
प्रजातन्त्र: कविताको कविता
कविता पन्थी
ठूला अनि धनी नेताको भाषण सुन्न
गाउँबाट शहर आएकी
आमसभाको बिचमा हराएर
काखे बच्चाको साथमा अलपत्र
कान्छीले सोध्दै थिइन्
यही हो प्रजातन्त्र ?
धनी मालिकको अन्याय सहन नसकी
न्यायको लागि सडकमा उत्रिएका
कृषकले सोध्दै थिए
यही हो प्रजातन्त्र ?
छोराको हत्यारालाई कारवाही गर्न
अनसनमा बस्दाबस्दै ज्यान गुमाएका,
कलिली छोरीले भोग्नुपरेको पीडाको
न्याय खोज्दै आँखामै आँसु सुकाएका
आमाले सोध्दै थिए
के यही हो प्रजातन्त्र ?
देशमा रोजगारी नपाउँदा
मास्टर्सको सर्टिफिकेट बाक्सामा कोची
खाडी जाँदै गरेको युवाले
इशारामै सोध्दै थिए
के यही हो प्रजातन्त्र ?
ठिक त्यतिबेला नै
विदेशबाट बाकसमा फर्किएको
आफ्नो छोराको शव देखाउँदै
वृद्ध बाबा कलिली बुहारी र काखे नातिलाई
देखाउँदै भन्दै थिए, देख्यौ त प्रजातन्त्र ?
यो सब चुपचाप देखिरहेको
प्रजातन्त्र भने
लाजले मुख रातो बनाउँदै
सिंहदरबार छिर्दै थियो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




