
तिम्रो सम्मानमा लेखेँ
शकुन्तला देवकोटा
न कुनै नाम न कुनै परिचय
हिजो बिल्कुलै अन्जान थियौ हामी
आजको परिचयले नजिक बनायो
सुन्दर भविष्यका लागि
जीवन जिउने आधार बनायो ।
खुसियाली जिन्दगीमा
अझै खुसी थप्न कहाँबाट आयौ तिमी
अन्जान भए पनि क्षणिक मित्रताले
प्रणय सम्बन्ध बनायो ।
कसैको कारण पीडा गुन्जिएको
मेरो मनको तारमा
तिम्रो कोमल स्पर्शले
मलमको काम गर्छ कि भन्ने
आशा पालेको छु
मनन गरेको छु र
तिम्रो चाहना बुझेकी छु ।
समय लाग्छ कुनै दिन
तिम्रो त्यो आशा र भरोसा
यथार्थमा परिणत हुन सक्छ
स्वार्थमा भुलेका
सारा दुनियाँलाई देखेर
म डराएँ
माफ गर एक पटकलाई ।
छोटो संगतमा तिमीलाई
मैले जति नियाल्ने मौका पाएँ
तिम्रो सम्मानमा दिने शब्दहरू
शब्दकोशका कुना कुना खोज्दा पनि
भेट्टाउन सकिनँ
यो त केबल रहरले लेखें
अलिकति कर्तव्यले लेखें
लेखें अन्तरह्रदयले
तिम्रो सम्मानमा लेखें ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



