पेटमै हुँदा नेपालीलाई लाग्छ रिनको भाग

कविता

उद्धव अविचल

कृषिमा के क्रान्ति होला सोच्दै छु म आज
मल बिउ दुबै छैन किसानको माझ ।
खेतबारी पूरै बॉझो युवाहरु खाडी
नेताबाट ओर्लिन्छ आश्वासनको बाढी ।

पिर ब्यथा कति पोखौ लाग्छ संधैभरी
अर्थतन्त्र सम्झँदा नि लाग्छ कठैबरी ।
पेटमै हुँदा नेपालीलाई लाग्छ रिनको भाग
आफै देख्दा आफूलाई नै लाग्न थाल्यो लाज ।

नेपालीको सान थियो वीर गोर्खालीको
छिमेकीले हेप्छ अचेल सिमाना नै निल्यो ।
भृकुटी र जनक रोलान् सम्झी हाम्रो ब्यथा
बेवास्ता भो रोई राछ हाम्रै सगरमाथा ।

मरुँ मश्रँ लाग्ने बन्छ भन्छन् हाम्रै घाट
उद्घाटन गर्नुपर्छ हाम्रै नेताबाट ।
एउटा कुरा भन्छु फेरि लौ है अन्तिम चोटि
घाट हैन देश बनाऊ बिन्ति कोटी कोटी ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button