
देवकोटा प्रश्न अनि दवकोटै उत्तर
मानव जीवनमा प्रमुख प्रश्नहरू र तिनका उत्तरहरू
महेशपराग न्यौपाने
नेपाली साहित्याकाशमा महाकविको उपाधिले विभूषित श्री लक्ष्मीप्रसाद देवकोटा समग्र नेपाली जनजीवनकै एक उज्ज्वल नक्षत्र पनि हुन् । नेपाली साहित्यलाई आफ्ना अमूल्य कृतिहरूले अपार धनी र सम्भावनायुक्त बनाएर नेपाली साहित्यमा स्वच्छन्दतावादलाई सफल रूपले भित्र्याउने श्रेय उनैलाई जान्छ । त्यतिमात्रै नभएर नेपाली समाजलाई चेतनाको दियो बाल्नका निमित्त प्रोत्साहित गर्ने देवकोटाले २००७ सालको क्रान्तिताका लेखेका जागरणका गीतदेखि लिएर सामान्य जनजीवनमा समेत प्रभाव पर्ने गरेर धर्म , दर्शन , मानवता ,उन्नत समाजको हुनुपर्ने गुणहरू समेत आफ्ना कृतिहरूमा समावेश गरेर नेपाली समाजको साथै यो भूमण्डलमा अतुलनीय योगदान दिएको कुरा उनका कृतिहरूलाई अध्ययन गर्दै जाँदा पाउन सकिन्छ । विक्रम संवत १९६६ सालको कात्तिक २७ गते जन्मिएका देवकोटा विक्रम संवत २०१६ भदौ महिनाको २९ गते साँझको समयमा पशुपतिनाथ, आर्यघाटमा अस्ताए । संसारलाई ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक ‘ भनेर महान् उद्देश्य लिनका लागि प्रोत्साहित गरेका देवकोटा अन्तत: रूसी स्पुतनिक यानले चन्द्र सतह टेकेकै दिन सदा सदाका लागि अस्ताएर गए ।

उनैले आफ्नो प्रश्नोत्तर कवितामा मानवजीवनका अनेक प्रश्नहरूमध्ये प्रमुख प्रश्नहरूलाई लिएर जीवनमा सुखको आभास गराउँदै जीवनलाई कसरी सुखी अनि समृद्ध बनाउन सकिन्छ भन्ने उत्तर दिएर गएका छन् । बाल्यकालमा विद्यालय शिक्षाका क्रममा पढेको भए पनि मेरा मस्तिष्कमा अझै पनि त्यो कविता झल्झली याद आउँछ। सोही कवितालाई लिएर मानवजीवनका प्रश्नहरू र त्यसका उत्तरहरूको एक व्याख्या लेख्ने कोसिस गरेको छु । प्रस्तुत छ – महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित प्रश्नोत्तर कविता र त्यसको भावार्थ –
‘के हो अहो! अमृत त्यो सुरदेव पान ?’
‘सच्चा कमाइ गरिखानु भनेर जान ।’
‘खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ ?
‘आफू मिटाइ अरुलाई दिनु जहाँ छ ।’
‘पाइन्न शान्ति किन हो? कुन ठाउँ मिल्छ ?’
‘तर्किन्छ त्यो रूखमनी, जुन साथ मिल्छ ।’
‘देखिन्छ ईश कुन मन्दिरमा पसेर ?’
‘त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर ।’
‘यस्तो रहस्यमय जीवन बुझ्नलाई,
जानू कहाँ? पढनु के? गुरु को बनाई ?’
‘फुल्दो (खुल्दो) गुलाबबिच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई सब तत्व खुल्छन् ।’
‘कर्तव्य के छ जनको, यति छन् विरोध ?’
‘नक्षत्र हेर नभमा, दिलसाथ सोध !’
‘के हो ठुलो जगतमा?’
‘पसिना विवेक’
‘उद्देश्य के लिनु?’
‘उडि छुनु चन्द्र एक।’
प्रस्तुत कवितामा मानवजीवनका कठिन प्रश्नहरूलाई समावेश गरेर एक सुखी जीवन दिने कोसिस गरिएको छ। प्रस्तुत कवितामा जीवनका प्रश्नहरू राखेर त्यसको सहज उत्तर दिएको पाइन्छ। ती ८ प्रश्नहरू यस्ता छन्-
१) देवताहरूले पान गर्ने भनिएको अमृत कस्तो हो ?
२) सबैले खोज्ने सुख कहाँ छ ?
३) शान्ति किन पाउन नसकिएको ? त्यो शान्ति कहाँ पाइन्छ ?
४) कुन मन्दिरमा पसेर ईश्वरको दर्शन पाउन सकिन्छ ?
५) रहस्यमय जीवन बुझ्नलाई कहाँ जाने ?के पढ्ने ? गुरु कसलाई बनाउने ?
६) अनेकौं विरोधाभास भएको समाजमा जन(मान्छेको)को कर्तव्य के हो ?
७) जगतमा सबैभन्दा ठूलो चीज हो ?
८) उद्देश्य के लिने ?
यस्ता प्रश्नहरूलाई अघि सारेर समाजलाई सुखी रहेको देख्न चाहने देवकोटाले जीवनलाई उन्नतशील र सुखी बनाउने महामन्त्रकै रूपमा प्रश्नोत्तर कविता संसारलाई दिएर विपुल गुण लगाएका छन्
माथिका ८ प्रश्नहरूको क्रमैसँगको उत्तर –
१) देवताहरूले पान गर्ने भनिएको अमृत कस्तो हो ?
भनिन्छ, स्वर्गमा अमृत छ र त्यसको पान गरेर देवताहरू अमर रहन्छन् । धर्तीमा पनि त्यस्तै अमरत्व दिने अमृत के हो र त्यसको स्वरूप कस्तो छ ?
सच्चा कमाइ गरिखानु नै जीवनको /धर्तीको सच्चा अमृतत्व हो । सकिन्छ भने आशा रहित भएर गरिने कर्म जसले पुनर्जन्म हुँदैन र दुख पनि दिदैन , त्यस्तो कर्म गरेर अघि बढ्नु राम्रो हुन्छ । यदि आशारहित्य भएर निष्कर्म गर्न सकिंदैन भने सकाम कर्म गर्दा पनि हुन्छ तर त्यो कर्म स्वार्थराहित्य भएर रहनुपर्छ । स्वार्थले भरिएको जीवन राक्षसी जीवन हो । अरूलाई हानि नगरी आफ्नो कर्म सम्पन्न गर्नु नै जीवनको सच्चा अमरत्व हो । यो आशय ‘ईशावास्योपनिषद्’ सँग पनि मेल खान जान्छ । सकेसम्म निवृत्तिमार्गमा जानका लागि प्रेरित गर्दै सद्धर्म थामेर निष्कर्म गर्नका लागि प्रेरित गरिएको छ। यदि त्यस्तो गर्न नसकेको अवस्थामा सकाम कर्म गरेर जानको लागि प्रेरित गरिएको छ । ईशावास्योपनिषद् श्लोक १ र २ |
२) सबैले खोज्ने सुख कहाँ छ ?
संसारमा सुख छैन भनिन्छ । संसार दुखैदुखले भरिएको छ भन्छन् । यस्तो अवस्थामा पनि हाम्रा पूर्वजहरूले जीवनमा सुखको परिकल्पना गरेको पाइन्छ । सबैले खोजी हिंड्ने त्यो सुख कहाँ छ ? त्यो सुखको प्राप्ति कसरी हुन सक्छ ?
संसार वास्तवमै दुखैदुखले भरिएको छ तर पनि हाम्रा पूर्वजहरूले गरेका परिकल्पनाअनुसार सुख -दुख सबै मनको खेल हो । मनलाई आनन्द आउने कर्म गरेर नै जीवनमा सुखको प्राप्ति गर्न सकिन्छ । व्यक्तिगत स्वार्थबाट विमुख भएर परार्थमा रहेर कर्म गर्नु नै जीवनको सच्चा सुख हो । सर्वत्र जीवभावले /आत्मभावले देख्न सकेको खण्डमा जीवनको सच्चा सुख पाइन्छ । संसार एक ऐना पनि हो । मान्छे आफू जस्तो छ अरूलाई पनि त्यस्तै देख्ने गर्छ । त्यसैले सबैमा समभावले देख्न सकेमा र परोपकार गर्दै जीवनलाई अघि बढाउन सकेको खण्डमा जीवनको सच्चा सुख मिल्ने निश्चित छ । स्वार्थ नै मृत्यु हो। स्वार्थ नै दुखको भण्डार हो । त्यसैले स्वार्थ छोडेर परार्थतर्फ अघि बढ्न सकेको खण्डमा जीवनमा सुखको प्राप्ति हुन सक्छ ।
३) शान्ति किन पाउन नसकिएको ? त्यो शान्ति कहाँ पाइन्छ ?
स्वार्थले भरिएर रहँदा, परपीडन गर्दा जीवन अशान्त भएको हो । सांसारिक आसक्तिमा फस्दा, मोहको निवृत्ति हुन नसक्दा संसारमा शान्तिको सर्वथा अभाव भएको देख्न सकिन्छ जसले गर्दा आज प्रत्येक मान्छे दुखी छ । उसको जीवनमा सुख-शान्तिको नामसम्म पनि छैन । भौतिक चीजले भरिएर रहँदा पनि उसको मनमा कुनै किसिमको शान्ति नहुँदा आज मान्छे विक्षिप्त अवस्थामा रहेको पाइन्छ । यस्तो विक्षिप्त अवस्थाबाट मुक्तिको लागि ईश्वरको समीपमा जानुपर्छ । जहाँ मान्छेले आफ्ना सबै कुराहरू धित मर्ने गरेर खुलेर पोख्न सकोस् । आफ्ना मनमा भएभरका कुराहरू गुम्स्याएर राख्दा नै मान्छे विक्षिप्त बन्न पुगेको हो । ईश्वर नै संसारका वृक्ष हुन् । ईश्वरका समीपमा जानु भनेको अहमताको त्याग हो । आशाराहित्य भएर ईश्वरमा सबै कर्म अर्पण गर्दा मात्रै मान्छेले जीवनमा शान्तिको महसुस गर्न सक्छ । त्यसैले मान्छेले जीवनमा शान्तिको महसुस प्राप्त्यर्थ ईश्वरका चरणमा पुग्नु पर्छ ।
त्यसो भए ईश्वरको दर्शन कता पाउन सकिन्छ ? कुन मन्दिरमा जाँदा ईश्वरलाई पाउन सकिन्छ त ?
४)कुन मन्दिरमा पसेर ईश्वरको दर्शन पाउन सकिन्छ ?
ईश्वरलाई खोज्न कुनै मन्दिर-गुम्बा वा चर्च-मस्जिद जानु पर्दैन । ईश्वर त सर्वव्यापक रहेका छन्। सर्वव्यापक रहेका ईश्वरलाई कुनै एक निश्चित स्थानमा मात्रै पाउन सकिन्छ भन्ने ठान्नु केवल मूर्खता मात्रै हो । ईश्वर त प्रत्येक जीवमा आत्मस्वरूपले स्थित हुनुहुन्छ । त्यस्तो ईश्वरलाई मनुष्यले आफ्ना पवित्र मनले मात्रै दर्शन गर्न सक्ने योग्यता राख्ने गर्दछ । पवित्र मन हुनेहरू बालकझैं रहन्छन् । हाम्रो त सभ्यतामै पनि बालकहरू ईश्वरका रूप हुन्छन् भनिएकै पनि छ । कोमल-शान्त-शुद्ध -निष्पाप मनले नै ईश्वरको दर्शन गर्ने सामर्थ्य राख्तछ। शुद्ध मनको आसनमा बसेर ईश्वर सदैव प्रफुल्लित मुद्रामा रहन्छन् । त्यहि ईश्वरको समीपमा गए वा समाहित हुन सके मान्छेले जीवनमा शान्ति प्राप्त गर्न सक्तछ ।
५) यस्तो रहस्यमय जीवन बुझ्नलाई कहाँ जाने ? के पढ्ने ? गुरु कसलाई बनाउने ?
जीवन त निकै रहस्यले भरिएको रहेछ । मान्छेले आफैंभित्रको ईश्वरलाई चिन्न नसकेर भौंतारिएको रहेछ । सबैकुरा त आफू भित्र नै रहेको रहेछ । अनि यस्तो रहस्यमय जीवन बुझ्नका लागि कहाँ जाने ? के पढ्यो भने जीवनको रहस्य थाहा हुन सक्छ ? कसलाई गुरु बनाएर पढ्न सकेमा जीवनका रहस्यहरू अनावृत हुन्छन् र जीवन बुझ्न सहज होला त ?
जीवन बुझ्ने चाहना राख्ने मान्छेले कहीं कतै गएर भौंतारिनु पर्दैन। जीवनलाई सहज अनि सरल ढंगले बुझ्ने चाहना छ भने उद्यान (बगैंचा) मा गएर बस्नु पर्नेछ । त्यहीं नै जीवनका सबै रहस्यहरू अनावृत हुनेछन् ।
बगैंचामा त्यस्तो के छ र ? जसले गुरुबिना नै ज्ञान दिन सकोस् ? बगैंचा केवल बगैंचा मात्रै नभएर त्यो समग्र प्रकृति पनि हो । जसरी बगैंचामा फूलहरू कुनै फुलिरहेका, कुनै ओइलाएर झारिरहेका, कुनै कोपिला लाग्दै गरेका देखिन्छन् । त्यस्तै फूलको बोटसँगै काँडा पनि रहेको, जीवनसँगै मृत्यु पनि साथमै रहेको, समानता र असमानता दुवै विद्यमान रहेको, गुण र अवगुण दुवै विद्यमान रहेको ज्ञान सबै कुरा बगैंचामा नै पाउन सकिन्छ । बगैंचा केवल बंगैचा मात्रै नभएर समग्र प्रकृति हो, समग्र विश्वब्रह्माण्ड नै हो । विश्वब्रह्माण्डको एक सूक्ष्म रुप नै बगैंचा हो । त्यहि बगैंचामा गएर प्रकृतिको बारेमा बुझ्न सकिन्छ । नियतिका खेलहरू बुझ्न सकिन्छ । त्यहि नै समग्र जीवनको ज्ञान हुनेछ । नश्वर संसारको यथार्थ ज्ञान त्यहि बगैंचामा रहेका फूलहरू, बोटबिरुवाहरू हेरेर पनि बुझ्न सकिन्छ । त्यसैले संसारको सबैभन्दा उत्तम गुरु नै बगैंचा अर्थात् प्रकृति हो । प्रकृतिदेखि पर अर्को कुनै महान् गुरु हुन सक्तैन । प्रकृतिको काखमा गएर नै आफूलाई बुझ्न सकिन्छ ।
६) अनेकौं विरोधाभास भएको समाजमा जन (मान्छे) को कर्तव्य के हो ?
समाज अनि संसार नै अनेकौं विरोधाभास भएको पाइन्छ । कसैको के शून्यवाद, कसैको अद्वैतवाद, कसैको आस्तिकवाद, कसैको नास्तिकवाद । यस्तो विरोधाभास विद्यमान रहँदा कहाँ गएर के पढ्ने ? कुन कुराको अवलम्वन गर्ने ? यस्तो अवस्थामा मान्छेको कर्तव्य के हुन सक्छ ?
संसार रङ्गीन छ । जति रङ्गीन छ त्यति नै विरोधाभासपूर्ण पनि छ । जस्तो आकाशमा अनगिन्ती नक्षत्रहरू विद्यमान छन् तर पनि सबैको महत्ता आफ़्नाआफ़्ना स्थानमा छन् त्यस्तै गरेर संसारमा भएका सबै वादहरू-दर्शनहरूको महत्ता आफ्नाआफ्ना स्थानमा ठीक नै होलान् । आकाशमा हेरेर कुनै एक नक्षत्र चयन गर्नु पर्यो भने कुन नक्षत्रलाई चयन गर्ने ? जो मनमा आयो, त्यहि नै चयन गर्ने हो । जुन आफूलाई ठीक छ जस्तो लाग्छ त्यहि दर्शन/वादलाई नै अवलम्बन गरेर हिंड्नु नै मान्छेको प्रमुख कर्तव्य हो । आफूलाई सहि लागेको मार्गमा चल्न पाउनु मानिसको नैसर्गिक अधिकार पनि हो । दिलमा हात राखेर सोच्दा जुन विचार दिलले सहि भन्छ त्यहि विचारमा अघि बढ्नु नै मानव जीवनमा प्रमुख कर्तव्य मान्न सकिन्छ ।
७) जगतमा सबैभन्दा ठूलो चीज हो ?
संसारमा अनेकौं वादहरू/दर्शनहरू भए पनि तिनीहरू सबैले कि त पसीना अर्थात् कर्मलाई प्रधान मानेको पाइन्छ कि त (विवेक) ज्ञानलाई नै प्रधान मानेको पाइन्छ । कसैकसैले ज्ञानकर्मसमुच्चयको अवस्थालाई पनि मानेको पाइन्छ तर समग्रमा संसारमा सबैभन्दा ठूलो चीज ज्ञान र पसीना नै हुन् । कसैले कर्म गरेर नै जीवन चलाउनु पर्छ भन्छन् भने कसैले विवेकले सहित भएर जीवन चलाउनुपर्छ भन्छन् । त्यस्तै कसैले ज्ञान र विवेक दुवैका साथमा अघि बढ्नुपर्छ भन्ने गर्छन् तर गहिरिएर हेर्ने हो भने मानव जीवनमा वा संसारमा ज्ञान वा कर्मदेखि अतिरिक्त अर्को कुनै ठूलो चीज हुने सक्तैन ।
त्यसो हो भने …
८) उद्देश्य के लिने ?
संसारमा मान्छेको उद्देश्य के हो ? उद्देश्य राख्ता मान्छेले कस्तो उद्देश्य राख्नु पर्छ ?
उद्देश्य उडेर चन्द्रमासम्म छुनु अर्थात् उद्देश्य महान् बोक्नुपर्छ । उद्देश्यविहीन भएर संसारमा रहन / व्यवहार चलाउन सकिदैन । संसारमा सम्मानपूर्वक बाँच्नका लागि पनि उद्देश्य सहितको जीवन हुनु पर्छ । जीवनमा उद्देश्य हुन सकेन भने सारा जीवन नै व्यर्थ जानेछ र ठूलो पश्चात्तापमा पर्नुपर्ने हुन्छ । त्यसैले जीवनको अन्तिममा गएर पश्चात्तापमा जल्नुभन्दा पनि बेलैमा एक राम्रो,सबैको भलाई हुने खालको र महान् लक्ष्य मानिसले बोक्नुपर्ने देखिन्छ । उडेर जून नै छुन त नसकिएला तर रविसमेत पुग्न नसक्ने स्थानमा कवि पुग्ने गर्छन् । जीवनमा मोक्ष केवल ज्ञानमार्फत् मात्रै पाउन सकिन्छ । महानतम ज्ञानका प्राप्तिको कोसिस गर्नु , सद्धर्म थामेर गरिने त्यस्ता महान् सांसारिक सुख-दुखबाट मुक्ति दिने खालको ज्ञान प्राप्त गरेर संसारलाई एक उचित मार्गमा डोहोर्याउने खालको उद्देश्य बोकेर अघि बढ्नुपर्ने हुन्छ । जति नै दुष्कर कार्य नै किन नहोस, यदि आफूलाई योग्य लाग्छ र त्यसले सबैको भलाई गर्ने छ भन्ने लाग्छ भने त्यस्तो उद्देश्य प्राप्तिमा पछि पर्नु हुँदैन । एक बारको मानव जुनीमा सर्वोपयोगी लक्ष्य लिन सकिएन भने जीवन खेर जाने कुरा यस कवितामा बुझाउन खोजिएको पाइन्छ ।
विद्यालयमा कक्षा ८ मा पढेको यो कविता अझै पनि म झल्झली सम्झिरहन्छु । आजका दिनमा पनि यो कविताको महत्त्व कहिल्यै नघटेको र सदावहार समभावले मानव जीवनलाई एक सच्चा मार्गमा घच्घच्याईरहेको महसुस मैले गर्ने गरेको छु । यो कविताले समग्र मानव जीवनका कठिन प्रश्नहरूलाई समेटेर एक उन्नतशील जीवन जीउनका लागि प्रेरित गर्ने र अध्यात्मपरक पनि रहेको बुझ्न सकिन्छ ।
गच्छत: स्खनलं क्वापि भवत्येव प्रमादत: ।
हसन्ति दुर्जनास्तत्र: समादधति साधव: ।।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



