
म त तिम्रो बारेमा पनि सोच्छु
बिमला शर्मा
जनस्वास्थ्य विशेषज्ञ, गण्डकी मेडिकल कलेज
म त तिम्रो बारेमा पनि सोच्छु
तिमीले नसोचे पनि सोचिरहन्छु ।
तिमीले कमिसन खाएर बनाएका पुल र बाटोहरु भत्किँदा
कहिँ कतै तिम्रा आफ्नै मान्छेहरु नपरुन् ।
तिमीले कमाएको अकुत कालो धन छताछुल्ल हुँदा
तिमीलाई तिम्रा आफ्नै छोराछोरीले छि छि र दुर् दुर् नगरुन् ।
तिमी कुर्सीमा बसेको मान्छे, आफु र आफ्नालाई मात्र पोसिरहँदा
तिमीलाई तिम्रा आफ्नै पितृ आत्माहरुले धिक्कार् छ तँलाई कहिल्यै नभनुन् ।
म त तिम्रो बारेमा पनि सोच्छु
तिमीले नसोचे पनि सोचिरहन्छु ।
तिमीले भित्रभित्रै चुसेका स्कुल कलेजहरु गर्ल्याम्मै ढल्दा कुनै दिन
तिम्रा आफ्नै नातिनातिनीहरुले अशिक्षा र अन्धकार भोग्न नपरोस् ।
तिमी आफैले खोक्रो पारेका अस्पतालले उपचार सेवा दिन नसक्दा
कहिँ कतै तिमी आफै अकालमै मर्नु नपरोस् ।
तिमी पनि अजम्बरी त होइन क्यारे
अरुलाइ सिध्याउन लगाएको आगो तिम्रो आफनै घरभित्र कहिलै नछिरोस् ।
त्यसैले, तिमीले पनि सोच अब मैले जस्तै,
कस्का लागि र के का लागि
आफ्नो लागि धेरै गरेऊ
अब गर सबैको लागि ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



