
कुखुरा हराइरह्यो, फेरि पनि स्याल कराइरह्यो
टंक सुवेदी
कुखुराको खोरबाट अनौठो आवाज आयो
पारी पाखामा कोदोको नल सल्बलायो
सबैले भन्न थाले आखा फर्फरायो
मौसम बिरानो
गाउँ बिरानो
केही हराए जस्तो
केही गुमाए जस्तो
केही भत्किए जस्तो
कतै अड्किए जस्तो
कुखुरा हराइरह्यो
फेरि पनि स्याल कराइरह्यो ।
रिति मिति कुरिती र स्थितिका बीचमा
कल्पनाको बुइचढी यथार्थको त्यान्द्रो समाउदा
कतै चढेजस्तो कतै झरेजस्तो दृश्य रअदृश्य
मन बिरानो
नाता बिरानो
कतै गए जस्तो
के के न भएजस्तो
रुञ्चे हासोजस्तो
मन वचन डढिरह्यो
तासको महल ठडिरह्यो ।

गाउँ र शहरको खाडल तोड्नलाई
धनी र गरीबको सम्बन्ध जोड्नलाइ
धेरैले गाउँ छोडेर सहर पसिसके
खाल्डा पुर्नलाइ
कनिका छर्नलाइ
के बाकी राखेनन
परेको गर्नलाई
टसमस चलेन
शहर गलिरह्यो
मन जलिरह्यो ।
धन नभएका मनकारी र मन नभएका धनी
सरकार पाल्न वैदेशिक रिण गरीबलाई बनी
कति त परदेश भासिए मनै नभए पनि
गर्जो टार्न
पीडा सार्न
खाटो बार्न
आफ्नो पार्न
सेखी झार्न
मन जलिरह्यो
देश गलिरह्यो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



