यहाँ यादहरु पनि त यादमै हराउने गर्छन्

यादहरु

सोम्नु राई

झरी पर्दापर्दै छुटेका बाटोको यादहरु
बेजोडले तर्सिदै
ओरालो लाग्छन्
किनकि यहाँ औधी पिडाको निशानाहरु
पसिनाको धर्सोलाई
दर्के झरीले उसैगरी बगाउलान् भन्ने डर पनि छ ।

डर छ चप्लेती ढुंगैढुंगाको शहरमा
एक शरणार्थी बटुवाले अनुभव बटुल्न
डर छ कुनै कुनामा भत्किदै गरेको सपनाहरुलाई
बिपत्तिमा सम्हाल्न कहाँ सहज छ
त्यै पनि दुखैमा खुशी खोज्ने मुहारहरु
निरन्तर कुदिरहेका होलान्
त्यो पारी जंगलको भित्ताहरुमा आज पनि ।

याद छ राम्ररी याद छ
हिजो त्यो सम्भावना देखाइएका कयौं कुराहरु
आज घोडाबिहिन तबेला झै भाु छन्
छ न त छ, कहाँ छ मनले ठ्याक्कै ठम्याउन सकिरहेको छैन
छ नि छ न त मनमा छ
आँखाको परिधिहरुभित्र छ
महसुस नभएको कहाँ हो र
मनमा नभएको कहाँ हो र छन् कयौं डोबहरु
अझै छन् उकालो ओरालो गरेका यादहरु ।

अटेरी यादहरुलाई अरुणले बगाउन सकेन
सल्लेरीमा हराउन सकेन
शहरको उज्यालोले त्यो पारी अध्यारोलाई
उधारोमै भए पनि उज्यालो दिइरहन सकेन
कुन यादलाई बोलाएर पुरानो यादहरुलाई मेटाउ ।

ए, भन न कुन बैज्ञानिक छ ?
कहाँ बन्छ त्यो अपमान गर्ने आफन्तहरूको याद बिर्साउने ओखती ?
ए, भन न कहाँ पाउछ ओखती ?
आफ्नैहरुले रोपेको छुरीको डोबहरु बिर्सेर याद मेटाउनु छ ।

यहाँ बिर्सिन खोजेका अनगिन्ती यादहरु
पागल झै होश गुमाएर बटारिँदै बतासजस्तो बेग मारेर आउँछन्
आउँछन् यादका भुंग्रोहरु
आउँछ नि तिमीले बिर्सेर के भो र
ए, पहाड मेरो याद मार्न फेरि तिमीले खनिनु पर्छ
मलाई दबाउन पर्छ तिमीले फेरि चोट सहनु पर्छ
त्यै पनि म कहाँ सजिलै मर्छु र
मसँगै बाँचेको मृत्यु पनि त अटेरी छ
शरीर मरेर के हुन्छ र आत्मा कहिल्यै मर्दैन
याद छ नि ?

त्यो झरी त्यो मन अनि बाँच्नलाई गुजारेका कयौं पलहरु
मिठो गफ र तितो अनुभव
कहाँ बिर्सन योग्य छन् र ?
मर्नेहरुले अनुभव गर्न सक्दैनन् स्वभाविक
हो, म त जिउँदै कयौंपल्ट मरेको मान्छे
मलाई याद सम्हाल्ने बानी परेको छ
म जिउदो मुर्दा हुँ घोच्न पाउँछौ
चिमोट्न पाउँछौ
सम्झ अब
फेरि मार्नु पर्छ भन्ने चिन्ता नगर
यहाँ यादहरु पनि त यादमै हराउने गर्छन्
फेरि हराइदिउँला नि के भयो र ?
हराएको यादमा त हुन्छौं नि ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button