जहाँ ग्रामीण जनजीवन र विद्रोही बन्ने आधार पाइन्छ

उपन्यास प्रतिकृया

वासुदेव थापा

साउन मासको रुन्चे आकाशले अश्रुधारा बर्षाइरहेको थियो । सडक, गल्लीहरू हिलाम्मे थिए । पङ्क्तिकार पत्रिकाको कामको सिलसिलामा राजधानी सहर छिरेको थियो । अस्तव्यस्त र भिडभाड व्याप्त थियो । हुनेखानेहरू निजी सवारी साधनले पैदल यात्रुका कपडामा हिलो छ्याप्दै हुइँकिरहेका थिए । सहरमा कसैले कसैको मतलब राख्दैन । केबल आफ्नो काम पट्याउन पाए पुग्छ । सोही अवसरमा लेखक माधव घिमिरे ‘अटल’सँग भेट भयो । उनले एउटा उपन्यास हातमा थमाएर ‘यस पुस्तकको समीक्षा लेख्नुप¥यो’ भने ।

पूर्वी लमजुङको दूधपोखरी जन्मी हाल भरतपुरको बसेनी निवासी साहित्यकार यदुनाथ भट्टराईद्वारा लिखित योद्धा नामक ठूलो भोलुमको उपन्यास रहेछ । यसो विचार गरेँ अहिलेसम्म उपन्यासको किताब आफैँले लेखेको छैन । त्यसमाथि पनि उपन्यासकै समीक्षा गर्न ‘अटल’ले गहन जिम्मेवारी सुम्पिए । कविताका किताबको समीक्षा त लेखेकै हो । सामान्य खालका उपन्यासको पनि नलेखेको त होइन तर यति गहन अत्यन्त ठूलो भारी बोकाइदिए, लेख्दिनँ भनौँ उनले पुस्तकसहित जिम्मेवारी सुम्पिए । यसो विचार गरेँ, उनले दिएको जिम्मेवारीलाई नकार्न मिल्दैन जे जस्तो हुन्छ लेख्नैपर्छ भन्ने आदर्शले जित्यो र स्वीकार गरेँ ।

साहित्यकार यदुनाथ भट्टराई साविकको दूधपोखरी गाविस– १, माझीबारीमा जन्मिएका हुन् । प्रस्तुत योद्धा उपन्यास बिमला भट्टराई र दीपक ढकालले प्रकाशनमा ल्याएका रहेछन् । साहित्यकार डा धनप्रसाद सुवेदी र महेश प्रसाईले भूमिका लेखेका रहेछन् । भूमिकामै उक्त उपन्यासको सटीक विषयवस्तु सहितको सार प्रस्तुत भएको छ ।

योद्धा उपन्यासले पूर्वी लमजुङ र पश्चिमी गोरखा जिल्लाको भौगोलिक, सांस्कृतिक, विशेषता मजासँग उजागर गरेको छ । साथै त्यस आसपासका भाषा, संस्कृति, भेषभूषा, राजनीति, ग्रामीण जनजीवनका यावत् कठिनाइहरू जीवन्त रूपमा प्रस्तुत भएका छन् । साहित्यकार भट्टराई प्रगतिवादी साहित्यकार हुन् । योद्धा सत्य घटनामा आधारित काल्पनिक उपन्यास हो । यसले समाजका विविध पक्षलाई उजागर गरेको छ ।
प्रगतिवाद के हो ? के होइन ?

प्रस्तुत उपन्यासको नामैले यसको भाव अभिव्यक्त गरिरहेको छ कि यो प्रगतिवादी उपन्यास हो । कतिपय साथीहरू प्रगतिवाद भन्ने बित्तिकै कोरा माक्र्सवादी सिद्धान्तका आधारमा लेखिएका विषयवस्तुलाई मात्रै बुझ्दछन् । अनि साहित्यिक कृति पनि सोही अनुसार लेखिनुपर्ने धारणा अभिव्यक्त गर्दछन् । दमदार साहित्य लेखनमा कला, शिल्प, सौन्दर्य भावभूमिभित्र विचार मुसुक्क हाँसेको हुनुपर्दछ । विचार, कला, शिल्प, सौन्दर्य–भावलाई उठ्नै नसक्ने गरी विचारले थिचिनु हुँदैन । तर कतिपय मित्रहरू यसरी थिचिएकालाई नै प्रगतिवादी भन्दछन् । यस्तो दोषबाट योद्धा उपन्यास मुक्त छ । एउटा सामान्य मानिसलाई अनावश्यक दुःख दिने, ठग्ने, हेप्ने, गाली गर्ने, प्रहरी प्रशासनको बलमा कुटपिट र जेलनेलको यातना समेत दिने जस्ता क्रियाकलाप र अत्याचारले सीमा नाघेपछि त्यो व्यक्ति अन्तिम विकल्पका रूपमा विद्रोह नै रोज्न पुग्छ । यो कुरालाई सुन्दर र मार्मिक ढङ्गले पस्किएका छन् साहित्यकार भट्टराईले । समाज र सामाजिक समस्यासँग तादात्म्य नभएको विचारको पोको मात्र भएको लेखन प्रगतिवाद हुन सक्दैन ।

समाजमा जबरजस्त लादिएको विद्रोह सामाजिक बन्न सक्दैन । अन्याय, अत्याचार, विभेदले सीमा नाघेपछि स्वतः त्यहाँ विद्रोह जन्मिन्छ । यही गहन सामाजिक यथार्थबाट नचाहँदा नचाहँदै विद्रोह जन्मिएको कुरा माक्र्सवादी सौन्दर्यसहित प्रकट भएको छ । साहित्यकार भट्टराई यो विषयमा सचेत छन् र अत्याचारले सीमा नाघेपछि अवश्यम्भावी विद्रोह जन्मने कुरामा ढुक्क छन् । यो सामाजिक नियम र यथार्थ पनि हो । जहाँ पुराना र बासी विचारको उपादेयता समाप्त हुन्छ त्यसका पृष्ठपोषकहरू नयाँ विचार बोक्नेहरू माथि आक्रमणमा उत्रन्छन् । नयाँ विचार बोकेकालाई बम बोकेको मुद्धा लाग्छ । स्वतन्त्ररूपमा विचार बोक्न पनि नपाउने अवस्था सिर्जना गरिन्छ त्यहाँ अवश्यम्भावी विद्रोह जन्मिन्छ ।

ग्रामीण जनजीवनको जीवन्त चित्रण

प्रस्तुत उपन्यासका मुख्य पात्र कालु तामाङ गोरखा जिल्लाको सिरानडाँडा र अर्का प्रमुख महिला पात्र मङ्गली तामाङ लमजुङ जिल्लाको फुलिङगिरि गाउँका हुन् । यी गाउँ बिल्कुल तामाङ जातिको बाहुल्यता रहेका हिमालमुनिका विकट गाउँ हुन् । खेतीपातीभन्दा पनि वनजङ्गलसँग बढी आश्रित, गाई, भैँसी, भेडा, बाख्राका गोठ लिएर लेकतिर जानुपर्ने बाध्यता थियो । फुलिङगिरि, जोर्ने, इलमपोखरी, लिपेलेक, बाङ्गेओडार, गैरीखर्क, धर्मगौँडो हु“दै दुई दिनको यात्रापछि हिन्दु, बौद्ध दुवै धर्मको प्रसिद्ध सङ्गमस्थल दूधपोखरी पुग्न सकिन्छ । गोरखातिरबाट सिरानडाँडा, औलेमाडी हुँदै पुनः दूधपोखरीसम्म पुग्ने गर्दछन् । ती भेगका मानिसको मुख्य पेसा नै ऋतु अनुसार गोठ लिएर लेकबेसी गर्ने र केही खेतीपाती गरेर गुजारा चलाउने हो । यस भेगका गुरुङ, तामाङ र बेसीतिर चाहिँ बाहुन र क्षेत्रीको बस्ती रहेका छन् । लेकाली बस्तीका भेषभूषा, भाषा, संस्कार, सस्कृति, रहन–सहन लगभग एकै प्रकारका हुन्छन् । मकै, कोदो, जौ, फापरको ढिँडो, रोटी नै मुख्य खाना हुन् । उपन्यासमा यी सबै विषय खुब सुन्दर ढङ्गले प्रस्तुत भएका छन् ।

जो कोहीलाई पनि निकै रोमाञ्चित बनाउँछ । हृदय छचल्किन्छ । आँखा रसाउँछ । झरी बादल, हिउँ, जुका, बाढी, पहिरो, असिना सबै प्राकृतिक बिपत्ति झेलेर मानिसका जिङ्ग्रिङ्ग शरीर र पतेराले चुसेजस्तो अनुहार तैपनि दुःखजिलो गरेर परिवार पाल्नै पर्ने, चाडपर्व, राम–रमिता, मेलापात सबैमा समावेस हुनु यहाँका विशेषता हुन् । उत्तरतिर लहरै देखिने बौद्ध हिमाल, मनास्लु, हर्कपिक, ङादी चुली, लमजुङ हिमाल, अन्नपूर्ण, माछापुछ«ेदेखि धवलागिरिसम्मका समस्त हिमशृङ्खलाहरू सदा मुसुक्क हाँसेर आँखै अगाडि उभिएका छन् । हिमाल जस्तै शुद्ध र पवित्र मन दयालु, सोझा, निर्धा र निमुखा जनता भएको ठाउँमा पनि केही ठग, अत्याचारी छन् । तिनले यी सोझा र निर्धा गाउँले माथि सबै प्रकारका शोषण गर्दछन् ।

त्यही अत्याचार र शोषणको जगबाट विद्रोह जन्मिन्छ । बिल्कुल सोझा मानिस पनि अत्याचारको शिकार हुनुपरेपछि आफैँ विद्रोही बन्न पुग्छन् । जुन कुरालाई योद्धा उपन्यासले छर्लङ्ग पारेको छ । हरेक वर्ष जनैपूर्णिमाका दिनमा लाग्ने मेला र दूधपोखरीमा नुहाएपछि पाप, कष्ट निवारण हुने जनविश्वास रहेको छ । त्यही विश्वासमा फुलिङगिरिबाट मङ्गली र उनका बुबा हस्तवीर दूधपोखरी यात्राका लागि निस्कन्छन् । हिमाली यात्रामा मङ्गलीलाई खुब आनन्द र उत्सुकता थियो अनि बाटोमा आफ्नो बुबासँग सोधी– “ऊ त्यो परको डाँडो के रे बाबा ?” “त्यो दूधपोखरी डाँडा । त्यसैको बीचमा दूधपोखरी छ । त्यहीँबाट चेपेखोला उत्पन्न हुन्छ । तलको चित्रे डाँडो । उः त्यो माडी, पारिपट्टिको सम्म जग्गा औलेमाडी, उः त्यो सेतो देखेको चेपेखोला । उः त्यो पारिको सिरानडाँडा तेरो फुपूको घर भएको गाउँ । उः त्यो ओलाङ, त्यस छेउमा खिन्पु, अनि अपुन, सिस्ने, केप्रुङ सबै देखिन्छ । खरिबोट, भन्ज्याङ सबै गाउँ देखिन्छ । उः त्यो माथि निमारेको डाँडाबाडी द झन् सिमी, ताँजे देखिन्छ । धेरै नै बेलीविस्तार लगाए छोरीलाई ।”(पृष्ठ ६९)

उता कालु र उनका बुबा जगमान पनि गोरखाको बाटो भएर दूधपोखरी नै पुग्छन् । एकाएक साला भेना र सोल्टी सोल्टिनाको भेटले रोमाञ्चित वातावरण बनाउँछ । त्यही बेलादेखि कालु र मङ्गलीका बीच नजानिँदो रूपमा पे्रम अङ्कुरित हुन पुग्छ । पूर्वी लमजुङको अर्को प्रसिद्ध मेला लाग्ने ठाउँ इलमपोखरी हो । वैशाख पूर्णिमाका दिनबाट यहाँ भव्य मेला लाग्ने गर्दछ । मङ्गली र उनकी आमा टौमाया उक्त मेलामा केही दिनका लागि व्यापार गर्न पुगेका हुन्छन् । कालु र उनकी आमा त्यही साल भाले लिएर इलमदेवी पूजा गर्न पुग्छन् । आफ्ना भाइबुहारीले त्यही मेलामै व्यापार गरेको थाहा पाएपछि टुकु खुसीले गद्गद् हुँदै त्यहीँ पुग्छिन् । फेरि यो रमाइलो वातावरणले हर्षविभोर बनाउँछ । साँझको खानपिनपछि कालु र मङ्गलीको एकान्त वार्तालापले परिस्थितिलाई झनै प्रेमिल र आनन्दमय बनाउँछ । जीवन भनेको हर्ष, आँसु, विस्मात, खुसी सबै रहेछ । कालु र मङ्गलीको जीवन र उनका परिवारमा पनि यी कुराहरू भइरहन्छन् । मङ्गलीका भाइको लप्सीको रूखबाट लडेर मृत्यु हुन्छ । एकमात्र छोराको मृत्युले टौमायालाई ठूलो आघात पु¥याएर मानसिक रोगी बन्न पुग्छिन् ।

केही समयपछि कालु भारतीय सेनामा भर्ती हुन्छन् । लखनउमा उनको क्याम्प रहेको थियो । छुट्टीको बेलामा रोल्पाका साथी मैत पुन र कालु मुम्बई घुम्न जान्छन् । रेलवे स्टेसनमा उत्रने बित्तिकै नयाँ र पहिलो चोटि पाइला टेकेको ठाउँमा कहाँ जाने दुवैै जना अलमलमा थिए । एक जना महिलाले होटलमा लगिदिन्छु भनेर वेश्यालयको कोठीमा पु¥याइन् । तीन तीन हजार आइसी बुझाएर दुवैै जना फरक फरक कोठातर्फ लाग्छन् । कालु छिरेको कोठामा आफ्नै बहिनी फूलमतीलाई देखेपछि एकैचोटि छाँगाबाट झरेझैँ हुन्छन् । बहिनी पनि मरेतुल्य हुन्छे । दुवैै दाजुबहिनी अकर्मण्यतामा पर्छन् । सपनामा पनि नसोचेको बहिनी मुम्बईको कोठीमा भेटिनु ठूलो विस्मातको कुरा थियो । “कसरी यो कोठीमा आइपुगिस् ?” कालुले बहिनीलाई सोधे । बाध्य भएर सबै कुरा भन्नै प¥यो । गाउँको मुखिया जगवीरको छोरा रत्नेले विवाहको नाटक गरेर घरबाट भगाएको थियो । काठमाडाँैमा एक महिना राखेर मलाई यहाँ बेचिदिएछ । पछि पो मलाई थाहा भयो । दाजु बहिनीको यो कारुणिक कुराले दुवैै जना रातभर निदाउन सकेनन् । बिहान मैत पुनसँग यसको बेलीविस्तार लगाएपछि त्यो कालकोठरीबाट कसरी बहिनीलाई निकाल्ने होला भन्ने दुवैै जनाको सल्लाह भयो । अखिल भारतीय नेपाली समाजले यो काम गर्नसक्छ कि भनी त्यसको कार्यालय खोज्दै पुगे । अखिल भारतीय नेपाली समाज कालुकी बहिनी फूलमती र मैतको गाउँ नजिकैकी बहिनी दुवैै जनालाई त्यहाँबाट निकाल्न सफल भयो ।

विद्रोहको यात्रा

कालु ज्ञानज्योति माविमा ९ कक्षा पढ्दै गर्दा बेलायती सेनामा भर्ती ह्ुने भनेर साथी नरवीर र ऊ भागेर पोखरा पुगे । घुस दिन नसकेका कारण भर्ती भएनन् । त्यही दिन गोरखा फर्किए । साँझ गोरखा बजारमा आइपुगे । होटलमा बास माग्दा कहीँ पनि खाली थिएन । कारण त्यही दिन अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन रहेछ । जिल्लाभरिबाट आएका विद्यार्थी र नेताहरूले भरिएका रहेछन् होटेल । त्यही बेला आफ्नै स्कूलमा पढेको साथी भेट हुन्छ । साथीले बास बस्ने व्यवस्था मिलाउँछ र आफ्नो नेता क. श्यामसँग भेट गराउँछ । उनै क. श्यामबाट कालुले राजनीतिक प्रशिक्षण पायो । त्यसपछि कालु नेविसङ्घ छोडेर अखिल क्रान्तिकारीको सदस्यता लियो ।

अब कालु राजनीतिक गतिविधिमा सरिक हुन थालिसकेको थियो । जसले आफ्नो विद्यालयमा नेविसङ्घको किल्ला भत्काइदिएको थियो । उता मङ्गली पनि विचौर ठाँटीमा पढ्दै थिई । घरबाट स्कूल जान आउन नभ्याउने हुँदा विचौरमै डेरा गरेर पढ्न बसेकी थिई । घरबेटीकी छोरी सानुमाया र मङ्गली सँगै पढ्थे । सानुमायाका बुबाको घरमा माओवादी नेता आउने रातमा कार्यक्रम गर्ने गर्थे जसले मङ्गली पनि यो विचारसँग प्रभावित हुन पुगी । एक दिन विचौरमा माओवादी नेता बाबुराम भट्टराई आएर सम्बोधन गर्ने कार्यक्रम तय भयो । सानुमाया र मङ्गली पनि यो काममा खुब खटे साथै सामना परिवारका केन्द्रीय कलाकारको टिम पनि आउने भयो । जसका लागि स्थानीय कलाकार पनि तयार गर्नुपर्ने भयो । जनवादी गायक खुसीराम पाख्रिनले गायन र नृत्यकला सिकाए । मङ्गली गायन र नृत्यकलामा पारङ्गत भई । कार्यक्रमको अघिल्लो दिन नै नेता बाबुराम भट्टराई विचौर आए । गाउँका धेरै मानिस जम्मा भए । ठूलो नेतासँग दरिलो हात मिलाउन पाएकोमा मख्ख थिए । साँझको खाना नेतासँगै सामूहिक रूपमा भयो । दलित र बाहुन सँगै बसेर खाए । भान्छामा खाना बनाउने सबै दलित थिए । पुराना बुढाबुढीहरू बाहुनले दलितको हातबाट खाएकोमा जिब्रो टोक्दै थिए । नेताजीले खाना सिध्याए । आफ्नो थाल हातमा लिएर गए । महिलाहरूले उनको हातबाट खोस्न खोजे । तर उनले त्यो थाल छाड्दै छाडेनन् । माझेर ल्याए । त्यो दिन सधैँ मालिक बन्ने पुरुषहरू भाँडा मझुवा बन्नुप¥यो । नेताजीले जुठो थाल बोकेर हिँडेपछि उनीहरूले पनि लुरुलुरु जुठो थाल बोकेर माझ्न तम्सिए । पुरुषहरू माझ्न निस्केको देखेर महिलाहरू खितखिताइरहेका थिए । उनीहरूलाई पनि दलितलाई जस्तै आमूल परिवर्तन भएजस्तै अनुभूति भइरहेको थियो ।(पृष्ठ २०७)

मङ्गली यही बेलाबाटै पूर्णकालीन कार्यकर्ता भएर देश र जनताको भविष्य बदल्ने कसम खाएर लागी । अब सोझी मङ्गली देशको योद्धा क. ज्वालामा रूपान्तरित भइन् । उता बहिनीको जीवन बर्बाद बनाउने मानव तस्कर रत्नेलाई जेल हालेर कारवाही गर्नुपर्ने ठाउँमा उल्टो राज्यले सुरक्षा दियो । अझै उही सुराकी गर्दै गाउँका सोझा सीधा मानिसलाई जेल हाल्ने, यातना दिने काम गरिरहेको कुराले कालु सेनाको जागिर छाडेर योद्धा बन्यो । उसको नाम क. प्रतापले क. प्रकाश राखिदिए । अब कालुको घरमा दिनहुँजसो प्रहरी आएर आतङ्क मच्चाउन थाले । कालुको आमालाई तेरो आतङ्ककारी छोरा छोरी कहाँ लुकाइस् भनेर आँगनमै पिटेपछि बुबा जगमानले भित्रबाट बञ्चरो ल्याएर त्यो पिट्ने पुलिसलाई एकै चोटमा भक्लक्कै ढालिदिए । इन्सपेक्टरको आदेशमा असईले जगमानलाई गोली हानेर मारिदिए । यो भेगमा प्रहरीको ज्यादती अति नै भएको थियो । त्यही अवसरमा क. प्रतापको नेतृत्वमा त्यो श्रेष्ठ थरको इन्सपेक्टर भएकै प्रहरी चौकीमा आक्रमण गरे । भीषण लडाइकै क्रममा क. प्रतापलाई गोली लागेर सहादत प्राप्त गरे । क. प्रकाशले युद्धको मोर्चा सम्हाले । चौकी पूरै माओवादी कब्जामा आयो । इन्सपेक्टरको पनि सहादत भयो । आत्मसमर्पण गरेका प्रहरी सकुशल घर पठाइदिए ।

‘यति जना माओवादीलाई मराएँ, यतिलाई पक्राएँ’ भन्दै प्रहरीको सुरक्षासाथ हिँड्ने सुराकी तनहुँको हाइवे रोडमै क. ज्वालाको नेतृत्वमा प्रहरीकै अगाडि कारवाही गरेको आश्चर्यजनक घटना बन्न पुगेको छ । त्यस्तै क. प्रकाशका भाइ शमशेरलाई माओवादी भनेर काठमाडौँ जेलमा पु¥याएको थियो । यातनाबाट म¥यो भनी रातमा बोराभित्र हालेर त्रिशूलीमा फालिदिए । तल माझीले फेला पारेर घरमा लगी उपचार गरेर पठाएको घटना पनि ज्यादै मार्मिक छ । जब क. प्रकाश र क. ज्वालालाई पार्टीले रोल्पा पठायो, त्यही आर्मी छँदाको साथी मैत पुन पनि माओवादी योद्धा भएर लडेको भेटियो । रोल्पाकै एउटा प्रहरी चौकीमा कारवाही भयो । उक्त कारवाहीमा माओवादीले सबै कब्जा ग¥यो तर क ज्वालालाई गोली लाग्यो । उनलाई स्ट्रेचरमा बोकेर अरुणखोला ल्याइयो । अनि भरतपुर अस्पतालमा उपचार गर्न भर्ना गरियो । यहाँनिर चाहिँ प्रसङ्ग नमिलेको पाइयो । रोल्पादेखि स्ट्रेचरमा एक बिहानमा अरुणखोलासम्म ल्याउन सक्ने अवस्था नै हुँदैन । पैदल हिँड्ने हो भने कम्तीमा रोल्पादेखि अरुणखोलासम्म तीन–चारदिन लाग्छ ।

उपचारकै क्रममा क. ज्वालाको मृत्यु हुन्छ । क. प्रकाशकी बहिनी फूलमतीको पनि मृत्यु हुन्छ । अत्यन्तै साहस र वीरतापूर्ण युद्ध लडेका परिवार पूरै छिन्नभिन्न हुन्छ । अन्तिममा आएर उपन्यास घोर निराशामा लगेर टुङ्ग्याइएको छ । योद्धाहरू सकुशल युद्ध जितेर विजय उत्सवसहित घर फर्किएको बनाउन सकेको भए आम पाठकको पनि जोस जाँगर बढ्ने थियो । यो पाटो चाहिँ कमजोर नै रह्यो । तर उपन्यास अत्यन्तै दमदार रूपमा प्रस्तुत भएको छ । समाजका सबै पाटा पक्षको सुन्दर ढङ्गले विश्लेषण गरिएको छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button