
भेलिपल्टै रहने छैन छाउगोठको नामोनिसान
कविता: छाउगोठ
कृष्ण बाउसे
भोटका भोगीहरूले
मुस्मुन्द्रे पाराले त्यसको पक्षपोषण गर्न छाडिसक्थे
गैससका चतुरेहरूले
त्यसका तस्विरहरू खिच्न छाडिसक्थे ।
तिमी त्यहाँ बस्नुपरेको भए
त्यसलाई बाले नै
उहिल्यै भत्काइसक्थे
र आमाले नै
उहिल्यै
काठजति चुलोमा लगेर बालिसक्थिन्
र ढुङ्गाजति फोडेर गिटी बनाइसक्थिन् ।
पत्याएनौ ?
मेरो जननेन्द्रियले
ममा गर्भाधान हुनसक्ने न्यूनतम् योग्यता पुगेको सूचना दिनासाथ
म त्यहाँ जानै परेजस्तै
तिम्रो जननेन्द्रियले
गर्भाधान गर्न सक्ने न्यूनतम् योग्यता पूरा गरेको सूचित गर्नासाथ
तिमी पनि छाउगोठ गएर बसिहेर त !
मेरो प्यारो भाइ !
म ठोकुवा गरेरै भन्छु
भेलिपल्टै रहने छैन
छाउगोठको नामोनिसान
र शब्दकोशबाटै हराउने छ
छाउगोठ भन्ने शब्द ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



