
प्रीति र तोरी
छन्द: अनुष्टुप्
प्रीति आत्रेय ज्ञवाली
बारीमा प्रीतिको तोरी फुलेको लटरम्म रे ।
घारमा माहुरीको ता मह टन्नै भएछ रे ॥१॥
सुनेरै खस्खसै भो है आत्तियो मन लौ अति ।
आरीमा सुन्तला उस्तै अमिलो पनि छन् जति ॥२॥
लाग्छ प्यारो मलाई ता आफ्नै देश रमाइलो ।
दिनै सम्झी बिताएको मन भो तम्तमाइलो ॥३॥

तोरी फुल्ने भयो बेला पहेँलै हुन्छ खेत नै ।
भुन्भुनाउँछ मौरी ता घमाइलो हुने दिनै ॥४॥
जाडो याम र तोरीको सम्बन्ध बलियो अति ।
रातिमा तेल तातेको गोडामा घसिने कति ॥५॥
दिउँसोमा रमाऊँदै तोरीका फूलमा कति ।
फोटो कस्तो भनी हेर्दै क्यामेरामा भए जति ॥६॥
मिलेमा यसपाली ता आउनेछु घरै अनि ।
केटाकेटी रमाऊलान् सँगै श्रीमान नै पनि ॥७॥
कोरोना-काल के भन्छ भेरिएन्ट नयाँ छ रे ।
आमा-बा घरमा बाटो हेर्दै गन्दै दिनै अरे ॥८॥
माइतीघरमा आमा इष्ट-साथीहरू यहाँ ।
सोध्दछन् भेटुँ है भन्छन् यसपाली भनी कहाँ ॥९॥
छमर्को गर्छु बेलाको अनि पायक ठाउँको ।
मिले ता भेट्छु है भन्छु नमिले के भनूँ अहो ॥१०॥
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



