दिनेश विदेसिएपछि घरमा दशैँ राम्ररी नआएको वर्षौँ भइसकेको थियो

कथा

रजनी खड्का

शरद ऋतुको आगमन भैसकेको छ । खेतहरुमा लहलह झुलेका धानका बाला सुनौला हुँदै छन् । घर आँगन वरिपरि सयपत्री, मखमली र गोदावरी फुलहरु पmक्रने सघांरमा छन् । वर्षायामको झरी खेपेर बिस्तारै मुस्कुराउँदै गरेका बार्दलीका फूलहरु हेर्दै टोलाइरहेकी आशा सासूको बोलीले झस्याङ्ग हुन्छिन् ।

“आशा कता छस्, बाबुलाई कल गर त । दसैँमा कुन दिन आउँछ रे घर ?”

“हस् आमा” भन्दै आशा मोबाइल लिएर तल ओर्लिन् । अनि हतार हतार दिनेशको नम्बर लाउड स्पिकरमा राखेर दुई तीन पटक कल गरिन् तर कल उठेन । दिनेशको कल नउठेपछि आमा कुन्नी के के भन्दै भुट्भुटिँदै जानुभयो । आशा आमाको व्यवहार देखेर छक्क परिन् । तैपनि केही नबोली दसैँमा घर लिप्ने रातोमाटो लिन गाउँका अरु छिमेकी सँगै लागिन् । करिब दुई घण्टा हिडेर रातो माटो ल्याइन् ।

केही छिन आराम गर्न नपाउँदै घर धन्दामा नै व्यस्त हुनु परिहाल्यो । घरधन्दा घाँस दाउरा खेतबारी गर्दै फुर्सद नै पाउँदिनन् । माइती नगएको पनि वर्षौं भइसक्यो । कुनै चाडपर्व मा पनि जान पाइदैन । उनको ससुरा लामो समयदेखी दमको रोगी हुनुहुन्छ । हेरविचार गर्नै प¥यो । चाडपर्वमा नन्द आमाजू लाई स्वागत पनि गर्नै प¥यो । बि.ए पढ्दा पढ्दै पढाइलाइ निरन्तरता दिने सर्तमा बिहे गरेकी उनले न त आफ्नो पढाईलाइ निरन्तरता दिन सकिन् न त आफ्नो योग्यता अनुसारको जागिर नै पाउन सकिन् ।

बिहे भएको केही महिनामै उनका ससुरा थला परिहाले । काठमाडौँमै ल्याएर उपचार गर्नु पर्ने भयो । डेराको बसाई अनि दुबै जनाको सामान्य प्राइभेट जागिर । कार्यालय र ससुरा बुबाको सेवाको लागि समय व्यवस्थापन गर्नु र अन्य आयस्रोतको बाटो नभएकाले उपचार खर्चको सामना गर्नु निकै चुनौतीपूर्ण हुन पुग्यो । तैपनि आफ्नो खर्च सबै कटाएरै भएपनि पैसा जुटाएकै थिए । गाउँबाट सासूआमा कहिलेकाहीँ काठमाडौँ आउनुहुन्थ्यो ।

आउँदा आमाजू दिदीले एक बट्टा तोरीको तेल बुबाको लागि मालिस गर्नको लागि भनेर पठाउनु भएको रहेछ । सानो दुई कोठाभित्रको बसाईँ । कामबाट फर्किँदा थकित भएपनि खाना बनाउन हतारिँदै थिइन् । यत्तिकैमा उनको मोबाइल बज्यो । नन्दले गरेकी रहिछन् । आमासँग कुरा गर्न मोबाइल आमालाई दिईन् र फर्केर भान्छामै रुमल्लिन थालिन् ।

सासूले उताबाट बाको लागि दिदीले तेल ल्याइदिएकोले मालिस गर्न पाएको र दिउँसो कोही आफन्त भेट्न आउँदा एक डब्बा हर्लिक्स र फलफुल लिएर आएको कुरा दोहो¥याएर नै भन्नुभयो । मानौं निकै काम र सहयोग गरेझैँ । आशाले ससुराको थेरापी गर्न आफ्नो र श्रीमान्को कमाईले नपुगेर बिहेमा दिईएको औँठी समेत बेचेर उपचार गराएकी थिइन् । त्यसको त कहाँ कुरा आयो र ? तरपनि आशाले जस पाउनको लागि नभइ आफ्नो जिम्मेवारी निभाउन त्यसो गरेकी थिईन् । केही महिनाको थेरापी पछि बुबालाई अलि कम हुँदै थियो तर फेरी दमको व्यथा देखा प¥यो । अक्सिजन लगाउनै पर्ने भयो ।

आफनो कमाइले घर धान्नै मुस्किल भएपछि आशाले सासूससुरासँगै गाउँ जाने निर्णय गरिन् । दिनेशले चाँहि ऋण काढेर भए पनि विदेसिने निर्णय गरे । यो कुरा दिनेशको आमा बुबालाई पटक्कै मन परेको थिएन । मन नपरेपनि के गर्नु ? काम गरेर आधारभुत आवश्यकता पुरा गर्न जरुरी थियो । ऋण लिएर चलाउने ठाउँपनि कहीँ बाँकी थिएन ।

विदेशमा केही वर्ष दुःख गरेर सबै ऋण तिरिसकेपछि नेपाल फर्कने अनि परिवारसँग रमाउने मिठो सपना सजाउँदै भारी मन लिएर विदेशतिर होमिए । गएको केही महिना काम पनि भने जस्तो पाएनन् । एकातिर कामको चिन्ता अर्कातिर भर्खर विहे गरेकी श्रीमती र बिरामी बुबा र आमा छाडेर परदेसिनु ठुलो पीडा थियो दिनेशलाई । आशालाई पनि काठमाडौँबाट गाउँमा गएर जीवन किताउनु कम्ती चुनौती थिएन ।

सुरु सुरुमा त उनलाई त्यहाँको परिवेशमा घुलमिल हुन निकै कठिन भयो । तर बिस्तारै बानी पारिन् । डेरामै भएपनि जागिर गरेर काठमाडौँमा जीवन बिताएकी आशालाई एक्कासी गाउँमा गएर बसोबास गर्नुपर्दा कायापलट नै मारे जस्तै भएको थियो । जिन्दगीमा कर्तव्य र जिम्मेवारीले थिचेर केही सीप नचलेपछि उनी गाउँ नै फर्किन विवश थिइन् ।

गाउँमा चारैतिर घर लिपपोत गरी धान भिजाउने चिउरा चामल , मरमसला, खसी , बोकाको जोहो गरिसकेका थिए । विदेसिएका र सहर पसेकाहरु परिवार च्यापेर सबै गाउँ फर्कने चहलपहल देखिन्थ्यो । गाउँमा युवायुवतीहरु मिलेर पिङ हाल्ने तयारी भैरहेको थियो । दिनेश विदेसिएपछि उनको घरमा दसैँ राम्ररी नआएको वर्षौँ भइसकेको थियो । यसपाली चाहिँ छुट्टी मिलाएर टीकाको अघिल्लो दिनसम्म भएपनि घर आउने अनि परिवारसँगै दसैँ मनाउने झिनो आश देखाएका थिए दिनेशले । आशा पनि कल्पनामै डुबेकी थिइन् ।

गाउँघरमा दसैँले छपक्कै छोपेको छ । दिनेशको दसैँमा घर आउन मिल्ने खबरले दसैँको रौनकता सँगै ल्याएको अनुभूति भइरहेको छ आशालाई । दिनभरी पूरै घर लिपपोत गरि घरभरीको लुगा धुवाइले थाकेर भुसुक्क निदाएकी आशाको निद्रा दिनेशको फोनको घण्टीसँगै खुल्छ । दिनेश घर आउने मिठो कल्पना मनमा गुन्दै आशा फोन उठाउँछिन् ।

फोनमा कुरा गर्दा दिनेश निराश हुँदै काममा छुट्टि नमिलेको र यसपाली पनि दसैँमा घरमा हुन नसकेको खेद प्रकट गर्दै उनीसँग रुन्छन् पनि । सँगसँगै दसैँ मनाउने र भविष्यको लागि सन्तानको योजना गर्ने सपना चकनाचुर भएकोमा दुबै श्रीमान् श्रीमती भक्कानिन्छन् । केही बेरको रोदन पश्चात दुवैमा मौनता छाउँछ । लामो सुस्केरा हाल्दै आशाले मौनता चिर्छिन् ।

“किन हजुरले यति लामो समयसँग फोन नगर्नुभएको ? हजुरलाई घरको याद आएन ? कि बिर्सिनुभयो घरपरिवार ?” आशाले एकैपटक धेरै प्रश्नहरु तेर्साइन् ।

Ad

दिनेशले मलिन आवाजमा भने, “मलाई पनि तिमीलाई भेट्ने आमा बुबासँगै आएर दसैँ मनाउने मन नभएको हैन । अर्काको ठाउँमा आएपछि सबै आफूले सोचेको जस्तो कहाँ हुँदोरहेछ र ? अरुले जे आदेश दियो त्यहि मान्नुपर्छ । परदेशीलाई न दसैँ न तिहार । सधैँ एकनास हुन्छ । बरु तिमी पो मेरो कारणले नेपालमै भएर पनि चाडपर्वलाई चाडपर्वजसरी मान्न पाएकी छैनौ । माइती जान नपाएको पनि वषौँ भइसक्यो । के गर्नु यसपाली आएर सन्तानको आमाबाबु बन्ने ठुलो धोको थियो तर पुरा नहुने भयो ।”

आशाले मनमा गाँठो पारेर दिनेशलाई सम्झाईन्, “ठिकै छ नि, मेरो खुशी हो हजुर आफ्नो ख्याल राख्नुहोस् यता घरको लागि ढुक्क हुनुहोस् । म हजुरको कमी कुनै हालतमा हुन दिनेछैन ।” यस्ती श्रीमती पाएकोमा दिनेश भगवान्लाई बारम्बार धन्यवाद दिइरहन्छन् । उनले आशाले आफ्नो घरपरिवारको लागि गरेको त्यागको मूल्य राम्ररी बुझेका थिए ।

दिनेश घर नआउने कुराले आशाको मन भित्रभित्रै कुँडिएको थियो । आशा खल्लो मन लिएर घरको नित्यकर्ममा लाग्छिन् । मनमा हजारौं पीडा भएपनि बाहिर भने हँसिलो भएर हिँड्थिन् । दिनेश घर नआउने कुरा आशाले सासूससुरालाई सुनाउन सकिनन् बिरामी बुबालाई असर परिहाल्छ कि भनेर । दिनेशले आमा बुबासँग कुरा गर्दा मिलेसम्म छिटै आउने कुरा मात्र भनेका थिए ।

धमिलो मन लिई खेतबारीमा काम गरेर आशा भर्खरै घरभित्र छिर्दा आमा बुबा पिँढीमा बसेर कुरा गर्दै हुनुहुन्थ्यो । आशाले भित्र छिर्न पाइला अघि बढाउँदै के थिइन्, बुबाले प्रश्न सोध्नुभयो । “बुहारी, छोरो यसपाली पनि दसैँमा घर आउँदैन रे ?”

सानो स्वरमा आशाले भनिन्, “खै बुबा ! उहाँको छुट्टी मिलेन रे अहिले । मिल्ने बितिकै आउने कुरा गर्नुभएको छ ।” यति भन्दै आशा खाना खान भित्र पसिन् । आमाले पनि थपिहाल्नुभयो, “माथ्लाघरे कान्छाका छोरा पनि त विदेश नै थियो । दसैँमा बुहारीले सबै किनमेल गरेर घर आए । कति रमाइलो अरुका घर । छोराछोरी नातिनातिनाले घर भरिएका छन् । आफ्नो भने न नातिनातिना न त छोरो । भएको त्यही एउटा छोरो पनि घर नआउने रे अब मैले टिका पनि कसलाई लगाइदिनु ? यो बुहारी भित्रिए देखी हाम्रो घरमा कहिल्यै दसैँ आएन ।”

यति भन्दै उनी रुन थालिन् । आशा पनि खानै छाडेर बाहिर आइन् र आमालाई सम्झाइन् आमाले सम्झिन त परै जाओस् उल्टै आशालाई गाली गर्न थालिन्, “तैँले एउटा लोग्नेलाई पनि रिझाउन सकिनस् हैन ? आफ्नो लोग्नेलाइ खुशी दिन सकेकी भए त टाउकाले टेकेर पनि त घर आइहाल्थ्यो नि । यत्रो वर्ष घर नआइकन बस्न सक्थ्यो ? विहे गरेको तीन वर्ष सँगै बस्दा पनि सन्तान भएन । हाम्रो सानो परिवारको सबै खुशी लुटिस् हैन । अझै कति लुट्नु छ लुट् ।”

यी सब सुनेर आशा छाँगाबाट खसेजस्तै भइन् । आमा रोकिनुभयो तर आशाको ओठमुख सुकेर प्याकप्याकती भए । उनले केही उच्चारण गर्नै सकिनन् । यत्रो वर्ष माइती समेत नगइ आफुले खाँदै गरेको जागिर छाडेर गाउँ आएकी थिईन् उनी । आफ्नो परिवारको लागि गरेको त्यागको अवमूल्यन हँुँदा उनी सारै दुःखी भइन । बुबाको उपचार उनीहरुको कमाइले धान्न गाह्रो थियो । सबैतिरको चटारोले सन्तान जन्माउने योजना गर्न पनि भ्याएका थिएनन् दम्पतिले ।

कुनै दिन त परिवारप्रतिको उनको समर्पणको उचित मुल्याकंन पक्कै हुनेछ भन्ने उनको आश क्षणभरमै बिलाएको थियो । सासूले त्यसरी जथाभावी भनिरहँदा ती बिरामी ससूरा जसका बिमारीको कारण उनीहरुका सबै खुसी खोेसिएको थियो, श्रीमान्श्रीमतीको सँगसँगै बस्ने अधिकार खोसिएको थियो र सन्तानका आमाबाबु बन्ने सपना खोसिएको थियो उनी चाँहि मूक दर्शक बनेका थिए ।

सासूले अनावश्यक रुपमै लाञ्छना लगाइरहँदा पनि उनको मनमा एउटा झिनो आशा भने बाँकी थियो कि कमसेकम उनका ससुराले उनलाई बुझ्नेछन् । सोचेजस्तो त किन हुन्थ्यो र ? सासूले बोलेका वाक्यहरुको समर्थन ससूराबाट नहोस् भन्ने उनको चाहना पूरा हुन सकेन । आफ्नी स्वास्नीका अगाडि चुँक्क बोल्न नसक्ने उनका ससूराले त्यो दिन पनि केहि बोल्नै सकेनन् । उल्टै मौन स्वीकृति पो दिए । उहाँको प्रसय पाएर सासूको मनोबल एकदम बढेको थियो ।

जीवनमै कल्पना नगरेको घटना उनकै अगाडि भखैर घटेको थियो । आफूलाई सम्हाल्नै हम्मे हम्मे पर्ने गरि आघात परेको थियो । मनभरि असन्तोषका लहरहरु दौडदा पनि सामान्य व्यवहार गर्नै पर्ने बाध्यता आईपरेको थियो । उनी सोच्छिन्, “के सबै नारीहरुले विवाहपछि यस्तै भोग्छन् होला त कि उनीमात्र यो ब्रम्हाण्डकै दुःखी पात्र हुन् ?”

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button