कोठाः एक रोचक प्रेमकहानी

ती घाँसका मुन्टा सुम्सुम्याउनेछु, जसलाई उसले मसँग बोल्दै गर्दा निमोठेर फालेको थियो । ती बिरुवाहरुसँग माफी माग्न चाहन्छु, जहाँ ऊ उभिएर कुरा गर्थ्यो ।

कथा

सविना सापकोटा

त्यस दिन ऊ सायद त्यो पारीको डाँडामा बसेर रोएको थियो र मलाई चितवनबाट काठमाडौंसम्म आउन बाध्य बनाएको थियो ।

धादिङ जिल्लाको निलकण्ठ नगरपालिकामा अवस्थित सोल्टी होटेलको दक्षिणतिरको कोठाको झ्यालबाट बाहिर हेर्दा देखिने नजिकैको डाँडाले उसका यादरुपी घाउ यसरी ताजा बनाइदियो कि भर्खर मुटुलाई ब्लेडले क्रस पारेको छ ।

हिजोदेखिको हुटहुटी बल्ल बुझ्दै छु । अहिले आएर मन शान्त भएको अनुभूति भैरहेको छ । हिजोदेखि अहिले यतिबेला समयको हिसाबकिताब केहि छैन जस्तो लागिरहेछ । म कहाँ के कुरामा यसरी अल्झेको होला पत्तो पाउन सकेकी थिइनँ । अहिले लगभग शान्त मनको गति बुझेर अनुमान लगाउँदै छु ।

कलेजबाट इमेल आएको रहेछ, आजको लागि मात्र भनेर, मास्टर्स इन काउन्सेलिङ साइकोलोजी प्रयोगात्मक अध्ययनका लागि धादिङ लगिने र डिप्लोमाका विधार्थीमध्ये दुई जनालाई समावेश गराउन सकिने हुदाँ इच्छुकहरुले आज पाँच बजेसम्म निवेदन दिनु भनेर । म काठमाडौं जिल्ला अदालतमा थिएँ । इमेलको उतर दिन मिल्ने अवस्था थिएन ।

जिल्ला अदालतबाट फर्किंदा पौने पाँच बजिसकेको थियो । घर पुग्नासाथ मोबाइलले केहि सन्देश आएको संकेत दियो । हत्तपत्त खोलेर हेरेँ । कलेजको त्यहि इमेल रहेछ । अनि तत्काल ‘आइ एम भेरी इन्ट्रेस्टेड’ लेखेर पठाएँ । मनमा यसै खुशी पलाएर आयो । लाग्यो ठुलै उपलब्धि भएको छ । पछि फेरि अर्र्को चिन्ताले सताउन थाल्यो, ‘जम्मा दुई जना भनेको छ, म जस्तै जान मन भएका कति धेरै होलान् ।’

घरीघरी सोचिरहेँ, ग्रुप इमेलमा ‘भेरी इन्ट्रेस्टेड’ किन लेखेको होला ? ‘आइ एम इन्ट्रेस्टेड’ मात्र लेखेको भए पनि हुन्थ्यो नि । ‘म नै बुद्धु छु के’ भन्दै आफैलाई गाली गर्दै रात काट्यो । अहिले सम्झिँदा पनि हाँसो उठ्छ । आखिर किन मलाई त्यति हतारो थियो होला यो ठाउँमा आउन ? म विभिन्न प्रोजेक्टहरुको सिलसिलामा नेपालका धेरै डाँडा, उकालो ओरालो हिँडिसकेको थिएँ । तैपनि एक दिनको लागि यो ठाँउमा पुग्नको लागि मेरो मन निकै हतारिएको थियो ।

भोलिपल्ट कलेज गएँ । केहि कुरा भएन । मन यसै निरास भैरह्यो । पढाइमा पनि खासै मन लागेन । यसै कता–कता हराइरहेँ । कलेज सकेर जावलाखेल–एकान्तकुना–बल्खु रुटको गाडी चढेर घर जादै थिएँ । पुल्चोक पुग्दै गर्दा फेरि मोबाइलको डाटा खोलेर इमेल चेक गरेँ । घरसम्म पुग्ने धैर्यतासम्म रहेन । म भित्रभित्र निसास्सिरहेकी थिएँ । तर किन ? यसको जवाफ अहिले पनि छैन । इमेल चेक गर्दा त कलेजको इमेल रहेछ । म त छक्क परेँ । जम्मा चार जनाले इच्छा देखाएको जानकारीसहित म पनि छनोटमा परेको सन्देश रहेछ । मेरो खुशीको सिमा नै रहेन । संगै सिटमा बसेकी सुस्मितालाई सुनाइहालेँ । सायद एउटा बच्चालाई मनपर्ने चकलेट दिँदा जति खुशी हुन्छ, म पनि त्यस्तै भएकी थिएँ होला । सुस्मिताले निकै सहज मुडमा भनी, ‘ए हो र, राम्रै भएछा नि । अनि किन यति विधि रमाइराहेको त ? सधै फिल्ड भिजिट गरिराख्ने मान्छे नि पहिलो पटक जान पाको जसरी ?’ ऊ पोखराकी गुरुङ केटी । मनमा लागेको प्वाक्क बोलिहाल्ने ।

मैले अलि सहज हुदै भनेँ, ‘त्यस्तो होइन, तपाईंलाई त्यस्तो लाग्या मात्र हो । म त यस्तै त हो नि ।’

उसलाई मेरो कुरा विश्वास लाग्यो, लागेन थाह भएन । तर मलाई आफु बच्चा जस्तो भएकोमा भित्रभित्र लाज लागिरहेको थियो । हामी ओर्लिने नख्खु दोबाटोमा गाडी रोकियो । हामी घर जाने बाटोमा एउटा फलफुल पसल छ, जहाँ हामी सधै नरिवल पानी खाएर मात्र घर जान्छौं । मलाई एउटाले धित मरेन । अर्को पनि खाएँ । खुशीले नाच्न मन लागेको थियो । बाटोमा नमिले पनि मनमनै नाच्दै घर पुगेँ ।

घर पुगेर दाइलाई पनि सुनाइदिएँ । दाइले फ्याट्ट सोध्यो, ‘खर्च पानी कसले तिर्छ त ?’

सुरुमै इमेल आउँदा नै प्रस्ट भनिएको थियो कि आफ्नो लाग्ने खर्च विद्यार्थी आफैले तिर्नुपर्ने छ । मैले दाइलाइ ढाँटिदिएँ ताकि मेरो खुशीमा कुनै वाधा नपरोस् । दाइलाई प्रायः मेरा यस्ता बानी मन पर्दैन । आफनै तर्क छन् । त्यस्ता कुराबाट बच्न कहिलेकाहीँ ढाँटिदिन्छु । धेरैजसो त पत्याउँदैन तर यसपाली पत्यायो । मैले भनेकी थिएँ, कलेजले तिरिहाल्छ नि, कलेजले आफै लैजाने हो । ए ए भनेर दाइ चुप लग्यो । धन्न अरु केहि सोधेन भनेर झन् खुशी भएँ ।

भोलिपल्ट बिहान चार बजेर उठेर कपालमा कनर गरे । नुहाएँ । अरुबेला कलेज जान पाँच बजे उठ्न समेत धौधा हुने मैले चारै बजे उठेर किर्तिमान नै राखेकी थिएँ । नुहाइधुवाई सकेर ग्यास्ट्रिकको औषधि खाएपछि पन्ध्र बीस मिनेट केहि खान नहुने समयको सदुपयोग गर्दै हिजो ठिक्क पारेर राखेको लुगा लगाएँ । आफुसँग लैजाने सामान त बिष्णुजीसँग सल्लाह गरेर हिजो नै तयार गरिसकेकी थिएँ । तै पनि एकपटक चेक गरे । सायद यो काम पनि मेरो लागि नयाँ किर्तिमान थियो । नत्र त पहिलेका यात्रामा, एक हप्ताकै किन नहोस्, हिँड्नु भन्दा एक घण्टाअगाडि मात्र घरै उचाल्ने गरी हल्लाखल्ला गरेर सामान प्याक गर्ने म अघिल्लो दिन सबै मिलाएर बसेकी छु । बुवाले यो देख्नु भएको भए बल्ल यसको बुद्धि पलाएछ भनेर दङ्ग पर्नुहुन्थ्यो होला । नत्र त यात्रा मेरो, तनाव बुवालाई हुन्थ्यो । यो हालिस्, त्यो हालिस् भनेर दस पटक रुजु हुन्थ्यो ।

फटाफट किचनमा गइ तातो पानी, चिया र मकैको चिउरामा तातो दुध हालेर खाइसक्दा सवा पाँच भैसकेको थियो । मेरो अवस्था बुझ्न बिष्णुजीको फोन आयो । मैले ढिला नगरी म अब पन्ध्र मिनेटमा टि यु गेटमा पुग्ने वाचा गर्दै पठाओ बोलाइहालेँ । बिष्णुजी त्यो कार्यक्रम अवधिको लागि संयोजक तोकिनु भएको थियो । सोहि अनुरुप सबैजनालाई साढे पाँचभित्र टि यु गेटमा उपस्थित हुन हिजै बेलुका सन्देश पठाउनु भएको थियो । र, बिहान फेरि एकपटक सम्झाउन फोन गर्नुभएको रहेछ । म यति आतुर छु भन्ने विचाराहरुलाई के थाह ?

म बाटोमा जादै गर्दा फेरि बिष्णुजीको फोन आयो, ‘अरु साथीहरु बल्खुमै बस्ने कुरा छ, तपाईं पनि त्यति बस्दा हुन्छ ।’ म बल्खु झरेँ । मसँगै जाने भनेका कलेजका साथीहरुलाई फोन गरेँ । रात्री कक्षाका दुइ जना आउने कुरा रहेछ । बिष्णुजीले नम्बर पठाएपछि फोन गरे । चिनजान थिएन । त्यहि गएर चिनजान गरें । मनिषजी र सुशीलजी । त्यसो त बिष्णुजीसँग फोनमा मात्र कुरा भएको थियो । यात्रामा सामेल हुने अन्जान सर र शिशिर सरबाहेक कसैसँग चिनजान थिएन । तर पनि एकपटक पनि ख्यालमा आएन कि म नचिनेका साथीहरुसँग अझ भनुँ सिनियरसँग जाँदैछु । थियो त केवल उत्सुकता र खुशी ।

पी जी डीका हामी तीनजना र बिष्णुजी भ्रमण बसमा छाडेर टि यु गेट किर्तिपुर पुग्यौँ । जहाँ एम सी पीका विद्यार्थीहरु पर्खिरहेका थिए । सबैजना जम्मा भएपछि एउटा सामुहिक फोटो खिचेर हामी बसमा चढ्यौँ । त्यति बेलासम्म एक–दुई जनासँग त सामान्य कुराकानी भएको थियो तर कसैसँग पनि आत्मियता महसुस भएन । खासै कसैसँग कुराकानी गर्न मन लागेन । सिटमा गएर बसें । सिटमा पनि म एक्लै परेँ । कुनै गुनासो थिएन । म आफ्नै दुनियाँमा कताकता हराएँ, मलाई पनि थाह छैन । तर, म त्यहाँ एक्लै छु भन्ने कति लागेन । घरिघरि सँगैको सिटमा कोहि आएर बसेको जस्तो लाग्छ । तर, कसैसँग बोलिनँ ।

गाडी बल्खुनिर पुग्दा मैले पहिल्यैदेखि डाउनलोड गरेर राखेको अडियो बुक अच्युत घिमिरेले उज्यालो नेटओर्कका लागि तयार पारेको हरिवंश आचार्यको चिना हराएको मान्छेको भाग छ देखि पन्ध्रसम्म सुन्दै यात्रामा रमाइरहेँ । भन्न त साढे दुई घन्टाको बाटो हो भनेका थिए तर के–के गर्दा पुरै पाँच घण्टा लाग्यो । तर, पनि म बसमा भए पनि अच्युत घिमिरेले देखाएको हरिवंशको चलचित्र हेरेर दङ्ग थिएँ । अझ भनुँ हरिवंशसँगै उहाँको दुनियाँमा घुमिरहेँ । उहाँ रुँदा रोइरहेँ । हाँस्दा हाँसिरहेँ । रुँदा आँखाभरी आँशु हुन्थे । तर, हाँस्दा बाहिरै ठुलो आवाज आउने गरी धेरै पटक हाँसें । सबैले मलाइ पुलुक्क हेर्थे । म माफीको भावसहितको मुस्कान दिन्थेँ र फेरि आफ्नो तालमा सुनेर बसेँ ।

साँच्चै हरिवंश एउटा युगपुरुष नै हुन्, जसले धेरै संर्घष गरेर कलाकारितामा ख्याती कमाएका छन् र देशमा विभिन्न समयमा राजनीतिक आन्दोलनलाई सहयोग गरी देश बनाउने कार्यमा योगदान गरे । उनको यो पक्षबारे थाहा पाउँदा उनीप्रतिको आदर झन् बढेर आएको छ । हामी सानो छँदादेखि नेपाल टेलिभिजनबाट आउने धेरै कथानकहरुमा देखिएका हरिवंश आचार्यलाई पहिलो पटक प्रत्यक्ष रुपमा बागमती किनारमा भेटेकी थिएँ ।

२०६५ सालतिर म रेडियो सगरमाथामा प्रशिक्षार्थी पत्रकारका रुपमा काम गर्दै थिएँ । त्यतिबेला भर्खर बागमती सरसफाई अभियान सुरु हुने बहस चलिरहेको थियो । बागमती सफा राख्नुपर्छ भन्ने अभियन्ताहरुले आफ्ना कार्यक्रम बागमतीकै किनारमा आयोजना गर्ने गरेका थिए । सम्बन्धित निकायका पदाधिकारीहरुलाई बोलाएर छलफल गराउने गर्दै गर्दा कुपण्डोलको बागमती किनारमा आयोजना गरिएको त्यस्तै छलफल कार्यक्रम हरिवंश पनि आएका थिए । तर, त्यो एकछिन पनि नाक थुनेर बस्नु पर्ने ठाँउमा धेरै सरोकारवालाहरुको उपस्थिति थिएन । मैले हरिवंशको बोलीबाट नै समाचारको सुरुवात गरेको याद आयो । मलाई उनी निकै सरल लागेका थिए । उनको बारेमा लेखिएको पुस्तक सुन्दै गर्दा आँखाअगाडि त्यही आकृति सरर दौडियो ।
सुन्दै गर्दा एकपटक बेस्मारी नै हाँसेछु । छेउमा गोपालजी बस्नुभएको रहेछ । भन्नुभयो, ‘कति एक्लै हास्नुभएको ?’ त्यसपछि पो म झसङ्ग भएँ । र, सहज हुँदै भनेँ, ‘हरिवंशको किताब सुनिरहेको छु के । निकै हाँसो उठ्ने कुरा रैछ । सुन्ने हो ?’

गोपालजीले ‘हुन्छ’ भन्ने भावमा टाउको हल्लाएपछि मैले छोटकरीमा सुनाइदिएँ, ‘जतिबेला हरिवंश राजा ज्ञानेन्द्रसँग व्हिस्की गफ गरिरहेका थिए । अधिराजकुमारी शारदाले मासुको केहि परिकार ल्याएर दिइछन् । हरिबवशले ‘यो के हो सरकार ?’ भनेर सोधेछन् । शारदाले ‘यो बारी’ भनिछन् । त्यसपछि हरिवंशले ’ए हो र ? यो बारी म हरि’ भनेछन् ।

गोपालजीसँगै बसमा रहेका अरु दुई–चार जना पनि हाँसे एकछिन ।

हरिवंशको जीवन नै त्यस्तो हो कि ? अच्युत घिमिरेको लयको प्रभाव त्यस्तो हो ? अझै भेउ पाउन सकेको छैन । तर, पुस्तक निकै उत्कृष्ट लाग्यो । सुन्दा खुब आनन्द लाग्यो । एउटा पुस्तक तब सफल हुन्छ, जब पाठक त्यसभित्र हराउँछ । पढ्न सुरु गरेपछि छोड्न चाहन्न । म त्यस्तै पाठक (स्रोता) भएकी थिएँ ।

झन्डै बाह्र बजे धादिङ जिल्ला, निलकण्ठ नगरपालिकाको सोल्टी होटेलमा खाना खाइवरी झोला राखेर स्थानीय उत्थान नेपालको सहयोगमा निलकण्ठ माविका ८, ९ र १० कक्षाका विद्यार्थीहरुलाई मनोसामाजिक परामर्शका बारेमा अभिमुखीकरण गराउने कार्य भयो ।

पाँच बजे कार्यक्रम सकियो । म एक्लै गाउँ डुल्न निस्किएँ । धादिङको पानीपुरी चाख्न मन लाग्यो । खाएँ । चट्पट पनि खाएँ । प्राय म पुग्ने हरेक ठाँउमा मलाई गर्न मन लाग्ने कुरा भनेको पानीपुरी र चट्पट खाने हुन्छ । आजसम्म कुनै ठाँउ छैन होला, जहाँबाट म पानीपुरी नखाई फर्केको । पूर्व ताप्लेजुङ होस् वा पश्चिम सुर्खेतसम्मका पानीपुरी खान पाएको अनुभव छ । धादिङको पनि थपियो । निष्कर्षमा चितवनको नै सबैभन्दा मिठो भन्ने नतिजा जिब्रोले निकाल्यो ।

सानो तर रमाइलो लाग्यो निलकण्ठ बजार । दुइ घण्टा घुमेँ । यहाँका विद्यालय, अस्पताल, मन्दिर सबै सरर हेर्दै हिँडिरहेँ । निकै आकर्षक पनि थियो यो ठाँउ । नजिकै खोला । हरिया डाँडा । रुखै रुखले ढाकिएको । निकै रमणीय । शब्दले वर्णन गर्न अप्ठेरो ।

होटलमा पुग्दा लगभग सात बजिसकेको थियो । कोठा बाँटफाँट भैसकेको रहेछ । रुपरेखा मेडम र मेरो लागि एउटा कोठा परेछ । कोठा नम्बर ११२ । म त् झन् खुशी । एक्कासी आएको खुशीसँग पनि म अनविज्ञ । तर, आराम गर्न पाएँ भनेर हो या हल्ला गर्ने समुहबाट एक्लै बस्न पाएको खुशी, यकिन गरिनँ । तर, म रुपरेखा मेडमसँग बस्न पाएकोमा खुशी थिएँ । कमसेकम मेडमसँग बस्दा शान्तसँग त बस्न पाइन्छ । त्यहाँ हल्ला गर्ने कोहि त हुँदैन । हुन् पनि मेडम निकै भलादमी । माया गर्ने ।

जब कोठा खोलेरभित्र पसी बेडमा बसेर झ्याल बाहिर हेरेको त, ठाँउ चिनेचिने जस्तो लाग्यो । एकछिन सोचेँ । अनि पो बल्ल याद आयो । सायद यो त्यहि ठाँउ थियो, जहाँ ऊ प्राय आउने गथ्र्यो र मलाई फोनबाटै चार किल्ला मुचुल्का दिने गथ्र्यो । ऊ कुन गाउँमा गएको मलाई त्यो पनि थाह छैन । तर करिब करिब पृथ्वी राजमार्गबाट आधा घण्टा पश्चिम भन्थ्यो । सायद त्यतिबेला यो ठाँउ नगरपालिका भैसकेको थिएन । अर्कै नाम भनेको जस्तो लाग्थ्यो । अहिले बिर्सिएँ । उसले भन्थ्यो, ‘सानो बजार छ । बजारको पश्चिममा डाँडा छ र डाँडामाथि जंगल ।’ यो त्यस्तै ठाउँ थियो, जुन उसले मलाई प्राय भनिरहेको हुन्थ्यो ।

ऊ यहाँ आएको बेला प्राय आठ बजेतिर फोन गथ्र्यो । अहिले पनि त्यस्तै बजेको छ ।

‘यो डाँडामा आएर तिमीलाई फोन गर्नुको मजै बेग्लै छ’ भन्दै मायाका यस्तै–यस्तै लालीपप खुवाउँथ्यो । म त्यसै दङ्ग !

करिब दश बर्षअगाडिको कुरा हो । म बिएको परिक्षा सकेर घर गएकी थिएँ । त्यतिबेला ऊ एउटा विकासे संस्थामा काम गथ्र्यो र तीन महिनाको लागि धादिङ बसेको थियो । प्राय ऊ दुई–तीन दिनमा काठमाडौ आउने जाने गथ्र्योे । हाम्रो भेट पनि भैरहेकै थियो । एक पटक नौ दिनसम्म त्यहिँ बस्नुपर्ने भएछ । म पनि घर गएको समय परेछ । चार पाँच दिन त् राम्रै बोलिरहेको थियो । त्यसपछि हो जस्तो लाग्छ, उसले एक्कासी रुँदै फोन गरेको थियो ।

‘तिमी यहाँ आउन के’ भन्दै सानो बच्चाले जस्तो जिद्धी गर्दै थियो । उसको रुन्चे स्वरले मलाई निकै हतास बनाइरहेको थियो । डर पनि लागिरहेको थियो । ठुलै विपत पो लाग्यो कि भन्ने पनि भयो । मैले उसका कुरा चुपचाप सुनिरहेँ । फकाउन निकै कोशिस गरेँ । तर, पनि केहि लागेको थिएन । ऊ जति रिसाए पनि, दुखी भए पनि ‘तिमी मेरो सानो टाइगर हो नि’ भनेपछि मख्ख पथ्र्यो । त्यतिबेला मायका ती कुनै पनि अस्त्रहरु काम नलाग्ने भएका थिए । अन्तिममा ‘ल, म भोलि आउँछु, तिमी अब खाना खाएर सुत’ भनेपछि मात्र ऊ खुशी भएको थियो ।

उसको सहजपन महसुस गरेपछि मैले फोन काटिदिएँ । रातभरी निद्रा लागेन । कानमा उसको रुन्चे स्वर मात्र गुन्जियो । एक्कासी कतिबेला उसलाई भेटम् जस्तो भयो । एकाएक काठमाडौं जाने सोच बनाएँ ।

तर, समस्या ! घरमा के भनेर जानु ? परिक्षा सकेर घर आएको । रिजल्ट भएको थिएन । भनुँ त के भनु ? उसले बोलाको छ भन्दा फेरि अनेक कुरा हुन्छन् । आफै पनि स्पष्ट नभएको सम्बन्धको कुरा कसरी भन्नु ? मेरो कत्रो ठुलो धर्मसंकट ? रातभरी योजना बनाउँदा बनाउंदै बिहान भयो । बिहानै उठेर भनेँ, म त काठमाडौं जानुपर्ने भयो । हुन त म काम गर्दागर्दैको मिडिया एजेन्सीको काम यतिकै छोडेर आएकी थिएँ । कसरी छोडेको ? किन छोडेको ? केहि भनेकी थिइनँ । त्यसैले पनि कसैले केहि भनेन । मैले गर्छु, जान्छु भनेका कामहरुमा खासै रोकतोक त हुँदैनथ्यो तर पनि झुट बोल्न निकै गाह्रो लाग्थ्यो । धन्न ! त्यतिबेला मैले झुट बोल्नु परेन । खुशी लाग्यो ।

बुवा पोखरा बसपार्कसम्म गाडी चडाउन आउनुभयो । उसको मायाले जितेर होला, यति सजिलै म हिँड्न पाएँ जस्तो पनि लागेको थियो ।

गाडीमा चढ्दासम्म उसका दश ओटा मिसकल थिए । उसको एउटा मलाई मन नपर्ने बानी एकपटक फोन उठाएन भने सय पटकसम्म पनि छोटाछोटा कल गर्दै काट्दै गर्ने । धेरै पटक यो बारेमा, सम्झाउने हो कि गाली गर्ने हो्, सबै गरिसकेँ तर पनि ऊ नमान्ने । यो बानी परपीडक हो है भनेर पनि झगडा गरेकी छु । तर पनि उसलाई केहि लाग्ने होइन । धन्न ! दश मात्र रहेछ भनेर लामो लामो सास फेरेर कलब्याक गरेर भनेँ, ‘ल म त हिँडे है ।’

उसले भन्यो, ‘ए हो र ! ल ल धादिङबेसीमा झर है, म लिन आउँछु ।’

म अलमलमा परेँ । अनि हत्तपत्त भनिहालेँ, ‘होइन म काठमाडौं नै जान्छु बरु तिमी काठमाडौं नै आऊ ।’

शुरुमा त उसले निकै गनगन गर्यो । रिसायो पनि । म धादिङबेसी क्रस नगर्दासम्म कचकच गरिराख्यो । त्यसपछि रिसाउँदै–रिसाउँदै ‘ल ल जाउ म भोलि आउँला’ भनेर फोन राख्यो । बल्ल हल्का महसुस भयो । मैले ‘भोलि विदेश जाने मान्छेको सामान लिएर आएकी छु, आज बेलुकासम्म जसरी पनि लग्दिनुपर्छ’ भनेर बाहना बनाउनु परेको थियो । मलाई अझै पनि अचम्म लाग्छ, ‘आखिर ! म किन गाडीबाट उत्रिन सकिनँ ?’ उसका लागि भनेर आउँदा पनि उसैलाई विश्वास गर्न सकेको रहेनछु । सायद ममा मित्रताभन्दा माथि कुनै भावना थिएन होला जस्तो लाग्छ । तर, त्यतिबेला त्यस्तो लागेको थिएन नत्र किन दौडेर आउँथे होला र ? सायद उसले ‘आफै लिन आउँछु’ भनिसकेपछि ऊ कुनै खतराको अवस्थामा छैन भन्ने भएर पनि हुनसक्छ ।

म त घरबाट उसैका लागि भनेर निस्केकी थिएँ । तर, एक्कासी मन परिवर्तन भयो कि ? कहिलेकाहीँ दिमाग यति छिटो दौडिन्छ नि, आफैले भेट्न मुस्किल हुन्छ । दुईओटा कुरा थिए, जसले गर्दा म त्यहाँ नझरेर काठमाडौं जानुपरेको थियो । एक त, मलाई निकै डर लागेको थियो कि कतै दुर्घटनामा परेर पो हो कि यसरी रोएको, मलाई भन्न नसकेर होला भन्ने ठुलो डर थियो । जुन उसले म बाइक लिएर लिन आउँछु भन्नासाथ हटिसकेको थियो । अर्को थियो, म घरमा काठमाडौं जान्छु भनेर हिँडेको, भरे घरबाट फोन गर्दा धादिङ भन्नु कि काठमाडौं ? धादिङ भन्ने कुनै ठोस बाहना थिएन । काठमाडौं भन्ने हिम्मत थिएन । फेरि कसरी बस्नु ऊसँग ? त्यति गहिरो सम्बन्ध भैसकेको जस्तो लागेको थिएन । म यो सम्बन्धलाई अझ बुझ्न चाहन्थेँ । भावमा डुब्न चाहन्थेँ । फेरि सोचेँ, विचरालाई कति न्यास्रो लागेको होला ? एकछिन भेटेर खाना खाएर जाउँ कि जस्तो लाग्यो । अनि फेरि फोन गरेर ‘खाना खाने ठाउँमा आऊ न, सँगै खाना खाउँला अनि म अर्को गाडी चढेर जान्छु’ भनेँ । तर, उसले सिधै अस्विकार गर्दै ‘हुन्न, तिमी त्यहाँ झरेर बस त । म लिन आउँछु । बरु भोलि संगै जाउँला’ भन्न थाल्यो । त्यसपछि हो मैले उसलाई नभेटी जाने पुरा निर्णय गरेर बाहना बनाउनु परेको ।

त्यो कुरालाई उसले पछिपछिसम्म पनि ताना दिइराख्थ्यो । ‘तिम्रा बाआमा तिम्रा सबथोक, गुहु खा भने पनि खान्छु भन्छ्यौ होला’ भन्दै उडाउँथ्यो । ‘माया गर्नेको चोखो माया पनि देखियो’ भन्दै गीत पनि गाउँथ्यो । म चुप बसिदिन्थेँ । त्यतिबेला म कुनै पनि एङ्लबाट गलत छु जस्तो लागेको थिएन । अझै पनि लाग्दैन ।

आज त्यतिका दिनपछि त्यहि दिन आएजस्तो लागिरहेको छ । आज म साँच्चिकै उसले बोलाएको ठाउँमा आइपुगेकी छु । तर, ऊ छैन यहाँ । उसका तरंगहरु अझै पनि यत्रतत्र सल्बलाइरहेका छन् । म महसुस गरिरहेकी छु । उसलाई छोएर मेरा प्रतीक्षामा बसिरहेका हावाहरु पनि मुस्कुराइरहेका छन् ।

समय पनि कति बेइमानी हो कि मेरो नियति, जुन दिन दश बर्ष पहिले आउनु पथ्र्यो, आज आएको छ । यहि दिन त्यतिबेला आएको भए पक्कै म आज यहाँ हुने थिइनँ ।

अझै सम्झना ताजै छ । त्यो दिन उसले यहि होटेलमा बसेको जानकारी गराएको थियो । मन भरिएर आउँछ । आज म साँच्चिकै उसले बोलाएको ठाउँमै छु । सायद कोठा पनि यहि थियो होला । त्यतिबेला उसले कोठा नम्बर त भनेको थिएन । तर किन–किन यो कोठामा पस्नासाथ उसका यादरुले गल्र्याम्म अंगालो मारेजस्तो लागिरहेको छ । लाग्छ, वरिपरी उसले मेरा लागि जतन गरेर राखिदिएका मायाका तरंगहरुले मलाई सिञ्चित गराइरहेका छन् । शरिरमा बेग्लै खालको उर्जा उत्पन्न भएको छ । दिनभरिको यात्राको थकान कत्ति पनि छैन ।

कोठाको झ्यालबाट बाहिर हेर्दा देखिने डाँडा त्यहि थियो होला, जहाँ बसेर रुँदै उसले मलाई बोलाएको थोयो । भोलि बिहानै उठ्ने छु र जहाँ बसेर ऊ मलाई फोन गथ्र्यो, त्यहाँ गएर बस्नेछु । उसका धेरै आँशुका साक्षी बनेर बसेका ती ढुँगाहरुलाई सुम्सुम्याउनेछु र धन्यवाद पनि दिनेछु । अनि भन्नेछु, ‘मैले थाम्नुपर्ने काँध थामिदिएको र मैले पुछ्नुपर्ने आँशुलाई नदी बन्नुभन्दा पहिल्यै आफैभित्र सोसिदिएकोमा म ऋणी भएकी छु ।’

म त्यो ढुँगामा बस्ने छु, जहाँ गएर ऊ मलाई फोन गथ्र्यो । ती घाँसका मुन्टा सुम्सुम्याउनेछु, जसलाई उसले मसँग बोल्दै गर्दा निमोठेर फालेको थियो । ती बिरुवाहरुसँग माफी माग्न चाहन्छु, जहाँ ऊ उभिएर कुरा गथ्र्यो । त्यहि माटो एक मुठी हातमा समातेर सोध्न मन छ, ‘के साँच्चै तिमीले रुँदा झरेका आँशुका खाताहरु सम्हालेर राखेका छौ त ? के तिमी साँच्चिकै रोएको थियौ त ?’

सबै नाटकजस्तो लाग्छ । मेरो मात्र एकोहोरो सोचाइ थियो भन्ने त प्रमाणित भइसक्यो । अब के को लागि साक्षी खोज्नु ? एघार पनि बजेछ । भोलि फेरि काठमाडौं फर्किनु छ । आफैले आफैलाई शुभरात्री !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button