मेयर उषालाई क्या गज्जबले लेखे सागरले

उपन्यास ‘मेयर उषा’को पहिलो भाग

सागर ‘मणि’ थापा
चोभार ओपी, कीर्तिपुर–७

हेर्दाहेर्दै समयले डाँडो काटेको पत्तै हुन्न !

म हुँ डा. उषा थापा । उमेर करिब साठी वर्ष । मेयर पदमा कार्यरत । चौथो कार्यकालको पदीय दायित्व निर्वाह गरिरहेकी हुन्छु म । मेरो अन्तिम कार्यकालको चरणमा पुग्दासम्ममा हाम्रो बिन्द्रावन नगरपालिकाको विकास उच्च तहमा पुगिसकेको हुन्छ ।

हामी ‘डिजिटल’ युगमा पुगिसकेका हुन्छौँ ।

मेरी एक मात्र नातिनी ‘ट्रेनी पाइलट’ बनिसकेकी हुन्छिन् । त्यो पनि लण्डनको एक प्रख्यात कलेजमा पढेर । उनी आफ्नो जन्मथलो आइपुगेकी हुन्छिन्, दसैँ पर्वको छेको पारेर । उनीलाई आफ्नी हजुरआमाको जीवन–कथा सुन्ने उत्कट चाहना हुन्छ ।

बिन्द्रावन न. पा. को विकासको बारेमा बुझ्ने तीव्र इच्छा हुन्छ । म उनको रहरलाई अनावश्यक ठान्दिनँ । त्यही भएर सविस्तार बताउँदै जान्छु । सुनाउँदै जान्छु ।

‘ … । त्यसपछि बाबाले मलाई बोलाएर भन्नुभयो– ‘ए नानी । छोरी उषा । पल्लो गाउँको दाइ घरमा आएका छन् रे । जाऊ न भेटेर आऊ ।’

‘ओहो बाबा ! मैले कत्ति पटक भनिसकेँ कि म त्यो घरमा जान्नँ ।’ बाबाको आग्रहप्रति निकै झिँझो मान्दै मैले भनेकी थिएँ– ‘जुन कुवामा पानी नै छैन भने पटक पटक धाउनुको के प्रयोजन बाबा ?’

मेरा बाबा विष्णुकुमार आँगन छेउको जुठ्यानमा हुनुहुन्थ्यो, बिहानका भाँडाहरू माझ्दै । मचाहिँ बाबासामु उभिएकी थिएँ । हातमा एउटा पुस्तक थियो ।

मलाई बाबाले कति माया गर्नुहुन्थ्यो, देख्नेलाई त्यही एक दृश्य पर्याप्त थियो । हुन पनि हाम्रो गाउँभरिमै म मात्र एउटी त्यस्ती छोरी थिएँ, जससँग दाँज्न मिल्ने सायदै अरू छोरीहरू थिए । अनि पो गाउँघरमा मानिसहरूले कुरा काट्न पाएका थिए ।

गाउँलेहरू भन्ने गर्दथे– ‘त्यो विष्णेले आफ्नी छोरीलाई कस्तरी पुलपुल्याएर राख्न सक्या होला । कुन दिन नाक काटेर पोइल जान्छे, अनि चाल पाउँछ ।’

ऐन मौकामा कसैले मुखको तीतो फालेर भनिदिन्थ्यो– ‘त्यो त ‘स्योर’ नै छ नि । पल्लो गाउँको रिट्ठेको छोरासँग लपक्कै भएकी छे भन्ने कुरा कसले सुनेको छैन र ?’

त्यस्ता हल्लाहरू मेरा बाबाका कानसम्म पनि पुगेकै हुन्थे । तर वास्तै गर्नु हुन्न थियो । तर भनिन्छ नि– एउटै कुरालाई दसौँ पटक भनिदिँदा सत्य लाग्न सक्छ, चाहे त्यो भूmटो नै किन नहोस् ।

धेरैले कान भर्न थालेपछि बाबा तर्सिन थाल्नुभयो । मेरो मस्तिष्करूपी धरातलमा कुँदिएका अविस्मरणीय घटनाहरूमा उक्त घटना पनि पर्दथ्यो ।

मैले पुस्तकका पानाहरूलाई देब्रे बूढीऔँलाले फरर्र पार्दै भनेकी थिएँ– ‘बाबालाई अलिकति पनि ईख किन नभएको होला ? तिनै बाहुनी–आमा हैनन्, जसले मेरो नाम किरणसँग जोडेर हाम्रो र हाम्रो कुलको धज्जी उडाएकी ? तपाईँले कति छिट्टै बिर्सन सक्नुभयो, समाजसामु हाम्रो बेइज्जत गरेको कुरा ? तर आज फेरि भन्दै हुनुहुन्छ…?’

‘छोरी..छोरी…छोरी..! फेरि पुरानो घाउ उप्काउने दुश्प्रयास गरिस् हैन तैँले ?’ बाबा निकै चिच्याउनुभयो । उहाँलाई एक्कासि तनाव हुन थाल्यो र एउटा भाँडो ढोकातिर हुत्याउनुभयो ।

बाबा अक्सर रिसाउनुभएको समयमा दुइटा काम एकै पटक गर्नुहुन्थ्यो । त्यही दुइटा हर्कत देखेर म बाबाको रिसको पारोको मापन गर्ने गर्थेँ । त्यसपछि नै मेरो प्रतिक्रियाले स्थान पाउने गर्दथ्यो ।

मलाई बाबाले राजेन्द्र शर्मालाई भेट्नका लागि दवाव दिइरहनु भएको थियो । उही क्या त, हाम्रो पुख्र्यौली पुरेतका पुत्र ।

राजेन्द्र दुई दिदी र तीन बहिनीका एक मात्र अनुज हुन् । मलाई थाहा थियो, छोटे शर्माबाट मेरो समस्याको कुनै पार लाग्ने छैन ।

मि.शर्मासँग मेरो मिल्ती नै थिएन । उनी शिशु–कक्षादेखिकै मेरो प्रतिस्पर्धी थिए । मेरा साथीहरूले राजेन्द्रलाई ‘डाढे काठा’ भनेर जिस्क्याउँथे । उनी कक्षाका धेरै साथीहरूको प्रगति देख्न सत्तैmनथे, चाहे उनी प्रथम भएकै किन नहून् ।

उनको र मेरो तीव्र प्रतिस्पर्धा चलिरहन्थ्यो । कहिले म प्रथम हुन्थेँ । कहिले उनी । तर म प्रथम भएकी बखत त उधुमै गर्थे । उनको रिस माहुरीको खीलभैmँ गढेर बसिरहेको हुन्थ्यो ।

राजेन्द्रलाई मैले प्रायः ‘मिस्टर शर्मा’ भनेर बोलाउथेँ । कसै–कसैले‘ छोटे शर्मा’ भनेर नाम राखेका थिए । मि. शर्माको रिस पोख्ने आफ्नै तरिका थियो जुन निकै खतरनाक हुन्थ्यो ।

हामी केटा–केटीहरू खोलामा पौडी खेलिरहेका हुन्थ्यौँ । मि. शर्मा कपालमा समातेर टाउको चोपलिदिन्थे । एक–दुई अञ्जुली पानी पेटभित्र पसिहाल्थ्यो । निसास्सिएर उधुम खोकी लाग्थ्यो । डाढे बाहुनले हुर्मत लिन हामी कसैलाई बाँकी राख्दैनथे ।

मि. शर्माको अत्याचार बढ्दै गयो । त्यही भएर मैले उनको एउटा दाँतै भाँचिदिएँ । त्यसपछि डाढे काठाले मलाई हात हाल्न सकेनन् । यद्यपि, ईखचाहिँ लिइरहेका थिए । फलतः कक्षा ६ देखि मलाई अब्बल हुनै दिएनन् । अक्षरकै कारण हेडसर मि. शर्मालाई नै प्रथम बनाउन वाध्य हुन्थे ।

राम्रो पढेकै कारण एकदिन राजेन्द्र शर्मा अमेरिका पुग्न सफल भए ।

त, उनै शर्मालाई भेट्न विवश थिएँ म । मैले बाबाको दवाव थेग्न सकिनँ । मेरी आमाले परलोक हुने समयमा मलाई दिव्य ज्ञान प्रदान गर्नुभएको थियो ।

आमाले भन्नुभएको थियोे– ‘नानी, आफ्नो आत्माले नमानेको कुनै पनि काम नगर्नू । जसले आत्मालाई ढाँट्छ वा आत्मालाई मार्छ, त्यो पापी हो ।’

आमाका वाणीसामु बाबाको ढिपी तगारो बनेर तेर्सियो । उक्त तगारो नाघेर जान म असमर्थ थिएँ । किन कि आमाको देहान्तपछि उहाँको कार्यभार पनि बाबामाथि थपियो ।

बाबाको मन राखिदिन म राजेन्द्र शर्माको घरतिर लागेँ । लाग्न त लागेँ तर गोडा एकातिर र मन अर्कोतिर हिँडिरहेको थियो । एउटा दोबाटो आइपुग्यो । तलतिर जाँदा पुरेतको घर पुगिन्थ्यो । अनि माथितिर लाग्दा चाहिँ किरण नेपालीको ।

मलाई पत्तै नदिई मेरा पाइलाहरू किरण नेपालीको घरतिर लागिसकेछन् । आत्माले नचाहेपछि गोडाले पनि नमान्दा रहेछन् । त्यसो त किरणको आर्थिक स्थिति धेरै उच्च भइसकेको थियो । उनी पनि अमेरिकाबाट फर्किएका थिए ।

किरणले नयाँ घर बनाइसकेका थिए । त्यो पनि एकदमै पक्की । अब त हामी पनि नगरबासी कहलिएका थियौँ । उही क्या त, बिन्द्रावन नगरपालिका । त्यतिखेर न त गाउँको विकास हेरिएको थियो । न त हेरियो नागरिकहरूको आर्थिक स्थितिलाई नै ।

केही दलाल र पुँजिपतिहरूको उक्साहटमा केही गाउँपालिकाहरू विलय भए । जग्गाको भाउ बढ्ने आश देखाइदिए । ‘आना चलान, छाना ढलान’ को कुनीतिमा सोझा गाउँलेहरू फसे । त्यसो त केही किसानहरूको कल्याण पनि हुन गयो ।

बिन्द्रावनले किरण नेपालीहरूलाई पनि सुविधा पु¥याइदियो । किरणको नयाँ घरमा दुइटा शटर थिए । घरमा आफ्नै टेलर थियो । घरको भित्तोमा बडेमाको साइनबोर्ड राखिएको थियो । लेखिएको थियो– रिट्ठे दमाईको टेलर ।

त्यो बोर्डको नामले कथित उपल्लो जातिलाई तीखो व्यङ्ग्य गरिरहेको भान हुन्थ्यो । किरणका बाबु–बाजेलाई समाजले खुबै हेप्ने गर्दथ्यो । कथित उपल्ला जातिहरूले गरिबीको धज्जी उडाउँथे ।
तर राम्रो दिन गरीबको पनि त आउँदोरहेछ । ‘डलर’ कमाउन थालेपछि त किरणहरूलाई हेप्ने त दूरको कुरा । ठाडो नजरले पनि हेर्न सकेनन् ।

म सरासर टेलरभित्र पसेँ । हेङ्गरमा सजाएर राखिएका लुगाहरूतिर नजर ओछ्याउन थालेँ । त्यो क्रम सकिएपछि मैले रेखा भाउजूको अनुहार निहारेँ ।

वास्तवमा मैले काकी भन्नुपर्ने हो नि तिनीलाई । तर बच्चैदेखि लागेको बानी अभैmसम्म गएको थिएन । सायद ‘कथित जातभाते परम्परा’ को सँस्कारले जकडिएको समाजको उपज थियो त्यो ।

रेखा भाउजू घरी मलाई त घरी उनको पतिलाई हेर्दै मुसुमुसिइरहेकी थिइन् । भित्री कोठामा तीन–चारजना सूचीकारहरू पनि रहेछन् ।

त्यहाँ बेग्लै प्रकारको साङ्गीतिक वातावरण थियो । यद्यपि, म लुगा किन्न गएकी थिइनँ । म त किरणलाई भेट्न गएकी थिएँ । रिट्ठे दाइलाई म गएकी कुरा मन परेन । तर रेखा भाउजूले सजिलो पारिदिइन् । उनले सोधेभैmँ गरिन्– ‘उषा नानीलाई के चाहिएको हो कुन्नि ?’

‘ए रेखा । यी विष्टिनीलाई सोभैm भन्दे । लुगाको काम हो भने बसून् । अरू नै काम हो भनेचाइँ बाटो लागे हुन्छ ।’

मैले जवाफ दिनै नपाई रिट्ठे दाइ बम्किए । म बुझ्थेँ उनको पीडालाई । किरणसँगको मेरो बस–उठले उनी मेरो बाबाबाट अपमानित भएका थिए ।

उही क्या त, दमाईको छोरा मेरो साथी भएकोले । बाल–सखा किरण नेपाली । एउटै कक्षामा पढेका किरण नेपाली ।

किरणका बाबा कराउँछन्, त्यो मलाई थाहा थियो । त्यही भएर उनकै जगबाट कलकली पानी पिएँ । त्यसपछि उत्तरापेक्षी आँखाले उनलाई हेरिरहेँ ।

दाइको मुख चलिहाल्यो– ‘कतै नपाए जसरी यही दमाईको घरमा आएर पानी पिउनु पर्छ हैन तिमीलाई ?’

‘राम..राम.राम ! हैन, के भाको छ हँ यो बूढालाई आज ? पानी खान पनि नदिने ? कस्तो पाप चिताउन सक्या होला यो बूढाले !’ हत्त न पत्त रेखा भाउजूले टोकसिन् ।

रिट्ठे दाइ झन् कराए– ‘तैँल भुलिस् विगतका घटनालाई ? विष्टका खलकले खुकुरी बोकेर काट्न आएका कुरा पनि बिर्सिस् हैन त ? धिक्कार छ तँलाई ! ईख नभएकी आइमाई !’

‘हैन, फेरि के भयो मेरा ममी र ड्याडीलाई ?’ अचानक आइपुगेका किरणले मेरो अनुहारमा हेर्दै प्रश्न गरे । ममी मुसुमुसु हाँसिरहिन् । केही बोलिनन् ।

ड्याडीचाहिँ रोकिएनन् । ठूलो स्वरमा कराए– ‘भएको मलाई हैन, तेरी आमालाई मात्तै हो छोरा ।’

किरणले कुरा बुझिहाले । तब मलाई सान्त्वना दिँदै बोल्छन्– ‘मेरो ड्याडीको भनाइलाई ‘सिरियसली’ नलिऊ है उषा ? उहाँको मुख अलि छुच्चो छ । तर मनमा…।’

‘केरे केरे ? फेरि भन् त छोरा, मेरो मुख कस्तो छ रे ?’ रिट्ठे दाइले व्यङ्ग्यात्मक सवाल गरे ।

किरणले आफ्नो नाक सुमसुम्याउँदै जवाफ दिए– ‘केही होइन ड्याडी । ‘मेरो ड्याडीको मनमा पाप छैन’ भनेर उषालाई सम्झाउँदैछु । हामी युवा–युवतीको कुरामा बढी चासो राख्न हुन्न के अब ।’

किरणको कुरा सुनेर म मुख छोपेर हाँस्न थालेँ । रेखा भाउजू पनि मुसुमुसिइरहेकी रहिछन् । त्यति गन्थन भएपछि किरण र म नेपथ्यतिर लाग्यौँ । किरणलाई थाहा भइसकेको रहेछ, मेरा बाबाले मि. शर्मासँग भेट गर्न पठाएको कुरा ।

उनको कुरा सुनेर म छक्क परेँ ! यद्यपि, किरण मलाई निराश बनाउन चाहँदैन थिए । त्यही भएर आश्वासन दिँदै भने– ‘हेर उषा, मैले गर्न सक्ने सहयोग सदैव रहने छ तिम्रा लागि ।’

उनी अगाडि थप्छन्— ‘तर यो कुरामा तिमी अनभिज्ञ छैनौ, यो भेटपछि तिम्रा बाबाले कस्तो प्रतिक्रिया जनाउनु हुनेछ भनेर । त्यसैले तिमीले… ।’

जे होस्, किरणले मलाई राम्रै सुझाव दिए । त्यसपछि म सरासर राजेन्द्र शर्माको घरमा पुगेँ । आँगनमा टेकेको मात्र थिएँ, बाहुनी–आमाको शब्दवाणसँग सामना नगरी सुखै पाइनँ ।

उनी पक्की घरको बरण्डामा बसेर चामल केलाउँदै थिइन् । मलाई अनुमान लगाउन गाह्रो परेन, उक्त चामल कुनै जजमानको घरबाट दानमा प्राप्त भएको हो भनेर ।

बाहुनी–आमाले टोकस्न थालिन्– ‘तँलाई पनि डल्लर कमाउने बडो सोख छ हैन ? मेरो पुत्र मात्र छ तँलाई ‘अम्रिका’ लैजाने ? जा न गएर रिट्ठे दमाईको छोरोसँग खुसामद गर् । किरण दमाई के, किरण
दमाई !’

‘मलाई वचन नलगाई हजुरलाई खाना रुच्दैन हगि बाहुनी– आमा ?’

मैले सहनै सकिनँ र मुख लागेँ– ‘हजुरको यत्रो सम्पत्ति हुँदा पनि अर्काको प्रगतिमा भाँजो नहाली हुन्न है ? मरेर के लैजानुहुन्छ बाहुनी–आमा ?’

भन्न त मलाई धेरै मन थियो । मैले दुहुना–टपरीका कुरा गरिदिएकी भए तिनी सल्र्याङ्ग–सुर्लुङ्ग भइहाल्थिन् नि । तर त्यसो गर्नु वाञ्छनीय ठानिनँ ।

फेरि मलाई घरमा बाबाको हात चिलाउला भन्ने डर पनि थियो । म चुप बसे पनि बाहुनी–आमाको थुतुनो चल्न छाडेन बा ! उनी बेसरी कराइन्– ‘ए..ए..। त्यो रिट्ठे दमाईको छोरालाई भनेँ भनेर तेरो चित्त काटियो हैन ? एक जमानामा त्यत्रो तमासा हुँदा पनि तैँले बिर्सिन सकिनस् हगि ?’

तिनी कराइरहिन्— ‘तैँले त मेरो आँगन टेक्दा पनि अलच्छिन लाग्छ उषे ! मेरो राजेन्द्रसँग भेट्ने मन छ भने बाटोतिरै भेट् । मेरो घरमा चाइँ… ।’

‘ल ल हजुर नै बस्नोस् । कस्सैको नभएको महल हजुरकै रहेछ ।’

मैले पनि आँखै देखिनँ र मुखको तीतो पोख्दै फर्किएँ । म जाँदै थिएँ । केही पर पुगेपछि सुनेँ, पुरेत–बाले बूढीलाई हप्काएको आवाज ।

आश्चर्य ! म घरमा पुग्दा त विष्णुकुमार थापा र राजेन्द्र शर्मा गफ गर्दै बसिरहेका रहेछन् । आच्चे ! मलाई देख्नासाथ राजेन्द्र उठेर हिँड्दै कुरा टुङ्ग्याइहाल्छन्– ‘हुन्छ हुन्छ । अब त्यसै गर्नोस् विष्णु दाइ । ऊः उषा पनि आइपुगी । म पनि लाग्छु ।’

उनी मनेर आइपुग्छन् र मस्किन थाल्छन् । विदेशमा बस्न थालेपछि राजेन्द्र शर्माको हाउभाउ र चालचलन निक्कै परिवर्तन भएको थियो । सायद त्यो तेस्रो पटक थियो, स्वदेश फिर्तीको ।

यसपल्ट त झनै बदलिएका रहेछन् उनी । .मि.शर्माले मेरो चिउँडोमा स्पर्श गर्दै भने– ‘ल बधाई छ उषा । अब त तँ पनि अमेरिका जान पाउने भइस् ।’

उनी बोल्दै जान्छन्– ‘तैँले केही गर्न पर्दैन उषा । सबै काम म मिलाइदिइहाल्छु नि । मैले सबै कुरा ऊः विष्णु दाइलाई भनिसकेको छु । ओ..के…,बा…इ ।’

उनी हाँस्दै मेरो कुम थपपाएर बाटो लागे । त्यतिन्जेलसम्ममा मेरो बाबा रिसले आगो भइसक्नुभएको रहेछ । उहाँका दुवै आँखा जँड्याहाका जस्ता थिए ।

मलाई अनुमान लगाउन कठिन हुन्न, उहाँलाई मि.शर्माले भए–नभएका कुरा लगाइसकेका छन् भनेर । त्यही भएर बाबाले कडा स्वरमा सोध्नुभयो– ‘भन्, कहाँ गएर आइस् ?’

‘म..म.. ।’

म त आत्तिएँ । तब भकभकाएँ– ‘म शर्माकै घरमा गएकी थिएँ बाबा ।’

‘तँलाई फट्टाई !’

बाबाले मेरा दुवै गालामा झ्यामझ्यामी हिर्काउँदै गाली बर्साउनुभयो– ‘ला… …ला…। बाउलाई ढाँट्ने नकच्चरी !’

‘ऐया नि..ईँ..ईँ… । मरेँ नि आमा…आँ…आँ… ।’

त्यस बखत पीडाले म बेस्सरी रोएकी थिएँ ।

क्रमशः


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button