
मात्तिएको केटो
लघुकथा
मित्र उराठी गौतम
अमरपुर, गुल्मी, हालः बुटवल
रातो साडी र झपक्क गहना पहिरिएका उनीहरु हुल बाँधेर निस्केका थिए । सायद विहेभोज वा कुनै पार्टीबाट निस्केका होलान् । बिस्तारै बिस्तारै हाँसको चालमा अगाडि बढ्दै थिए ।
हातको पार लगाउँदै एउटीले कुरा गर्थीन् । हो मा हो मिलाउँदै अर्किले कुरा थप्थिन् अनि हाँसोको पहिरो हुन्थ्यो ।
कोभन्दा को कमको भावमा गफ मज्जैले भैरहेको थियो । हतार कसैलाई थिएन । हिँडाइको छाँटले सबै फुर्सदिला र वेफिक्र देखिन्थे ।
यत्तिकैमा पछाडिबाट बाइकले जोडको हर्न बजायो ।
‘हामी कान सुन्दैनौ जस्तो लाग्यो ? कति जोडले हर्न बजाएको ? तर्सेर झण्डै लडिनँ’, खाउँला झैँ गरी बाइकवाला युवकलाई झपारिन् एउटीले ।
‘सबै आफ्नै जस्तो ढपक्कै बाटो ढाक्नु भएको छ, हर्न त बजाउनै पर्यो नि’, युवकले जवाफ फर्कायो ।
‘हैन, कस्तो सोमत नभएको केटो हो ? अझ मुखमुखै पो लाग्दो रहेछ । आजकलका केटाहरु के साह्रो मात्तिएका हुन् ? बुद्धिसुद्धी छैन, त्यसै टिमुर्किन्छन्’, अर्कि जङ्गिइन् ।
‘अरुको कुरा काट्दै गर्दा आफ्नो धोती फुस्केको थाहा छैन ? आफ्नो घरको आँगन झैँ गरी वेपर्वाहसँग सडक ढाकेका छन्, अझ अरुलाई सोमत नभएको भन्छन्’, युवकले मनमनै भन्यो ।
थप बोलेर अनावश्यक लफडा गर्नु उचित ठानेन, युवक आफ्नो बाटो लाग्यो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




