रोई रहेछ माटो जन्मेन योग्य छोरो, कोही त झट्ट आओस् पुछ्ने छ आँसु मेरो

गीत: मातृभूमिको वेदना

घनश्याम रेग्मी

रोई रहेछ माटो जन्मेन योग्य छोरो
कोही त झट्ट आओस् पुछ्ने छ आँसु मेरो ।

मेरा छिमेक जम्मै गर्छन् विकास देश
सन्तान छन् लुतेरा च्यातेर नाश भेष
पानी सबै सकेछन् बेचेर बारबार
सीमा अझै लुछेका जङ्घार वारपार ।
रोई रहेछ…
कोही त झट्ट….१

जो माथि माथि आए मेरै लुछेर छाती
पोस्छन् अझै छिमेकी गद्दार देश घाती
गर्लान् विकास भन्दै छाती निकै चुसाएँ
यी पातकी सहूँ के देखी यिनी अघाएँ ।
रोई रहेछ…
कोही त झट्ट…२

कालो थियो व्यवस्था फालेर घाम खोजेँ
आफैँ चुनी पठाऊ स्वतन्त्रता दिलाएँ
आफन्तमात्र हेर्छौ बाँकी रहे कि भोका
विश्वास त्यो थियो जो सम्पूर्ण नै छ धोका ।
रोई रहेछ…
कोही त झट्ट…३

हत्या र मार गर्नै चाहन्नथेँ म कत्ति
मारेर भाइ आफ्नै हड्प्यौ भयौ असत्ति
खोलो नयाँ बगायौ होली नयाँ मनायौ
स्वच्छन्द छौ भनेथेँ साह्रै तिमी गह्नायौ ।
रोई रहेछ…
कोही त झट्ट…४

सत्ता र स्वार्थ तिम्रा झन् झन् अझै बढेका
छन् भ्रष्ट उच्च नेता सर्कारमा बसेका
बन्दुक जो चलायौ भाला र अग्नि ज्वाला
मेरो सराप लाग्ला त्यो ठीक हैन चाला ।
रोई रहेछ…
कोही त झट्ट…५


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button