कसरी कोपिलाले आत्महत्या गर्न सकी भनेर रेवतीको दिमाग घुमिरह्यो

कथाः मृत्युको कवुलियतनामा

मिरा पुडासैनी

आजकल मायाप्रितका गीतहरू बकवास लाग्न थालेका छन् कोपिलालाई । उसो त स्कुल र कलेजताका ऊ खुब एफएम सुन्ने गर्दथी । प्राय उसका कलेक्सनहरूमा माया प्रेमकागीत नै धेरै हुन्थे ।

माया त कहिल्यै पुरानो नहुनु पर्ने हो । तर किन किन आजकल आफ्नो माया डेट एक्सपायर भईसक्यो भनेर भनिरहेकी हुन्थी । हामीले यसलाई ख्याल ठट्टा हो भनेर बुझेका थियौं ।

५ वर्षको प्रेम सम्बन्धपश्चात घर परिवारका माध्यमबाट नै उसको विवाह विकाससित भएको थियो । दुवै खुव खुशी र सुखी देखिन्थे । त्यस यताका १५ वर्षमा उनीहरू दुवैको प्रेम, सहयात्रा हरपल उत्कृष्ट नै देखिन्थ्यो । यी दुवैको पढाई, पारिवारिक तथा व्यवसायिक जीवन पनि सधैँ व्यवस्थित नै थियो । पर्फेक्ट म्यारिज झैं देखिने उनीहरूको जीवनमा कहिलेदेखि त्यो निराशापन आयो भनेर न त उसले कसैलाई भनेकी थिई, न त कसैले अनुमान पनि लगाउन सकेको थियो ।

काममा व्यस्त रहने उसको श्रीमान विकासले पनि कहिल्यै यो कुराको भेउ लगाउन सकेको थिएन कि वा उनीहरू बीचमा संवादको खाडल नदेखिने गरि गहिरिरहेको थियो, त्यो उनीहरू नै जानुन् । तर पनि दुनियाँलाई देखाउन उनीहरू पारिवारिक सन्जालमा सन्तुष्ट नै देखिन्थे देखिनलाई त ।

एक पढेलेखेकी सक्षम र आत्मनिर्भर महिला कापिलालाई नपुग्दो केही छैन । श्रीमानमा पुर्ण निर्भर हुनु पर्ने उसको स्थिति पनि होइन । तर ऊ आजकल किन बेग्लै भएकी थिई, उसका साथीभाइहरूले केही भेऊ पाउन सकेका थिएनन् ।

मंसिरको कुनै एकदिन एकाबिहानै कसैले रेवतीलाई कोपिलाले आत्महत्या गरेको भनेर सुनायो । रेवती छाँगाबाट खसेजस्ती अवाक् भई खबर सुनेर । भगवानलाई खबर झुटो होस् भनेर पुकारिरही । कसरी एउटी प्रभावशाली महिलाको छवि बनाएकी कोपिलाले आत्महत्या गर्न सकी भनेर रेवतीको दिमाग घुमिरह्यो ।

रेवतीको घरबाट आधा घण्टाको दुरीमा कोपिलाको घर थियो । ऊ खुट्टा कमाउदै कोपिलाको घर गएकी थिई । धेरै भिडभाड देखिन्थ्यो, भिडमा कसैले भन्दै थियो, निद्रा लाग्ने ओैषधीको अत्याधिक सेवनले कोपिलाको मृत्यु भएको कुरा डाक्टरले पुष्टि गरेका रे । दुई चार बर्षदेखि निद्राको औषधी खाने गरेको कुरापनि त्यसै भिडमा कोहि भन्दै थिए ।

यो सबकुरा मान्न रेवती तयार थिईन, कोपिला डिप्रेसनमा रहेको र औषधी सेवन गर्ने गरेको कुरा सुनेर रेवतीले अलि अगाडि कोपिलासगँ भेट हुदाँ उनीहरू बीच भएको वार्तालापलाई सम्झिन थाली ।

उसले भनेकि थिई, ‘खै किन हो, हेर न रेवती, आजकल मलाई कसैप्रति मायाभाव नै आउँदैन, खाली रिस उठेर आउँछ, कसैसगँ बोल्न मनै लाग्दैन, छोराहरू देखेर नि रिस मात्र उठिरहन्छ, भनेको केही मान्दैनन्, नजिकै पर्दैनन्, केही सोध्यो भने झर्केर छोटो उत्तर दिएर उम्किहाल्छन् । नजिक बसेर परिवारसँग कुराकानी नभएको एक जुग नै भइसक्यो । कसैलाई मसँ बसेर कुराकानी गर्ने फुर्सद नै छैन । कतै जाउँ न बरू ५, ७ दिनको निम्ति घुम्न ।’

‘छोराहरू हुर्केछन् अब, तिनलाई आमा नचाहिने भएछ जस्तो लाग्न थाल्यो’, उसले भनेको कुरालाई हल्का बनाएर मैले भनेकी थिएँ ।

‘यस्तै त हो नि, उमेर लाग्दै गएपछि कहाँ छोराछोरी सधै आमा वरिपरि झुम्मिन्छन् त !’

‘तँ पनि छोराहरू सानै छन् भनेर नसोच न, अनि यो उमेरमा फेरि छोराछोरीलाई धेरै किचकिच पनि गर्नु हुन्न नि, केही तल माथि होला, विचार गर’, मैले भनेकी थिउँ उसलाई, तर मलाई त्यतिबेला के थाहा, कुरा यति भयानक भइसकेको रहेछ भनेर ।

‘अब त काम गर्न पनि मन लाग्दैन मलाई त’, प्राय जसो घरायसी कुराकानी खुलेर गर्न मन नदेखाउने उसले भनेको कुराहरू झलझली सम्झिएँ मैले । के थाहा उसको मनमा गडेर बसेको घाउ बिसाइसकेको पो रहेछ ।

मैले देखेदेखि नै कोपिलाले घर परिवार, अफिस, छोराछोरी सबैलाई कति सजिलै व्यवस्थित गरिरहेकी थिइ, पढाई सबै सकाएर विवाह गरेकी शिक्षित कोपिलाले आत्महत्याको बाटो रोजिसकेकी थिई भनेर मन अझै मान्न तयार थिएन ।

‘कति काम गर्नु, सधैँ काम, अब त कतै तिर्थ गर्न जाउँकी जस्तो लागिरहन्छ’, हाँसेरै भनेकी थिई उसले, कस्तो सुख मात लागेकी आईमाई रहेछ भन्ने लागेको थियो मलाई उसको यो कुरा त्यति बेला ।

पुरुषको छाँयामा रमाउने खालकी थिईन कोपिला, बरू पुरुषसँग प्रतिस्पर्धा गर्ने मानसिकता र पाएको जिम्मेवारी कुशलतापूर्वक बहन गरेर पुरुषभन्दा कमजोर नभएको प्रमाणित गर्ने जुझारु महिला पो थिई त ।

तर कसरी यो सब भयो ?

कोपिलालाई बेहोस अवस्थामा अस्पताल लगिएको रहेछ र अस्पताल पुगेकै समयमा नै मृत भनेर घोषणा गरेको रहेछ । अब थप अनुसन्धान गर्ने कुराहरू हुँदै गर्दा, पुलिसले कोपिलाको कोठाबाट एउटा राष्ट्रिय पत्रिकाको एक टुक्रा फेला पार्यो जुन पानामा ‘मृत्युको कवुलियतनामा’ शिर्षकमा कुन्ज शर्मा लेखकको नामबाट एकहप्ता अगाडिको मितिमा प्रकाशित एउटा कथा सिरानी मुनिबाट पुलिसले फेला पारेको रहेछ भन्ने सुनियो । योबाहेक अरू केही शंकास्पद कुराहरू थिएनन् जस्ले कोपिलाको मृत्युलाई आत्महत्याबाहेक अरू केही भनेर पुष्टि गरोस् ।

यो पत्रिकामा गएर पुलिसले अनुसन्धान गरेको भन्ने पनि सुनियो, तर सम्पादकले कथा कुन्ज शर्मा नामक लेखककै नाममा कथा स्तम्भको लागि भनेर २ हप्ता अगाडि पत्राचार भएर आएकोले र कथा राम्रो लागेकाले प्रकाशित गरिदिएको भनेका रहेछन् र त्योबाहेक उक्त लेखकको परिचय कसैले खुलाउन सकेन भन्ने पनि सुनियो ।

यस घटनापछि त्यो पत्रिका खोजिखाजी धेरैले पढे रे ।

रेवतीलाई यो कथा पढुन्जेल किन किन त्यो कथाकी मुल नारी पात्र कोपिलाकै हो भन्ने लागिरह्यो । कोपिलाका अरू साथीहरूले नि त्यहि मानिरहेका रहेछन् ।

विगत १०-१५ बर्षदेखि घरपरिवार, व्यवसाय, सबैलाई समेटेर लैजादाँलैजादै कतिबेला कोपिलाको जीवनबाट खुशीका पत्र पत्र चुडिईदै गएछन्, उस्ले पत्तै पाइनछे । उसका श्रीमान जोसँग उसले प्रेम गरेकी थिई उसैसँग मागी विवाह गरेकी उसले कुनै कसर राखेकी थिईन आफुलाई र परिवारलाई मजबुत बनाउनको निम्ति । उसका श्रीमानले खोजे जस्तै ऊ सदा सर्वदा एक पर्फेक्ट कामकाजी श्रीमतीका साथै पर्फेक्ट ईन्टरप्रेनियर दुवैको भुमिकामा आफुलाई अब्बल सावित गरिरहेकी थिई ।

तर समय क्रमसँगै उसको व्यवसायिक काम, पारिवारिक बोझ, घरपरिवारको जिम्मा तथा हुँर्कदै गएका छोराहरूको रेखदेख सम्पूर्ण उसैको काँधमा मात्रै परिरहेकोले उसमा निराशा बढ्दै गएको कुरामा घर परिवारले त्यति चासो राखेको रहेनछ । निक्कै नै व्यस्त श्रीमानसँग समयको सधैँ अभाव प्राय मिटिङ र सेमिनार, गोष्टिमा गई रहने श्रीमानसँग उसको संवाद नै हुन नसकेको, बढ्दो उमेरसँगै शारिरिक र मानसिक परिवर्तन, त्यससँगै विस्तारै शरिरमा देखिन थालेका रोगका कारणले पनि ऊ चिन्तित हुन थालेकी रहिछे। आफुलाई के भयो भनेर सोध्ने कोहि पनि नहुने अवस्थामा आईसक्दा त ऊ डिप्रेसनको जटिल अवस्थामा पुगिसकेकी थिई । उसको रोगको बारेमा घरमा जानकार कोहि थिएनन् । वयस्क उमेरतिर लम्कदै गएका छोराहरूलाई पढाई र उमेरको प्राथमिकताले टाढा पुर्याईसकेको थियो । कामको चापले होला भन्ठानेर घर परिवारले पनि कोपिलाको परिवर्तित मनोस्थितिको बारेमा भेउ पाउन सकेन । अनि श्रीमानले पनि कहिल्यै उसँग घर परिवार, कामबाहेक अरू कुराहरूतिर ध्यान दिए ।

श्रीमान त केवल आफू जस्तै सक्षम, सुन्दर, शिक्षित र व्यवस्थित श्रीमती पाएकोमा दङ्ग थिए । तर समय सधैं एकनास रहदैन भन्ने कुराको ज्ञान उनलाई कोपिलाको अप्रत्याशित मृत्युपछि मात्र थाहा भयो । हुन त काँधमा काँध मिलाएर हिडिरहेकी कोपिलासगँ उनका श्रीमानले कुनै अन्याय त गरेका हैनन् । उनको एउटै मात्र कमजोरी श्रीमतीलाई समयमा नै बुझ्न नसक्नु रह्यो । कोपिलाका अनुहारमा कहिल्यै उनले निराशा देखेनन् । सफा देखिएका सबै चिजहरू कहाँ सफा हुने रहेछन र ? कोपिलाले पनि बाँचुन्जेल एक असल आमा, कर्तव्यपरायण श्रीमती र असल बुहारीको भुमिकालाई कुशलतापुर्वक निभाएर अन्तिममा चुपचाप सबैलाई एउटा भयानक सत्यको पर्दाफास गराएर गई ।

‘मृत्युको कवुलियतना’मा पढेर रेवतीले पनि कोपिलाका जीवनका कतिपय अघोषित सत्यहरूलाई उसँगका कुराकानीको फ्ल्यासव्याकमा गएर यो निर्क्यौल लगाई कि त्यो कथा जुन पत्रिकामा छापिएको र मृत्युपछिको अनुसन्धानमा उसको सिरानीमुनि फेला परेको कथाको पाना उसैको सुसाईड नोट थियो र कोपिला शर्मा उर्फ कुन्ज शर्मा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button