ऐनामा अनुहार होइन, भकुण्डो देख्न थालेको छु
प्रज्ञा अर्याल
आजभोलि म रंगहरु नचिन्ने भएको छु
शब्दहरू समाजलाई अनुदान गरिसकेको छु
मस्तिष्क डोर्याउने बागडोर समयलाई दिएको छु
आफ्नो स्वाभिमान बिक्रीमा राखिसकेको छु ।
कहीँ कतै बोल्नै पर्दा शब्दहरू ऋणमा लिन्छु
ब्याज तिर्ने हैसियत दबाएकी छु त्यसैले ऋण कम लिन्छु
म हातखुट्टा बाँधिएर थाममा कसिएको छु
ऐनामा अनुहार होइन, भकुण्डो देख्न थालेको छु ।
शहरका हरेक गल्ली गल्ली मेरा लागि सँघुरिएका छन्
सडकहरू बिल्कुल एकतर्फी गन्तव्यहीन हुँदैछन्
श्वास लिन खोज्छु, छातीको ऐंठन फुकाउन सक्दिनँ
आफ्नाबाट ठगिएको म आफन्तसँग झस्किन्छु ।
आँखीझ्यालबाट चिहाएर यसो हेर्न के खोज्छु
सडकमा आफ्नै चित्कारका नारा जुलुस देख्छु
आफ्नो इज्जत र स्वाभिमानको तिलाञ्जली गरिसकें
केवल पुर्खाको इज्जतको लागि बाँचिरहेको छु ।
म बाँचेको आभास मेरा पुर्खालाई गराउन चाहन्छु
विभिन्न हिंसाविरुद्ध अग्रपंक्तिमा उभिन चाहन्छु
चर्को स्वर, नारा जुलुस अनि बुलन्द भाषण
हिंसा विरुद्धको मूल मन्त्र जपिरहन्छु म ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)