चिप्लेकीराको सहर यात्रा
बालकथा
सागर ‘मणि’ थापा
गाउँमा एउटा चिप्लेकीरा बस्ने गर्दथ्यो । एकदिन त्यसलाई सहरको यात्रा गर्न मन लागेछ । तर, उसको लागि सहर यात्रा गर्नु भनेको हात्तीलाई सरगरमाथा चढ्नुजत्तिकै असम्भव थियो ।
त्यो चिप्लेकीराले हरेस खाएन । ऊ एकजना मानिसको मोटरसाइकलमा बसेर सहर यात्रा गर्न थाल्यो । तर बाटोमा जाँदै गर्दा चिप्लेकीरालाई समस्या पर्न थाल्यो । ऊ त मोटरसाइकलको ‘साइलेन्सर पाइप‘ मा पो चपक्क टाँसिएको रहेछ ।
त्यो पाइप बेसरी तातेपछि चिप्लेकीरा आत्तियो, ‘आत्था..था…! कस्तरी पोल्यो । मरीगएँ नि म त । अब कसो गर्ने होला ?‘
चिप्लेकीरालाई एउटा उखान याद आयो, ‘जहाँ इच्छा, त्यहाँ उपाय ।‘ उसले त्यही उखानलाई व्यवहारमा उता-यो । ऊ तातो पाइपबाट बिस्तारै घस्रिँदै घस्रिँदै सुरक्षित ठाउँमा गएर बस्यो ।
केही समयपछि मोटरसाइकल रोकियो । चढ्ने मान्छे एउटा अफिसभित्र पस्यो । त्यही मौकामा चिप्लेकीरा पनि तल ओर्लियो । उसलाई भोक लागेको रहेछ । अतः ऊ एउटा घरको पानीको पाइपबाट माथितिर उक्लियो ।
त्यो चिप्लेकीरा भान्छामा पसेर पकाउन राखेको बन्दाकोबी खान थाल्यो । त्यस घरकी महिलाले तरकारी पकाउन लाग्दा चिप्लेकीरा देखेर आत्तिइन्, ‘आमा…आँ…!’
आमा चिच्याएकी सुनेर पल्लो कोठाबाट कुदेर आउँदै छोरीले सोधी, ‘के भो आमा ? किन…?‘
ऊ बोल्दै थिई, बन्दाकोबीको चिप्लेकीरा देखिहाली । तब त ऊ रमाउँदै बोली, ‘आहा ! चिप्लेकीरा ! आमा, आज यसकै मासु खाऊँ न ल ? हाड हुन्न, मीठो पनि होला ।‘
छोरीले त्यति कुरा के भनेकी थिई, आमालाई बान्ता आऊलाजस्तो भएर वाक् वाक् गर्न लागिन् । तब त छोरीले त्यो चिप्लेकीरालाई हातले टिपेर झ्यालबाट फुत्त फालिदिई । त्यो चिप्लेकीरा छिमेकीको घरको छानोमा गएर बजारियो ।
त्यो छानो कर्कट पाताको रहेछ । घामले बेसरी तातेको हुँदा चिप्लेकीरा चिच्चायो, ‘आत्था..था…आ…। पोल्यो पोल्यो पोल्यो ।‘
एउटा काग पल्लो घरको रूखमा बसिरहेको रहेछ । चिप्लेकीराको आवाज सुन्दासाथ उडेर आई त्यसलाई ट्वाक्क टिपेर लग्यो । अब चिप्लेकीरालाई कागले खाने भयो । तर बाठो चिप्लेकीराले हरेश खाएन र जुक्ति निकाल्यो । ऊ भन्दै थियो, ‘आहा ! आकासमा उड्न त कत्ति मज्जा आउँदो रहेछ ।’
तब कागले भन्यो, ‘ए तँलाई मज्जा आयो ? मेरो पेटमा परेपछि झन् मज्जा….।’ लौ जा ! कागको ठुँडबाट चिप्लेकीरा खसिहाल्यो । काग जिल्लियो ! तब त बेसरी हाँस्दै चिप्लेकीराले कागलाई गिज्यायो ।
कस्तो अचम्म ! त्यो चिप्लेकीरा त सर्कसमा राखिएको रोटेपिङमा पो पर्न गयो । अब ऊ त्यसैमा बसेर घुम्न थाल्यो । पहिले त मज्जा मान्दै रमायो । तर पछि त रिङ्गटा लाग्न थाल्यो ।
चिप्लेकीरा कराउन थाल्यो । तर रोटेपिङ रोकिएन । तब ऊ हामफाल्यो । चिप्लेकीराको सौभाग्य ! ऊ त एउटा रिक्सा चालकको काँधमा पर्न गयो ।
यो रिक्साले चालक दुईजना यात्रु चढाएर रिक्सा चलाउन थाल्यो । उसले आफ्नो काँधमा चिप्लेकीरा छ भनेर पत्तै पाएन । त्यो चिप्लेकीराको सहर यात्रा फेरि सुरू भयो । तर उसले आफू बसेको गाउँ जाने भुलिसकेको थियो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)