
०७९ः सबैको हित गर्नुपर्छ, सबैको मित बन्नुपर्छ
तारा श्रेष्ठ
विराटनगर-६
नयाँ वर्ष
तिमी उजाडिएका डाँडा पाखाहरुमा
हरियाली बन्नुपर्छ ।
देउराली र भन्ज्याङमा
सृजनाका फूलहरु फुल्नुपर्छ ।
कलेटी परेका ओठहरूमा
मुस्कान भर्नुपर्छ ।
भिजेका परेलीहरुमा
सपना सजाउनुपर्छ ।
लालाबालाका पेटहरूको
गाँस बन्नुपर्छ ।
नाङ्गे ढाडहरुमा
लाज छोप्ने कपास बन्नुपर्छ ।
अनि सडक सडक भौंतारिनेहरूका
बास बन्नुपर्छ ।
दिनदहाडै बलात्कृत
आमा र छोरीहरुका लागि
न्याय बन्नुपर्छ ।
अन्यायी र अत्याचारीविरुद्ध
बिगुल फुक्नुपर्छ ।
शान्ति र सृजनाको
बिउ रोप्नुपर्छ ।
परिवर्तनको किरण बोकेर
छाउपडीमा पुग्नुपर्छ
गोठ, गोठमा पुग्नुपर्छ
चेलीका चहर्यारहेका घाउहरुको
मलम बन्नुपर्छ ।
गरिबी र उत्पीडनले
छट्पटिएका बाहरूका
आशा बन्नुपर्छ ।
अक्षरहरुका ब्याडमा
सिपका ज्योति फैलाउने
भरोसा बन्नुपर्छ ।
जूनले पोख्ने शीतल
शीत बन्नुपर्छ ।
नयाँ वर्ष
तिमीले सबैको हित गर्नुपर्छ
सबैको मित बन्नुपर्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com मा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



