजमा बसेको ऊ

मजदुर

अर्जुन दाहाल

सदैव
आमाको होटल र बाबुको लजमा बसेको ऊ
मेहेनत के हो
उसले कहिल्यै बुझेन ।

एक दिन उसले गाउँमा डुल्ने जोगीलाई
आफ्नो अगाडि रोकेर सोध्यो
‘बिना मेहेनत कसरी बाँच्ने गुरु ?’

जोगीले उसको अल्छिपनालाई बुझे
अनि जवाफ दिए
‘कठोर तपस्या गर ।’

ऊ खुसी भयो
तपस्या गर्दा न त खानु पर्ने
न त पिउनु पर्ने
न त कुनै काम गर्नु पर्ने ।

उसले कठोर तपस्या गर्यो
अनि उसको तपस्यादेखि
भगवान प्रसन्न भएर
उसको अन्तर्मनमा आएर भने
‘बालक के इच्छा छ, वरदान माग ?’

उसले माग्यो
‘मेहेनत कहिल्यै गर्नु नपरोस् ।’

तब भगवानले खुसी साथ उसलाई भने
‘सदैब तपस्यामा लीन होऊ ।’

उसले प्रश्न तेर्स्यायो भगवानलाई
‘किन भगवान ?’

भगवानले उत्तर दिए
‘संसार मेहेनत र मजदुरले चलेको छ
तिमीले मेहेनत साथ तपस्या गर्यौ
त्यो तिम्रो मजदूरी थियो
भक्त भगवानको मजदुर हो
जसरी मजदुरले काम गरे बापत ज्याला पाउँछ
त्यसैगरी भक्तले भक्ति गरेबापत कर्मको फल पाउँछ ।
भगवान पनि भक्तको मजदुर हो
किनकी भक्तको काम भगवानले गर्नु पर्छ ।’

उसलाई भगवानको कुराले मन छोयो
अनि मनमनै भन्यो
‘यो भगवान त कम्युनिस्ट रहेछन्
अब अर्कै भगवानको तपस्या गर्छु ।’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button