जीवनसाथीलाई गुमराहमा राखी परपुरुष र परस्त्रीबीच सम्बन्ध जोडिन्छ

महिला मुक्ति र नारी स्वत्रन्तता

सुशीला शर्मा
दमक, झापा

कोटी कोटी सलाम छ तिनलाई
जो महिला मुक्तिको आवाज गुन्जाएर
सदियौंदेखि लडेका छन्,
अनि नारी स्वतन्त्रताका खातिर
निरन्तर अघि बढेका छन्
यद्यपि संस्कारको नाममा
व्यहार सम्हाल्न विवश महिलाहरू
शारीरिक र मानसिक रूपमा
दासत्वका सिकार बनेका छन् ।
समाज परिवर्तनका सम्वाहकहरू,
राजनीतिक नेतृत्वकर्ता
र पेशागत आन्दोलनका अगुवाहरू,
एक कदम आफूले कुल्चिएको धरातल हेर
समाजको ऐनामा आफ्नो अनुहार हेर
चर्का नारा र मिठा भाषणमा खोज
महिला मुक्ति र नारी स्वतन्त्रताका आवाजहरू
खै त कहाँ छन् ब्यबहारमा ति आभासहरू ?
तथापी चर्का नाराहरूमा बुलन्द छन्
महिला मुक्ति र नारी स्वतन्त्रता,
सभामा भाषण, घरमा शासन
व्यवहारमा यहि छ वास्तविकता ।

सभ्यता र आधुनिकताको खोल ओडेर
सामाजिक संस्कारलाइ तिलान्जली दिँदै
समग्र नारी जगतकै बदनाम गर्ने
केहि नारीरूपी छद्मभेषीद्वारा
समाजमा कलंकको बिऊ रोपिन्छ ।
आफ्नै जीवनसाथीलाई गुमराहमा राखी
परपुरुष र परस्त्री बीच सम्बन्ध जोडिन्छ,
मन मिलेसम्म सम्बन्ध स्वीकारिन्छ,
सोचिन्न तिनका पारिवारिक परिवेश
र बुढ्यौली जीवनका परिबन्दहरू ।
मन नमिलेपछि तिनै षुरूषलाई
बलात्कारीको नामले पुकारिन्छ ।
आफ्ना दाजुभाइ, बुबा र मामा पनि
पुरुष नै हुन् भन्ने बिर्सिएर,
पितृसत्तात्मक राज्यसत्ताको उपमाले
पटकपटक पुरुषलाई नै धिकारिन्छ ।
तथापी चर्का नाराहरूमा बुलन्द छन्
महिला मुक्ति र नारी स्वतन्त्रता ।
सभामा भाषण, घरमा शासन
व्ययहारमा यहि छ वास्तविकता ।

दासत्वका अवशेषहरू तबसम्म रहन्छन्
जबसम्म स्वतन्त्रा र सुन्दरताको बहानामा
अर्धनग्नता र अश्लीलताले
यौन पिपासुहरूको मनोबल बढाईन्छ,
रूप र यौवनको उन्मादमा
उनीहरूकै भोगविलासको साधन बनिन्छ,
यौनप्यासले अतृप्त र अनमत्त
नरपशुहरूलाई प्रश्रय दिइन्छ ।
अवोध बालिकाहरूलाई बिनाकसुर
शारीरिक र मानसिक यातना मात्र होइन,
अपहरण, बलात्कार र निर्मम हत्या गरिन्छ ।
बलात्कारीलाई फाँसीको सजाय होइन,
पैसा र शक्तिको आडमा फरार गरिन्छ ।
पटकपटक अनेकौ बहनामा
दासताको श्रृङ्खलाबद्ध जाल बुनिन्छ
नारीलाई प्रतडना सहन बाध्य पारिन्छ ।
तथापी चर्का नाराहरूमा बुलन्द छन्
महिला मुक्ति र नारी स्वतन्त्रता ।
सभामा भाषण, घरमा शासन
व्यवहारमा यहि छ वास्तविकता ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button