कवि सुतेको देश !

कविता

पेशल आचार्य

त्यसो त अक्षरहरू
सुतेका छन्
पृथक भावहरू
अभिव्यक्तिका
पसल बन्द गरेर
चुनाउमा भोट खसाल्न भनी
मुखे दैलो बन्द गर्दै
बुधबारै गाउँ गएछन्
यता सहरमा
एउटा आख्यानकार
लखरलखर
अर्को आख्यानकारलाई
आफ्नो भर्खरै प्रकाशित उपन्यास
उपहार दिन
पुलमा पर्खिरहेछन्,

कविहरू
भोट दिन गाउँ पसेका छन्
गाउँमा यतिखेर
जूवा बन्द छ
जाँड बन्द छ
बोल्न बन्द छ
अरू त अरू
निर्वाचन अयोगको
फर्मानले
यो त्यो केही बोल्नै भएन
अरूलाई त के हुन्छ कुन्नि
कविलाई सकस हुँदो रहेछ
वाणी प्रशारण गर्न नपाउँदा
एउटा कवि
टाँडमा गुन्द्री ओच्छ्याएर
दिउँसै मस्त निद्रामा छ,

म चिन्तित छु
कवि सुतेको देशको
भविष्य अब कसले जिम्मा लिने हो ?
मेयरले
उपमेयरले
वडा अध्यक्षले
वडा सदस्यले
निर्वाचन अधिकृतले
मतदान अधिकृतले
या निर्वाचन आयोगले ?

कवि सुतेको देशमा
मौन अवधि
सुचारू छ
त्यसैले बोल्न हुन्न
तर यहाँ
अक्षरहरू नबोली रहन पनि त सक्दैनन् !!


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button